एकादेशमा एक जना हजुरआमा हुनुहुन्थ्यो । हजुरआमाको नाउँ चिनामा के थियो, नागरिकतामा के थियो, यो धेरै कमलाई मात्र थाहा होला, तर हजुरआमाको वास्तविक नाउँ गज्जबको छ ।
‘सञ्चो छैन हजुरआमा ।’ हो, नाउँ नै ‘सञ्चो छैन हजुरआमा ।’
छैन त गज्जब ?
हजुरआमालाई राम्रो मान्नेहरूले ‘सञ्चो छैन हजुरआमा’ भनेर चिन्थे भने कुरा काट्नेहरूले ‘सञ्चो छैन बूढी’ भन्थे । अब भनिरहनु नपर्ला कि हजुरआमाको नाउँ ‘सञ्चो छैन’ कसरी रहन पुग्यो ।
तापनि भन्दिउँ । हजुरआमा गाउँठाउँमा हिँडिरहनुहुन्थ्यो । सबैले आदर गर्थे, मान्थे अनि औपचारिकतास्वरूप सोधिदिन्थे, ‘हजुरआमा के छ खबर ?’
हजुरआमा थोते दाँत देखाउँदै, कम्मरमा हात लैजाँदै जबरसस्ती ‘खुइय’ गर्दै ठूलै रोग लागेझैँ गरी भन्नुहुन्थ्यो, ‘सञ्चो छैन
बा !’ हजुरआमालाई कहिल्यै सञ्चो हुँदैनथ्यो । हजुरआमालाई मज्जाले सञ्चो भएका बेलामा पनि सञ्चो हुँदैनथ्यो, यस्तो मान्यता अरूको होइन, हजुरआमा आफ्नै थियो । वल्लो गाउँ, पल्लो गाउँ लठ्ठी नै टेकेर भए पनि ठमठम हिँड्दै अरूका खबर पनि बुझ्दै सामथ्र्य हुँदाहुँदै पनि भन्नुहुन्थ्यो, ‘सञ्चो छैन बा !’
हजुरआमा अहिले ठ्याक्कै एकानब्बे वर्ष पुग्नुभो । करीब पैँसट्ठी वर्षको उमेरदेखि भन्नुहुन्थ्यो, ‘अब धेरै बाँच्दिनँ म !’
हजुरआमाको छब्बीस वर्ष कालखण्ड ‘अब धेरै बाँच्दिनँ’ भन्ने मानसिकतामा बित्यो ।
परिवारमा हजुरआमाका एक छोरा, एक बुहारी, एक नाति र नातिनी बुहारी अनि दुई पनातिहरू छन् । घरमा हुँदा विशेष छोराबुहारी अथवा नातिलाई देख्दा ‘ऐय्या, मरेँ’ भन्ने पुरानो बानी थियो । पहिले–पहिले सबै जना हजुरआमालाई खुब ध्यानदिन्थे । एउटा स्यानो ‘ऐय्या’मा सबैजसो हजुरआमाको नजिकै पुगिहाल्थे ।
हजुरआमालाई लाग्यो, यो ‘ऐय्या’शब्द रामवाण रै’छ । छोरा–बुहारी, नाति–नातिनी नजिक बोलाउने मन्त्र । हजुरआमालाई लाग्थ्यो, उहाँका सबै परिवार जुनसुकै बेला पनि नजिक आऊन् । त्यसैले त सुरु–सुरुमा बिहा गरेर निकै टाढा गैसकेका छोरी–ज्वाइँसमेत एक ‘ऐय्या’मा आइहाल्थे ।
पछिपछि जसै ‘ऐय्या’का परिमाणहरू बढ्दै गए, हजुरआमाका छेउछाउ पर्नेहरूको संख्या पनि घट्दै जान थाल्यो ।
पचासीसम्म एक–दुई जना फाट्ट–फुट्ट आउँथे । उनानब्बेसम्म एक जना चैँ परेकै हुन्थे । तर नब्बे कटेपछि उहाँको ‘ऐय्या’ आफ्नै वरिपरिको सन्नाटाहरूका लागि मात्र सुनिन्थ्यो । अन्तत: के भो भने एक दिन हजुरआमा चर्पीमा लडेरै बितिन् ।
त्यो अन्तिम ‘ऐय्या’ थियो ।
र, त्यो ऐय्यामा पनि छोरो अखबार पढेर बसिरहेको थियो । बुहारी भान्सामा साग ओइरिँदै थिई । नाति अफिस गएको थियो । नातिनी बुहारी पनातिलाई हपार्दै थिई । सप्पैले सुनेका थिए त्यो ‘ऐय्या ।’ तर पनि कसैले सुनेनन् । उनीहरूको ‘सन्चो छैन’ को अर्थ, ‘छोरा–नातिको समय पाइरहेको छैन,’ भन्ने हो । बूढाबूढीका टोनिक, भिटामिन, खुराक धेरै हदसम्म उनीहरूका परिवार नै हुन् । घरी–घरी उनीहरूको चाउरी परेको छालामा छोएर ‘कस्तो छ ?’ भन्दा पनि उनीहरूलाई धेरै सञ्चो हुन्छ । उनीहरूका जमानाका कुरा सुनिदिँदा पनि उनीहरूको अनुहारमा चमक आउँछ । त्यसै पनि बुढ््यौली हरेक जवान मान्छेको भविष्य हो । आफ्नो भविष्यबाट पन्छिन कोही कसरी सक्छ र ?
सप्ताहिकबाट साभार