सुनकोसी र तामाकोसीको सङ्गममा बिहान भयो । सुनकोसी उत्तरबाट प्रशस्त वेगसँग बगेर आउँथ्यो । पूर्वतिरबाट तामाकोसी धागाजस्तो पातलो धारा लिएर आउँथ्यो र सुनकोसीमा मिसिन्थ्यो । सुनकोसीलाई तर्न सक्ने कोही-कोही मात्र होलान् तर तामाकोसीलाई दह्रो तिघ्रा भएको जसले पनि तर्न सक्थ्यो । यी दुवै नदीको किनारमा दुवैतिर हरियोपरियो केही उम्रेको थिएन । यिनको सम्मानार्थ रूखपातहरू ठाडै उभिएका जस्ता थिए ।
सूर्यको प्रथम किरण पर्नासाथ पृथ्वीका पाप्रा उप्केजस्तो गरेर नदीका किनारमा घुम्लुङ्ग परेर सुतेका चार-पाँच जना उठे । सबैको मनमा उठ्नासाथ प्रश्न उठ्यो- पेट कसरी भर्ने ?एउटाले अर्काको मनोभाव बुझेजस्तो गरेर सबै मुखामुख गर्न लागे । विधवाको दृष्टि गोरेमाथि थियो । विधवाले सबैलाई सम्बोधन गरेर भनिन्, “होइन, तिमीहरू घरबाट हिँड्दा पेट भर्न के उपाय गरेर हिँडेका थियौ ? के खाउँला भनी ठानेका थियौ ?”
सबै जना विधवाको कुराले विस्मित भए । भोटेले भन्यो, “मेरो त घरै छैन ।”
बूढोले भन्यो, “मेरो त थियो तर अब म पनि घरबार नभएको छु । तर नानी, तिम्रो भए किन यहाँ आएकी त ?”
सबैको आँखामा अकस्मात् तेज आयो र सबैको हृदयमा विधवाप्रति महान् आदरको भाव उत्पन्न भयो । गोरेलाई आफ्नो भागबाट चिउरा थपिदिँदै भनिन्, “तिमी जवान छौ । तिमीलाई अरूभन्दा बढ्ता भोक लाग्दो हो ।”
फेरि सबैलाई सम्बोधन गरेर भनिन्, “मधेसतिर हिँडेकी, पोइ छैनन् । सासूससुरा फुटेको आँखाले हेर्दैनन् । देवर रुखो, माया गर्थ्यो तर पोइ नभएको घरमा टिक्न सकिनँ ।”
यो वाक्यले ती चारै जनाको हृदयमा खुब प्रभाव पार्यो । खान पाउने ठाउँ पोइ छैन भन्दैमा लत्याएर हिँड्नु तरतरो काम होइन । तिनीहरू ती विधवालाई झन् मान गर्न थाले ।
भोटेले बडो आश्चर्य मानी सोध्यो, “तपाईँलाई हाम्रो किन माया लाग्यो ? हामी तपाईँको पोइ होइनौँ, छोरा होइनौँ, बाबु होइनौँ ।”उनले सोधिन्, “तिमीहरू कहाँ हिँडेका नि ? तिमीहरूले त राति पनि केही खाएको देखिनँ, त्यसै सुत्यौ । मेरो पनि कोही साथी नभएकाले तिमीहरूनेर आएर सुतेँ । रातभरि तिमीहरूको माया लागिरहृयो ।”
विधवाले भनिन्, “तिमीहरू मान्छे त हौ ।”
हिजो दिनभरि नखाएको पेटमा चिउराका कणहरू पर्दा सबै फुर्तिला भएर उत्साहसँग कराई कुरा गर्न थाले । बूढोले भन्यो- “नानी, हामीहरू चार जनाको केही नाता छैन । कसैको घर छैन । यता काम पाइन छाड्यो । कतै काम पाइन्छ कि भनेर हिँडेको । अहिले तिम्रा कुराले मधेस जानुपर्नेजस्तो लाग्यो । के भन्छौ साथी हो, मधेस झर्ने ? मधेसमा पेटभरि खान पाइन्छ । म एकचोटि भारी बोकेर मधेस गएको थिएँ ।
