दिल्ली युनिभर्सिटीबाट ब्याचलर्स फाइनल इयरकोको एक्जाम दिइसकेपछि आफ्नै देश फर्कनु थियो । घरबाट खबर आएको थियो– फर्कने बेलामा देहरादूनमा बसेर पढिरहेको भाइलाई पनि भेटेर आउनू । बस पक्रेर सबभन्दा पहिला देहरादून हानिएँ । भाइ ठीकठाकै रै’छ । उसको तीन महिना बाँकी थियो छुट्टी हुनलाई ।
देहरादून रेलवेमा गएर गोरखपूरको लागि टिकट सोधेँ । तर सबै प्याक । रिजर्भेसन गर्न पनि भ्याइया होइन । वेटिङ्गको पनि कुनै गुन्जाएस नभएको टिकट काउन्टरको कर्मचारीले बताइसकेपछि एकछिन सोचमग्न भएँ । जनरल क्लासमा त्यसअघि कहिल्यै सफर गरेको थिइँन । यसपाली बाध्य भएँ ।
साढे तीनको ट्रेन थियो । यसो घडी हेरेँ, साढे दुई बजेको थियो ।
‘ट्रेनमा गएर बसिहाल्नुस्, सिट नपाउनुहोला ।’ चिम्सा आँखा भएको, हेर्दा नेपालीजस्तो लाग्ने, गोरो गोरो रेलवे कर्मचारीले हिन्दीमा भन्यो।
म प्लेटफर्म नम्बर २ मा भएको रेल खोज्न लागेँ । जनरल क्लासको टिकट, द्वितीय श्रेणी लेखेको जुन डब्बामा छिरे पनि हुने ।
पूरै एउटा रात जनरल क्लासमा, सुत्न पाइएला, नपनइएला, ट्रेनभित्र छिर्नुभन्दा अगाडि म सोचिरहेको थिएँ । आठ सय पन्ध्र किलोमिटरको यात्रा । फेरि मान्छे पनि त्यस्तै मैलाधैला लूगा लगाएका, फोहरी, गन्हाउने होलान् । सम्झिँदै दिगमिग लागिरहेको थियो ।
सबभन्दा कम मान्छे भएको डब्बामा छिरेँ र एउटा सिटमा थचक्कै बसिहालेँ । म हैरान थिएँ कि एक घन्टापछि हिँड्ने ट्रेनमा पनि मान्छेको उपस्थिति उल्लेख्य थियो । झ्यालनेरका सिटहरू त पहिल्यै कब्जा भैसकेका थिए ।
मेरो छेउको सिटमा झ्यालनेर दुई जना लोग्नेमान्छे बसिसकेका थिए । ठीक विपरीतको सिटमा एउटा केटा र एउटी केटी । केटाहरूतिर ध्यान पुर्याउने मेरो बानी थिएन तर केटीतिर शुरुमै आँखा पुगिहाल्यो ।
काली काली थिई केटी । ठूल्ठुला आँखा । आँखाको सेतो भाग, जसलाई कर्निया भनिन्छ, त्यो मधुरो नीलो थियो । अनि कुर्ता आँखाभन्दा अलिकति गाढा नीलो । सलवार र सल चाहिँ दुबै सेतो ।
जनरल क्लासमा चढ्दा म यहाँभन्दा राम्री केटी अपेक्षा गर्दिनथेँ । कहाँ दिल्लीको मेट्रोमा भेटिने गोरी, स्मार्ट, फरर अंग्रेजी बोल्ने हाई–फाई केटीहरू, कहाँ यहाँ देहरादून एक्सप्रेसमा भेटिएकी काली, हेर्दै गवाँरजस्ती लाग्ने, मैलो लुगा लगाएकी, ठीकठाक बोल्न पनि नसक्ली जस्ती केटी । दिल्लीका स्मार्ट, चल्तापूर्जा केटीहरू हेर्ने बानी परिसकेको मलाई देहरादून एक्सप्रेसको जनरल क्लासमा चढेकी त्यस केटी पटक्कै हेर्न मन लागिरहेको थिएन । आफ्नो ध्यान बाहिर प्लेटफर्मतिर लगेँ । मान्छेहरू ओहोरदोहोर गरिरहेका थिए । डिब्बामा चढ्नेहरू चढिरहेका थिए । हाम्रो वरपरका सिटहरू पनि क्रमशः भरिँदै जान लाग्यो ।
