सांघाईः शीतकालीन बेइजिङ ओलम्पिक्स खेलकुद २०२२ को कुनै पनि सामग्री सामाजिक सञ्जालमा पोष्ट नगर्न वेइबोले चेतावनी दिएको छ। चिनियाँ सामाजिक सञ्जाल वेइबोले आफ्ना प्रयोगकर्ताहरुलाई शुक्रबार सो चेतावनी दिएको हो।
ओलम्पिक्ससँग सम्बन्धित सामग्री वेइबोमा प्रस्तुत गरिएको भेटिएमा प्रयोगकर्ताहरुको अकाउन्ट ब्लक गर्ने चेतावनीसमेत वेइबोले दिएको छ। वेइबोले प्रयोगकर्तालाई प्रत्यक्ष सन्देश पठाउँदै सो चेतावनी दिएको हो।
चीनमा वेइबोका करिब ५७० लाख मासिकरुपमा सक्रिय प्रयोगकर्ताहरु छन्। चीनको सरकारी सञ्चारमाध्यम सीसीटीभीको अनुमतिमा सो च्यानलमा प्रकाशित र प्रसारित सामग्रीमात्र सामाजिक पोष्ट गर्न पाइने बताइएको छ। शीतकालीन ओलम्पिक्स फेब्रुअरी ४ देखि २० सम्म राजधानी बेइजिङमा आयोजना गरिएको छ।
बाइडेनको चेतावनीपछि रुसले भन्यो– युक्रेनमाथि युद्ध गर्ने कुनै योजना छैन
मस्कोः अमेरिकी राष्ट्रपति जो बाइडेनले चेतावनी दिएपछि युक्रेनमाथि युद्ध गर्ने योजना नरहेको रुसी विदेश मन्त्रीले बताएका छन्। बाइडेनले रुसले अर्को महिना युक्रेनमाथि युद्ध गर्ने योजना बनाएको बताएपछि रुसी विदेशमन्त्री सर्जी ल्याभ्रोभले शुक्रबार सो बताएका हुन्।
रुसले युक्रेनसँग युद्ध नचाहेको बताउँदै रिपोटरहरुसँग उनले भनेका छन्, ‘हामीले युद्ध चाहेको छैनौं। त्यसैले युक्रेनमाथि आक्रमण गर्ने रुसको कुनै लक्ष्य र योजना छैन।’
यसअघि अमेरिकी राष्ट्रपति बाइडेनले आगामी महिना रुसले युक्रेनमाथि आक्रमण गर्ने सम्भावना प्रवल रहेको चेतावनी दिएका थिए। युक्रेनको सीमा क्षेत्रमा रुसले पछिल्लो हप्ता दशौं हजार सेना तैनाथ गरेको छ। रुसी सेना तैनाथ गरिएको भन्दै पश्चिमा मुलुकहरुले युक्रेनमाथि आक्रमण गर्ने बताउँदै आएका छन्। यद्यपि, युक्रेनमाथि आक्रमण गर्ने योजनाबारे रुसले अस्वीकार गर्दै आएको छ।
भारतमा सामूहिक बलात्कार आरोपमा एकै परिवारका ११ सदस्य पक्राउ
नयाँ दिल्लीः भारतको राजधानी दिल्लीमा बलात्कारको आरोपमा एकै परिवारका ११ सदस्य पक्राउ परेका छन्। नयाँ दिल्ली प्रहरीले सामूहिक बलात्कारको आरोपमा शुक्रबार एकै परिवारका ११ सदस्य पक्राउ गरेको हो।
बालबालिकासहित एकै परिवारका ११ सदस्य पक्राउ परेको प्रहरीले जनाएको छ। स्थानीय युवकको बदला लिन सो परिवारका सदस्यले २० वर्षीया पीडित युवतीमाथि बलात्कार गरेको र बलात्कारपश्चात ती युवतीलाई जबरजस्ती कालो मोसो दलेर जुत्ताको माला लगाई नयाँ दिल्लीको कस्तुर्वा नगर परिक्रमा गराएको प्रहरीले जनाएको छ।
सो घटनामा आरोपित परिवारका छोरासँग परिवारका अन्य सदस्य संलग्न भएको भन्दै सबैलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। पीडित युवती हालः अस्पताल भर्ना गरिएको र उनको मेडिकल रिपोर्ट आउन बाँकी रहेको बताइएको छ।
जापानमा ज्वालामुखी विस्फोटपछि खरानी र धुँवा हावामा मिसियो
टोक्योः जापानको साकुराजिमा ज्वालामुखी विस्फोटपछि निस्केको धुँवा र खरानीको मुस्लो वायुमण्डलमा मिसिएको छ। शुक्रबार विस्फोट भएको सो ज्वालामुखीबाट निस्केको धुँवा र खरानीको मुस्लो वायुमण्डलमा मिसिएको हो।
जापानी टापु क्युशुमा विस्फोट भएको सो ज्वालामुखीको तस्बिर र भिडियो अनलाइनमार्फत् सेयर गरिएको अन्तर्राष्ट्रिय मिडियामा खबर छ।