उत्तिनखेर सबैले मधेस लाग्ने निश्चय गरे र पाँचै जना, चार लोग्ने मानिस एक स्वास्नी मानिस दक्षिणको बाटो लागे । बूढो आफ्ना बितेका जीवनका घटनाहरूलाई भन्थ्यो- “उसले एकचोटि निकै पैसा कमायो, सत्र रोपनी खेती गर्थ्यो । पछि त्यसै बिग्री-बिग्री आयो । त्यस बेला त्यो जवान थियो, निधारमा नाम्लो हाली भरियाको काम गरी पेट भर्न सक्थ्यो । अब त त्यो पनि सामर्थ्य छैन । नत्र यो बूढो यसै भोकभोकै हल्लिरहन्थ्यो र ? अब मर्ने बखत पनि भयो । पेटको ज्वाला खप्न नसकेर मात्र यताउति हिँड्नुपरेको ।”
विधवाले भनिन्- “मेरो त मधेसमा गएर राम्ररी घरबार गरेर बस्ने इच्छा छ । सानो खेतीबारी गर्यो । वहाँ खेती गर्न सजिलो छ रे । जग्गा पनि त्यसै पाइन्छ रे । यहाँ त सासूससुराका कचकचले अड्नै सकिएन । फेरि पोइ मरेका ठाउँमा त्यसै उच्चाट लागेर आउने ।”
भोटे र धने यिनीहरूको कुरा चाख मानेर सुनिरहेका थिए तर आफू केही बोल्दैनथे । गोरे थाकेजस्तो भएको थियो । त्यो सबभन्दा पछि गोडा घसारी हिँडिरहेको थियो । विधवा गोरेका निम्ति पर्खिन् । उनी थामिएपछि सबै थामिए । गोरे नजिकै आएपछि विधवाले भनिन्- “के थाक्यौ, गोरे ? घाम पनि अग्घोर छ । तिम्रो टाउको तात्यो होला । लौ लेऊ, यो कपडा टाउकामा राख ।”
उनले आफ्नो टाउकामा राखेको सेतो लुगा झिकेर गोरेको टाउकामा राखिदिइन् ।
फेरि सबै जना हिँड्न थाले । त्यो बूढो भन्नु मात्र थियो, त्यो सबभन्दा अघिअघि लमकलमक गरेर हिँड्थ्यो । भोटे र धने त्यसको दुवैतर्फ त्यसका कुरा सुनी-सुनी हिँडिरहेका थिए । आफ्नो पछिल्लो जीवनको घटनालाई त्यसरी रुचाएर तिनीहरूले सुनेको देख्ता बूढो झन् सुरिएर भएनभएको कुरा गर्न थाल्यो । भोटे र धने पक्क परेर सुनिरहेका थिए । भित्र-भित्र तिनीहरू बूढाको आदर गर्थे ।
विधवा र गोरे पछि-पछि बिस्तारबिस्तार आइरहेका थिए । गोरेको उमेर पच्चीस वर्षको हुँदो हो, विधवाको तीस । गोरे धेरै नबोल्ने र लाज मान्ने स्वभावको थियो । त्यसको खपटे गाला धेरै दिनको परिश्रमले झन् तल भासिएको थियो, आँखा ज्योतिहीन थिए । विधवाले सोधिन्- “तिमी मधेस गएर के गर्छौ ?”
गोरेले भन्यो- “कुन्नि ।”
विधवाले भनिन्- “के तिमी घरबार गर्दैनौ ? खेतीबारी गरी बस्न मन छैन ?”
गोरेले भन्यो- “पैसा खोइ नि ?”