साढे तीन बजे हिँड्ने भनेको ट्रेन करिब चार बजे हिँड्यो ।
अगाडिको सिटको झ्यालमा केटाचाहिँ बसिरहेको भए तापनि ट्रेन हिँड्ने बेलामा त्यसले केटीलाई झ्यालपट्टि बस्न दियो ।
हो, यही पल त थियो, जुन पल सम्झेर मलाई आज पनि पछुतो हुने गर्छ । त्यसबेला झ्यालबाट आइरहेको बेजोडको हावाले उसको केशलाई तितरबितर नगर्दिएको भए मेरो ऊसँग प्रेम हुन्थेन ।
त्यति नै बेला म पग्लिएँ । मेरो दिमागमा राम्रो प्रभाव पारेर बसेका दिल्ली मेट्रोमा यत्रतत्र भेटिन गरेका स्मार्ट केटीहरूको प्रतिबिम्बलाई एकै निमेषमा देहरादून एक्सप्रेसकी गवाँरजस्ती लाग्ने मामुली केटीले विस्थापित गरिदिएकी थिई ।
हो, जब ऊ झ्यालमा गई, बेजोडले चलिरहेको हावाले उसको सिल्की कपाललाई ठूलै प्रतिशोध साँध्न गरे झैँ बर्ताव गर्यो । उसको हलुको मैलो सेतो कलरको सल पनि समुद्रको छाल झैँ फरफरायो । ऊ आत्तिएर हत्त न पत्त त्यसैलाई सम्हाल्न लागी अनि रबरब्यान्डले कपाल बाट्न लागी । त्यसरी रबरब्यान्डले कपाल बाँध्न लाग्दा उसले आफ्नो छातीलाई तनक्क तन्काई । यसो गर्दा उसको छाती उसको कम्मर र घाँटीको सतहबाट अलिकति अगाडि आउन खोज्यो । हो, यही दृश्यले त म भुतुक्कै भएँ ।
म चिहाइ चिहाइ विस्तारै उसैलाई हेर्न लागेँ । अब ऊ अघिभन्दा अलिक गोरी लाग्न लागी । अलिक सभ्य पनि देखिई । लुगा पनि त्यति मैलो लागेन ।
ट्रेन घिस्री घिस्री हिँडिरहेको थियो । पाँच मिनेट जति हिँड्थ्यो अनि एउटा स्टेशन आउनासाथ अर्को पाँच मिनेट रोकिन्थ्यो । एक हूल मान्छे चढ्थे ।
अब वरपरका मान्छेहरूबीच गफगाफ शुरु भयो । सबभन्दा पहिला को कहाँ ओर्लिने ? यसबारे जानकारी आदानप्रदान भयो । सुन्नमा आयो, त्यो केटी र ऊसित भएको केटा मुरादाबादबाट तीन स्टेशन अगाडिको ठाउँ साहजहनपूर जंक्सन ओर्लिने रे । अनि अर्को महत्वपूर्ण कुरा के पनि थाहा भयो पाइयो भने तिनीहरू दाजु बहिनी रै’छन् । अनि मलाई वरपरका अरु मान्छेले सोधेका प्रश्नहरूको पनि ठीकठाक उत्तर दिएँ ।
ट्रेन हिँडिरहेको थियो । म त्यस केटीको दाजुको आँखा छलेर उसैलाई हेरिरहेको थिएँ । ऊ पनि आफ्ना ठूल्ठुला आँखाहरूलाई घरि घरि मतिर ल्याएर ठोक्काउँथी । मलाई त्यस विषयमा पनि पछुतो भैरह्यो । यसकारणले कि उसले मलाई त्यसरी नहेरिदिएको भए पनि मेरो ऊसँग प्रेम हुन्थेन ।
