. महेश तिमल्सिना
निकै सहज र सरल भाषामा लेखिएको पुस्तकमा लेखक र पाठक देशका सुन्दर गन्तब्यहरुको भ्रमण गर्दाका पलहरु निकै सुन्दर र मिठा छन् । आफू स्वयंम पोखरा, राराताल, दार्जिलिङ, पाँचपोखरी पुगेको अनुभूति हुनु पुस्तकको सफलता मान्नुपर्छ ।
प्रेम सम्बन्ध किन असफल हुन्छ, मानिस किन डिप्रेशनमा पर्छ, असफलताको कारण के हो र यसलाई कसरी जित्ने, सफलता प्राप्तिको मार्ग के हो, युवाहरुको जीवनशैली कस्तो हुनुपर्ने हो र कस्तो भइरहेको छ, प्रेममा यौनभन्दा भावना ठूलो कसरी हुन्छ, पैसाको महत्व र प्रयोग आदिबारे पुस्तकमा लेखकले पात्रमार्फत हामीलाई ठूलो पाठ सिकाएका छन् । जसले गर्दा युवा पुस्ताको जीवनको गोरेटो नै परिवर्तन हुने सम्भावना देखिएको छ ।
निकै सहज र सरल भाषामा लेखिएको पुस्तकमा लेखक र पाठक देशका सुन्दर गन्तब्यहरुको भ्रमण गर्दाका पलहरु निकै सुन्दर र मिठा छन् । आफू स्वयंम पोखरा, राराताल, दार्जिलिङ, पाँचपोखरी पुगेको अनुभूति हुनु पुस्तकको सफलता मान्नुपर्छ । पात्रहरुको संवाद र सस्पेन्स कथाले पुस्तक पढ्न आनन्द आउँछ । लेखकले एउटा अन्तर्वार्तामा भनेझै पाठकले पुस्तक पढ्दा प्राप्त गर्ने सन्तुष्टिले उसको ३५० रुपैयाँ खेर जाँदैन ।
लेखकले केही स्थानमा मितिहरु लेखेर कथा आजभन्दा २० वर्षपछिको हो भन्ने जनाऊँ दिएका छन् । यहाँनिर भने मेरो विमति छ । के २० वर्षपछि पनि समाज र परिवेश उनले पुस्तकमा भनेझै हुन्छ त ? उनले रेलको कुरा गरेर आधुनिक नेपाल देखाउन त खोजेका छन् तर, २० वर्षपछिको नेपालको झल्को भने आएको अनुभव मलाई भएन । यो कमजोरीबाहेक पुस्तकमा खोट लगाउने ठाउँ अरु मैले भेटिन ।
मुख्य विशेषता प्रेम सम्बन्ध
मायावी र अविरल प्रेम सम्बन्धमा हारेका पात्र हुन् । अविरल लेखक हुन्छन् भने मायावी पाठक । अविरलकै पुस्तक झोलामा राखेर हिँडिरहेकी मायावीको भेट एक्कासी लेखकसँग भएपछि कथाले नयाँ मोड लिन्छ । त्यसपछि अविरलले आफूलाई बलात्कार गरेको भ्रम पालेकी मायावी हाई प्रोफाइलका छोराको बलात्कारकै घटनाले अविरलसँग नजिक हुन पुग्छन् । त्यसपछि बल्ल कथाले गति लिन्छ ।
कथा यसरी अघि बढ्छ कि सबै पढिनसक्दै छाड्नै मन लाग्दैन । अब के होला भन्ने प्रश्न पटक–पटक आउनुले नै पुस्तकलाई अन्त्यसम्म छाड्न मन नलाग्ने बनाएको छ । मायावी पात्र बिजनेशम्यान हुन्छे । यहाँनिर लेखकले आम युवालाई विजनेशमा युवाहरुलाई प्रोत्साहन गर्दै नेतृत्वदायी भूमिका कसरी निर्वाह गर्न सकिन्छ भनेर सिकाउन खोजेको आभास हुन्छ । किनकि उनले स्टाफहरुसँगको सम्बन्धदेखि बिजनेशलाई अघि बढाउन गरिएका प्रयत्नहरु मज्जाले देखाएका छन् ।
आकाशमा चम्किएका तारामा देखिएको आमा र बुबाको आकृतिले मन भक्कानिन्छ । यसरी लेखकले पाठकलाई धेरै स्थानमा भावुक बनाएका छन् । पशुपतिमा अविरलले लजतालाई कुरिरहेको अवस्थामा उसको मृत शरीर आँखा अगाडि पर्दा किताबकै पानामा मेरा आँसु चुहिएका थिए । यसरी अन्य कतिपय स्थानमा पनि आँसु खस्छ ।
कथाको सबैभन्दा सुन्दर पक्ष भनेको घटनाक्रम र सामाजिक परिवेश परवर्तन हुँदै गए तापनि पात्रहरुबीचको प्रेम गुमनाम भएको छैन । नभनेरै पनि कति मिठो हुँदोरहेछ प्रेम, यौन सम्बन्धबिना पनि कति दिगो यथार्थ हुँदोरहेछ प्रेम भन्ने कुरा पुस्तकमा पाइन्छ । साथै, यौन सम्बन्धको प्रेम र यौन सम्बन्धबिनाको प्रेमलाई प्रस्तुत गर्न लेखकले चलाखीपूर्ण मायावीको विगतलाई कोट्याइदिएका छन् ।
‘लाग्दैछ, उजाड मौसममा नाङ्गिएका रुखहरु जस्तै म पनि नाङ्गिएको छु । रुखहरुले पात गुमाएजस्तै मैले पनि मेरो हरियाली गुमाएको छु । पातहरु त मौसम फेरिनासाथ पलाउलान्, रूखहरुमा त फेरि हरियाली छाउला । तर, मेरो जीवनमा बुबा कहिल्यै फकिएर आउनुहुने छैन ।’
योभन्दा पनि रोचक त पुस्तकको नामसँग जोडिएको सन्दर्भमा छ । पाठकले कुनै क्लू नै नपाई पुस्तकको नाम ब्लु डायरी किन राखिएको रहेछ भन्ने आभास गर्छ पाउनु कम रोमाञ्चक छैन । मायावी अविरलको गोप्य कोठामा पस्दाको दृश्यले फिल्ममा मध्यान्तर हुँदापछिको जस्तो कुतुहल जगाउँछ । उसको जन्मदिनमा आएको उसको जीवनकै सुन्दर उपहार अविरलले आफैं कोरेको चित्र हो भन्ने कुरा मायावीले धेरै पछि थाहा पाउँछे ।
ब्लु डायरी खासमा एउटा डायरीभित्रको कथा हो । जब मायावीले डायरी खोल्छिन् तब उनले त्यहाँ रहस्यको पोको भेट्छिन् । त्यो रहस्य जान्नका लागि तपाईंहरुले पनि पुस्तक पढ्नुहोला । फेरि पनि यति सुन्दर पुस्तकका लागि लेखकलाई धन्यवाद ।
ब्लु डायरीबाट एक अंश
‘लाग्दैछ, उजाड मौसममा नाङ्गिएका रुखहरु जस्तै म पनि नाङ्गिएको छु । रुखहरुले पात गुमाएजस्तै मैले पनि मेरो हरियाली गुमाएको छु ।
पातहरु त मौसम फेरिनासाथ पलाउलान्, रूखहरुमा त फेरि हरियाली छाउला । तर, मेरो जीवनमा बुबा कहिल्यै फकिएर आउनुहुने छैन ।’