विधवाले भनिन्- “मधेसमा खेती गर्न त्यसै पाइन्छ । वहाँ खेतसितै पाइन्छ । तिम्रो उमेर के भयो होला र ? घरबार गर । स्वास्नी पाल, छोराछोरी पाल । यस्तो उरन्ठ्यौलो भएर कति दिन बिताउँछौ ?”
विधवाले फेरि एक्कासि प्रश्न गरिन्- “तिमीलाई स्वास्नीमानिस मन पर्दैनन् ?”
गोरेले टाउको उठाएर विधवातिर तीव्र दृष्टिले हेर्यो र भन्यो- “किन मन पर्दैनन् !”
विधवाले भन्न थालिन्- “म मधेस गएर खेतीबारी गर्छु । घरबार गर्छु तर स्वास्नीमान्छेले मात्र घर बनाउन सक्तैनन्, लोग्नेमानिस पनि चाहिन्छ । मेरो मनमा त्यसै यो विचार आयो- किन हामी दुई जना मिलेर घर नचलाऔँ ?”
गोरेले विस्मयको दृष्टिले विधवालाई हेर्यो । विधवाले अलिक अप्रतिभ भएर भनिन्- “के म तिम्रो लायक छैन र ? मेरो उमेर धेरै भएर के भयो त ? मैले आफ्नो शरीर जोगाएर राखेकी छु । मेरो लोग्ने मरेदेखि मलाई कसैले छुन पाएको छैन । मेरो सन्तान पनि कोही भएन, त्यसो हुनाले शरीर बिग्रन पाएन ।”
गोरेले चकित भै विधवालाई हेरिरहृयो । विधवाले भनिन्- “गोरे, मेरो धेरै दिनदेखि आफ्नो घर बनाएर बस्ने इच्छा छ । पोइ चाँडै मरिदिए । आफ्नो इच्छा मुटुमै सुकेर जालाजस्तो भयो । म के छोराछोरी पाउन सक्तिनँ र ? खोइ मेरा छोराछोरी ? खोइ मेरो आफ्नो घर । खोइ मेरो आफ्नो मान्छे ?”
विधवाको मुख अकस्मात् रुन्चेजस्तो भयो । उनको मुख रातो भयो । मुन्टो तल गाडेर नबोली हिँड्न थालिन् । धेरै बेरसम्म उनीहरू नबोली हिँडिरहे । साँझ पर्ने बखत हुन थाल्यो । विधवाले निःस्तब्धतालाई भङ्ग गरेर भनिन्- “गोरे, मसँग अलिक गहना पनि छ, रुपैयाँ पनि छ, त्यसैले गएर खेती किनौँला, घरबार बनाउँला, तिमी मेरो भयौ भने यो सब तिम्रो हुन्छ ।”
अलिक पर बूढो भोटे र धने एउटा ठूलो ढुङ्गामा बसेर तिनीहरूलाई पर्खिरहेका थिए । उनीहरूलाई आएको देखेर टाढैबाट बूढोले भन्यो- “अब बस्ने होइन ? खाने के नि ?”
सबैको दृष्टि विधवामाथि पर्यो । उनले भनिन्- “अलिकता चिउरा बाचेको छ, पेटभरि नभए तापनि अलिअलि त थेग्ला ।”
तिनीहरू बसेर चिउरा फाँक्न थाले र आकाशलाई छानो बनाएर गुँडुल्किएर त्यहीँ बाटोको छेउमा सुते ।
दिनभरि हिँडेका हुनाले तिनीहरू सुत्न पनि पाएका थिएनन्, भुसुक्क निदाए ।
बिहान सूर्यको पहिलो किरणको साथसाथैमा बूढो उठ्यो र खोक्न थाल्यो । सब जना उठे तर गोरेको पत्ता थिएन । विधवाले आँत्तिएर सोधिन्- “गोरे खोइ ?”