कतिबेरसम्म हाम्रा आँखा जुधिरहन्थे । जब डब्बामा केही हलचल जस्तो हुन्थ्यो अनि मात्र यताउता हेरिन्थ्यो । त्यही मौका छोपेर त म उसलाई हेर्थेँ । अनि निक्कै लामो समयसम्म म उसलाई हेरिरहेको छु भन्ने कुरा चाल पाएपछि ऊ मलाई हेर्थी । तर उसका आँखा अलिक चञ्चल । म देख्थेँ, ऊ घरि आफ्ना हातका नङहरू जुधाइरहेकी हुन्थी, घरी तल्लो ओठ टोक्थी, घरि माथि सिलिङ्गतिर हेर्थी ।
जति जति उसलाई हेर्दै गएँ, उति उति म फस्दैँ गएँ । उसका नीला आँखाहरू मलाई चेन्नइको मारिना बीचको याद दिलाउँथ्यो जहाँ गएको समर भ्याकेशनमा गएको थिएँ । खुब पौडी खेलिएकाे थियो । अनि उसको कफी कलरको ओठ, पग्लिँदै गरेको बरफ झैँ रसिलो देखिन्थ्यो ।
झ्याप्प रात परिसकेको थियो । एउटा साधारण स्टेशनमा ट्रेन रोकिएको थियो । डब्बामा चिया, कफी, मम्फुली, पानी, लेज आदि बेच्ने मान्छेहरू छिरिसकेका थिए । सबैले केही न केही किनेर खाइरहेका थिए । मैले एक कप कफी किनेँ । अनि आफ्ना अघिल्तिर भएकी त्यस केटीको ओठ हेर्दै कफी सुरुप्प पार्न लागेँ ।
तिनीहरू भने एउटा टिफिनको बट्टा खोलेर परौठा र अचार खान लागे । म उनीहरूको त्यस क्रियाकलापलाई एकटकले हेर्न लागेँ । केटी त्यो खानलाई अलिक अफ्टेरो जस्तो मानिरहेकी थिई । दाजुचाहिँले आफ्नो भाग खाइसकेपछि बहिनीको भाग राखिदिएर तयो टिफिन बक्सलाई यथास्थानमा राखिदियो ।
अनि एक राउन्ड फेरि गफगाफ शुरु भयो । यसपाली सबैले सबैजसोको रोजगारी, घर र यात्राको उद्देश्यबारे जानकारी लिए/दिए ।
मैले थाहा पाएँ, ती दाजुबहिनी कलकत्ताबाट पूर्वतिर पर्ने एउटा साधारण गाउँमा बस्दा रै’छन् । यसपाली दाजुचाहिँले बहिनीको बारेमा नै ज्यादा बतायो । मचाहिँ उसैकी बहिनीलाई सक्दो हेरिरहेको थिएँ । केही कुरा मेरा कानमा परिरहेको थियो । जस्तो, उनीहरूका पिता उत्तर प्रदेशकै लाखिमपूर भन्ने ठाउँमा कन्स्टेबल थिए । बहिनी उतै गाउँबाटै प्रवेशिका दिएपछि कलेज जाँदाजाँदै बीचमा छाड्नुपर्यो । बंगाली उसको मातृभाषा । अंग्रेजी नजान्ने । हिन्दी अलिअलिमात्र बुझ्ने ।
यता म सोचिरहेका थिएँ, ऊसित कसरी बोल्नू ? नेपाली ऊ नबुझ्ने, बंगाली मलाई नआउने, हिन्दी ऊ नबोल्ने ।
तर पनि एउटा भाषा साझा थिए– आँखाको भाषा ।
‘आँखैले बोलौँ न है !’ म आँखैबाट उसलाई यो सब सम्प्रेषण गरिरहेको थिएँ ।
‘हुन्छ,’ ऊ आफ्नो ठूल्ठुला आँखाबाट बडो संकोचले भरिएको उत्तर दिइरहेकी थिई ।
रात छिप्पिदै गइरहेको थियो । म आफूभन्दा छेउको मान्छेलाई आफ्नो ब्याग एकछिन रुंग्न लगाएर ट्वाइलेट जाने बहानाले त्यहाँबाट उठेँ ।