साकुराजिमा ज्वालामुखीलाई संसारकै सक्रिय ज्वालामुखी मानिन्छ। सो ज्वालामुखीबाट हरेक चार दिनदेखि २४ घण्टामा लाभा निस्कने गर्छ। भल्कानो डिस्कभरका अनुसार शक्तिशाली साकुराजिमा ज्वालामुखी १४७१ र १४७६ को विचमा र सन् १९१४ मा भएको थियो।
यमनको मिसाइल आक्रमणमा ५ को मृत्यु, ३० घाइते
मारिबः यमनको मिसाइल आक्रमणमा परी कम्तीमा पाँच मानिसको मृत्यु भएको छ। यमनको मारिब क्षेत्रमा हुथि बिद्रोहीले गरेको मिसाइल आक्रमणमा कम्तीमा पाँचको मृत्यु भएको हो।
स्थानीय मिडियाले शुक्रबार सो जानकारी दिएका हुन्। सो आक्रमण मारिब शहरमा बुधबार राति भएको बताइएको छ। पछिल्लो समय हुथि विद्रोहीविरुद्ध यमन सरकार र साउदी नेतृत्वको गठबन्धनले विभिन्न अपरेसन जारी राखेको छ। मारिब क्षेत्र हुथी विद्रोहीको कब्जामा रहिआएको बताइन्छ।
अष्ट्रेलियामा १४ दिनसम्मका लागि आपतकालीन घोषणा
मेलबर्नः अष्ट्रेलियाली प्रान्त दक्षिण अष्ट्रेलियाले आपतकालिन अवस्थाको घोषणा गरेको छ। केही दिनअघि देखिको भारी वर्षा र आँधीपछि आगामी १४ दिनको लागि आपतकालीन घोषणा गरेको हो।
केही दिनअघि देखि आएको असिना र वर्षाका कारण मेलबर्न र साउथ अष्ट्रेलियामा बाढी आएको बताइएको छ। अष्ट्रेलियाको विभिन्न भेग र समुद्री तट क्षेत्रमा अझै चट्याङसहितको वर्षा र आँधी आउने त्यहाँको मौसम विभागले जनाएको छ।
आँधी र वर्षाका कारण सो क्षेत्रका अधिकांश मानिसहरु अन्धकारमा बसिरहेको अन्तर्राष्ट्रिय मिडियामा खबर छ। आँधी र वर्षाका कारण सो क्षेत्रमा ठूलो मात्रामा भौतिक क्षति भएको अनुमान गरिएको छ।
विद्रोही आक्रमणमा परी १० पाकिस्तानी सैनिकको मृत्यु
इस्लामावादः विद्रोहीको आक्रमणमा परी १० पाकिस्तानी सैनिकको मृत्यु भएको छ। बलुचिस्तान प्रान्तस्थित दक्षिणपश्चिमी बन्दरगाहनजिकै पाकिस्तानी सेनाको चौकीमा भएको आक्रमणमा परी दश सैनिकको मृत्यु भएको हो।
सो आक्रमण केच जिल्लाको ग्वादर बन्दरगाहमा भएको हो। पाकिस्तानी सरकारविरुद्ध लडिरहेका जातीय समूह बलुच विद्रोहीले सो आक्रमण गरेको रोयटर्सले जनाएको छ। गएको मंगलबार साँझ भएको सो घटनाबारे शुक्रबार पाकिस्तानी प्रधामन्त्री इमरान खान र पाकिसतानी सेनाले जानकारी दिएको बताइएको छ।
प्रधानमन्त्री खानले सो आक्रमणमा मरेका सैनिकलाई शुक्रबार सलामी दिएर शहिद घोषणा गरेको बताइएको छ। घटनाको जिम्मेवारी बलुच लिवरेसन फ्रन्टले लिएको बताइएको छ। जातीय समूह बलुचले दशकौंदेखि अलग राज्यको माग गर्दै पाकिस्तानी सरकारविरुद्ध लडिरहेको छ।
दक्षिण अफ्रिकी देशमा आँधीबाट मर्नेको संख्या ८६ पुग्यो
केप टाउनः दक्षिण अफ्रिकी मुलुकहरुमा आएको आँधीबाट मर्नेहरुको संख्या ८६ पुगेको छ। केही दिनअघि आएको आँधीका कारण शुक्रबार बिहानसम्म मर्नेहरुको संख्या ८६ पुगेको हो।
दक्षिण अफ्रिकी मुलुकहरुमा केही दिनअघि उष्णकटबंधिय आँधी एना आएको थियो। आँधीसँगै मुसलधारे पानीसमेत परेको थियो।
जसका कारण दक्षिण अफ्रिकी मुलुक मोजाम्बिक, मदागस्कर, जिम्वाबेमा ८६ मानिसको मृत्यु भएको छ। आँधीका कारण मोजाम्बिकमा मात्र विद्यालय, अस्पतालसहित अन्य १० हजार घरहरु पूर्णरुपमा क्षतिग्रस्त बनेका छन् भने करिब २ लाखभन्दा बढी मानिस विस्थापित भएको अन्तर्राष्ट्रिय मिडियामा खबर छ।
आँधीपछि स्थानीय सरकार र उद्धारकर्मीहरुले उद्धार कार्य जारी राखेको बताइएको छ। अन्नपूर्ण पोस्टबाट