बूढोले शान्त भएर भन्यो- “गयो होला कतै, अब हामीले हिँडिहाल्नुपर्छ । अहिले खानलाई केही छैन । साँझसम्म त पुग्नुपर्छ । त्यहाँ केही खाने उपाय हुन सक्छ ।”
विधवाको हृदय भारी भयो र उनी बूढो, भोटे र धनेको हृदयहीनता देखेर छक्क परिन् । दुर्दिनको सँगी यसरी अल्पिँदा यिनीहरूको मनमा अलिकता पनि दुःख नहुनु ? तिनी आफ्नो पोको बटुल्न थालिन् । उनको हृदय धक्क भयो । उनको गहनाको पोको छैन ।
सब जना हिँड्न तयार भए तर विधवा बसेर पोकाहरू बाँधबुँध मात्र गरिरहेकी थिइन् । त्यो देखेर बूढाले सोध्यो- “के गरिरहेको ? हिँडिहालौँ नत्र साँझसम्म पुगिँदैन । भोकै सुत्नुपर्ला ।”
विधवाले रुन्चे स्वरले भनिन्- “मेरो गहनाको पोको छैन ।”
सब जना छक्क परेर विधवातिर टुलुटुलु हेर्न थाले । बूढाले भन्यो- “तिमी गहनागुरिया लिएर कहाँ हिँडेकी त ? लग्यो होला, गोरेले । अब चोरिने कुरा चोरिइहाल्यो, रोएर के गर्नु ?”
विधवालाई त्यसको कुरा सुनेर रिस उठ्यो । उनले चिच्याएर भनिन्- “चुप् लाग्, बूढा । त्यस गहनाले मैले के-के गरूँला भन्ने विचार गरेकी थिएँ, खेती किनुँला, बिहा गरुँला, घर जमाउँला, छोरा पाउँला । मेरो सारा आशा नष्ट भयो ।”
यति भनेर डाँको छोडेर रुन लागिन् । बूढो तिनी भएनेर गएर उनको काँधमा हात राखेर भन्न थाल्यो- “किन रोएकी, नानी ? चोरिने कुरा चोरियो । मधेसमा केही न केही उपाय भैहाल्छ । तिमीले पोइ पनि पाउँछ्यौ । तिम्रो घर पनि हुन्छ । नआत्तिऊ, लौ हिँड ।”
विधवा टोल्हाएर उभिइन् र बूढाको पछि-पछि लागेर हिँड्न थालिन् ।
त्यो टाढाको टाकुरामा पुगेर बूढोले बडो उत्साहसँग दक्षिणतिरको आँखाले भ्याउन्जेलसम्मको, ठूलो विस्तीर्ण मैदानलाई देखाएर आफ्ना साथीहरूलाई भन्न थाल्यो- “ऊ त्यही हो मधेस । त्यहीँ हाम्रो उद्धार हुन्छ । त्यहीँ हामीले अघाउन्जेल खान पाउँछौँ ।”
भोटे र धनेको आँखामा उत्साहको आभा दगुर्यो । भोकले सुकेको गालामा पनि आनन्दको गुलाफी देखियो । कानसम्म मुखको कुना पुर्याएर मुखभरि चाउरी पारेर तिनीहरू हाँसिरहे ।
तर विधवामा उत्साह थिएन । आफ्नो उमेर ढलिसकेको थियो । उनले तिनै गहना र रुपैयाँको आकर्षणले कुनै युवकलाई तानेर आफ्नो बनाउने इच्छा गरेकी थिइन् । आफ्नो सानै उमेरदेखिको सपनालाई -आफ्नो सानो घर, छोराछोरी- सफल बनाउने इच्छा गरेकी थिइन् । सब तासको घरझैँ भताभुङ्ग भयो । उनले पनि देखासिखी गरेर उत्साहहीन दृष्टिले दक्षिणतिरको मैदानलाई हेरिन् ।
(दोषी चश्मा कथासङ्ग्रहमा सङ्ग्रहित ।)