जाँदाजाँदै उसलाई एकपटक आँखाको भाषाले कम्पार्टमेन्टको ढोकानेर कुर्ने बताएँ ।
ऊ एकटकले हेरिरहेकी थिई, मानौ आफैँभित्र अल्मलिएकी हुँदी हो ।
कम्पार्टमेन्टको ढोकानेर कोही थिएनन् । अघि साँझसम्म अलिक भीड नै भए तापनि रात अलिक छिप्पिएकाले होला, मान्छेको चाप ट्रेनमा कम नै थियो । तर ट्वाइलेट जाने आउने मान्छेको ओहोर दोहोर भने चली नै रहेको थियो ।
म ढोकामा उभिएर बाहिरबाट चलिरहेको डरलाग्दो हावाको चाप महसुस गरिरहेको थिएँ । करिब १० मिनेटपछि ऊ आई । उसलाई उभिएको बल्ल देख्न पाइरहेको थिएँ । प्रत्येक ट्वाइलेट जाने आउने मान्छेलाई नियालिरहेको अवस्थामा मैले उसको आहट पनि चाल पाइहालेँ ।
ऊ ट्वाइलेट जान खोज्दै थिई, मैले नैँ रोकेँ । केवल ‘हेलो,’ भनेर ।
यहाँभन्दा अगाडि केही बोल्न सुझेन । के बोल्ने ? कुन भाषामा बोल्ने ? बंगाली ? हिन्दी ? नेपाली ? या अंग्रेजी ? दिमाग त्यसै कन्फ्युज्ड थियो ।
त्यसपछि ऊ टक्क अडिई । म उसको छेउमा गएँ । धेरै नजिकबाट म उसका नीला आँखा देख्न होइन महसुस नै गर्न पाइरहेको थिएँ । यति हेरेँ ती आँखा कि मलाई डर लाग्न लाग्यो । यो के भइरहेछ मलाई ? उसको आँखाको दलदलमा भासिँदै गइरहेको अनुभूति भइरहेको थियो । सो आफ्नो ध्यान ती आँखाबाट उखेलेँ । ऊ आफ्नो खैरो कफी कलरको ओठ कमाउँदै हाँस्न खोजिरहेकी थिई । केही नर्भस झैँ, केही हत्तारो झैँ, केही डराए झैँ भावहरू उसको ओठमा नजाने कहाँबाट ओर्लिएको थियो ।
त्यसपछि ऊ मलाई पुरै बेवास्ता गर्दै डब्बाको ढोकैमा गई जहाँ ऊ आउँदा म उभिरहेको थिएँ । अघि शुरुमा झ्यालमा बस्दा बिग्रेको उसको कपाल यसपाली खुल्ला ढोकाबाट छिरेको हावाको झोँकाले झन् बिगारिदियो । तर ऊ यसपाली आफ्नो कपाल सम्हाल्नतर्फ लागिन बरु हावालाई सक्दो आफ्नो शरीर र अनुहारमा समाहित हुन दिएर इत्तरिरहेकी थिई । यसपाली ऊ यति हाँसी कि उसको दाँत पनि प्रष्ट देखियो । हाँस्दा उसका दुबै गालामा डिम्पल पर्दौरहेछ । कत्ति राम्री ! उसको त्यो रुपका अगाडि दिल्लीका अंग्रजी बोल्ने हाईफाई केटीहरू पनि केही लागेनन् ।
यस्तो अर्ग्यानिक सुन्दरता दिल्लीका केटीमा कहाँ ?
ढोकामा हावा खाँदै गर्दा त्यो केटीले मलाई पनि आफू नजिकै निमन्त्रण गरी–आँखैले ।
म उसको नजिक गएँ ।
हावासँग इत्तरिन मलाई ऊ आउनुभन्दा अगाडि नै पुगिसकेको थियो । त्यसैले अब म उसको नजिकै गएर उसको नाउँ जान्न इच्छुक थिएँ । एकपटक जोरले कराउँदै उसलाई सोधेँ– नेम ?
उसले त्यो सुनिन सायद । मैले नै फेरि सोधेँ– नाम ?
ऊ आफ्नै धुनमा थिई । एक हातले कस्सिएर आफ्नो सल समातिरहेकी थिई । अर्को हातले ढोकामा डण्डी । अनि अनुहारचाहिँ ढोकाभन्दा अलिकति बाहिरपट्टि लगेर हावासँगै जोतिरहेकी थिई ।
त्यति नै बेला ट्वाइलेट जाने मान्छेको ओहोरदोहोर भयो । ऊ अलिक तर्सेजस्तो गरेर एकपल्ट ट्वाइलेट गई र हतारहतार गर्दै आफ्नो सिटमा गएर बसी । मचाहिँ ऊ गएको ५ मिनेटपछि गएर आफ्नो सिटमा बसेँ ।
करिब ११ बजेतिर उनीहरूको गन्तव्य आयो । झोलासोला बोकेर उठे दुबै दाजुबहिनी । बहिनीचाहिँ घरि घरि बोक्दै गरेको झोलामा घरि मेरो आँखामा हेर्दै गरिरहेकी थिई । मेरो पनि पूरै ध्यान उसैमा केन्द्रित थियो । के गरुँ ? के गरुँ ? जस्तो भइरहेको थियो । एकपल्ट मुखै फोरेर मोबाइल नम्बर माग्नू जस्तो पनि लाग्यो । तर त्यत्रा मान्छेका अगाडि आँट गर्नै सकिनँ । फेरि सोचेँ, आफ्नो नाउँ नबताएकी केटीले मोबाइल नम्बर के देली ?
ट्रेन स्टेशनमा पुरै रोकिइसकेको थियो । उठेर हिँड्दै गर्दा, उसको नीलो आँखा मैले यतिबेला चाहिँ सेतो देख्न पुगेँ–जो घुरी घुरी मलाई नै हेर्नमा केन्द्रित थियो । म पनि तीनै आँखामा आफ्नो तन मन दुबै लगाइरहेको थियो । एकपल्ट ‘पर्ख,’ भन्नुजस्तो, ‘नजाउ,’ भन्नुजस्तो, कस्तो कस्तो भैरहेको थियो । साला एकरात पनि पूरै बितिसकेको थिएन । आफ्नो सिट अगाडि बसेकी एउटी मामुली केटी ! न एउटा संवाद नै साटिएको थियो ! न छोइएको हो ! अहँ केही पनि भएको होइन । तर पनि प्रेम भैदियो । यही त छ बिडम्बना । आफैँभित्र एकपल्ट नराम्रोसँग झस्किएँ । बाटोमा हिँड्नेहरूसित प्रेम गरेर पनि साध्य हुन्छ ? तर पुनः आफ्नै कुरा बाझ्न थाल्छ । जीवनको यति लामो यात्रामा प्रेम बाटामा हिँड्नेहरूसितै त हुन्छ ।
उनीहरू अब मेरो आँखाबाट ओझेल भैसकेका थिए । मभन्दा अगाडिको सिट खाली भयो । अब कतिखेर कुन स्टेशनमा को चढेर त्यहाँ बस्ने हो ? म एकटकले त्यो खाली सिटमा हेरिरहेको थिएँ ।
मभन्दा साइडमा बसेका दुई जना मान्छे कुरा गरिरहेका थिए । उतै देहरादूनबाटै चढेको बिहारी लवजमा बोलिरहने अधबैँसे मान्छे भर्खर केहीबेर अगाडि मुरादाबादबाट चढेको सेतो दारी पालेको मुसलमानलाई भनिरहेको थियो, ‘बिचरा दाजुबहिनी रै’छन् । बहिनीचाहिँ लाटी रहिछे । बाल्यकालमा सौतेनी आमाले जिब्रो पोलिदिएकी रे । दुखिया रै’छन् ।’
कतिबेर थाहा पाएछ त्यो बिहारी बूढोले म छक्क परिरहेको थिएँ । यो सुनेपछि म झन् आद्र भएँ । थाम्नै सकिनँ । जुरुक्क सिटबाट उठेर कम्पार्टमेन्टको ढोकासम्म गएँ । तिनीहरू धेरै अगाडि पुगिसेका थिए । मलाई जोरले चिच्याएर उसलाई बोलाउन मन लाग्यो । तर अपशोच ! मसित बोलाउनलाई उसको नाउँ थिएन ।
कथासंग्रह “कथाकी पात्र”बाट