पहेँलो गुलाफ

Spread the love

८ असार 
दुई महिनादेखि मैले केही लेख्न सकेकी छैन । डायरीका यी रित्ता पानाहरू जति पल्टाउँछु, उत्ति मभित्रको खाली झन्झन् बढ्दै गएजस्तो लाग्छ । कस्तो खाली हो, म आफैँ पनि जान्दिनँ ।

म ज्यादै दुब्लाइसकेँ, थुकसित कहिलेकाहीँ त रगत मिसिएर आउँछ— राति आँखै तिर्मिराउने कालो रगत । मलाई टीबी भएको रहेछ । हुन त कहिलेदेखि भएको हो, तर थाहा भएको भने आठ महिना भइसक्यो, तबदेखि यही स्यानेटोरियममा छु । धेरै भइसक्यो— मेरो छातीको एक्सरे गरेको, डाक्टरले भन्थ्यो, ‘मेरो दायाँ फोक्सो ज्यादै खराब भइसकेको छ रे !’

साँच्चै मलाई पनि यस्तै लाग्छ, मेरो फोक्सो अब कुहिएर फतफती झर्न मात्र बाँकी छ । मैले उहाँसित मेरो एक्सरे फोटो हेर्न मागेकी थिएँ, तर उहाँले ‘हुन्छ हुन्छ’ भन्दै त्यो अझसम्म मलाई देखाउनुभएको छैन ।

उहाँ भन्नुहुन्छ, ‘मलाई केही भएको छैन, चाँडै नै निको हुन्छ रे !’ ओहो ! मलाई आश्चर्य लाग्छ । किन उहाँ मलाई यसरी छकाउन खोज्नुहुन्छ ? अब के बाँकी छ र ! छकिनेजति म पहिले नै छकिइसकेकी छु ! यो थुकसित लत्पतिएको रगत, यो कुहिएको फोक्सो सबै मेरा आफ्नै कमजोरीका उपलब्धि त हुन्, अझ कति म छकिऊँ, कतिसम्म घाटा परूँ !

उहाँ मलाई अत्ति माया देखाउनुहुन्छ, कत्ति स्याहार गर्नुहुन्छ, सधैँ मेरा अगाडि आएर घण्टौँ बसिरहनुहुन्छ । मलाई यत्रो भयंकर सरुवारोगले च्यापेको छ, यो उहाँलाई थाहा छैन र ? तैपनि, उहाँ डराउनु हुन्न, घिनाउनु हुन्न । झन् एउटै पलङमा मैसित च्यापिएर बस्नुहुन्छ । मलाई उहाँको ज्यादै पीर लाग्छ । कतिचोटि उहाँलाई मैले आफ्नो नजिकबाट हटाइसकेँ । उहाँ मान्नु हुन्न, म के गरूँ !

हिजै पनि उहाँले कस्तो काम गर्नुभयो, सम्झँदैमा मेरो मुटु अझै थर्रथर्र काम्छ । उहाँ मेरो अगाडि हुनुहुन्थ्यो, बस्दाबस्दै मलाई एकतमासको खोकीले च्याप्यो, मुटु थर्केर बाहिर निस्किलाजस्तो भएको थियो । अनि उहाँ कति डराउनुभएको थियो त्यस बेला । खोक्दाखोक्दै रगतको सानो ढिकासहितको थुक र र्यालसँग लटपटिएर मेरो चिउँडोभरि पोतियो, मलाई आफ्नै सूर थिएन, पछि पो थाहा पाएँ– उहाँले आफ्नै रेसमी रुमालले त्यो थुक र र्याल थाप्नुभएछ । म छक्क पर्छु उहाँको लापरबाही देखेर । कस्तो केटाकेटीजस्तो मान्छे ! अघि दिउँसो उहाँको कोटको खल्तीमा हात पर्दा त्यही रुमाल निस्कियो, फोहरले कट्कटिएको । त्यही रुमाल किन चलाउनुपर्थ्यो, मेरै मुख पुछ्ने भुवादारी रुमाल पलङनिरै स्ट्यान्डमा झुन्डिएकै थियो नि !

कति राम्रो थियो त्यो रुमाल । प्याजी रङको प्योर सिल्कको । मैले नै एकचोटि उहाँलाई किनेर दिएको, कति खुसी हुनुभएको थियो त्यो रुमाल पाएर । मलाई प्याजी रङ चौपट्टै मन पर्छ, मेरो बाकस र दराजभित्रका सबै लुगा धेरैजसो प्याजी रङकै छन् । प्याजी रङ देख्यो कि मलाई असाध्यै प्रसन्न हुन्छ । त्यसैले उहाँ जिस्क्याउनुहुन्थ्यो, ‘तिमीलाई त प्याजी रङको टबभित्रै पो सधैँ डुबाइराखूँ कि ?’

यति मात्रै होइन, उहाँ मेरो प्रसन्नता र रुचिको ज्यादै कदर गर्नुहुन्छ । घरमा मेरो ड्रइङरुम अगाडि दुबोको चउरभरि उहाँले प्याजी रङका जर्मेराहरू लगाइदिनुभएको छ । म घण्टौँ ती प्याजी फूलहरूको बीचमा बसेर साँझको रमाइलो बादल हेरिरहन्थेँ । कति आनन्द लाग्थ्यो ! त्यसो गर्न मलाई ।

अहिले आठ महिना भइसकेको छ । म यहाँ छु, ती फूलहरूको स्याहार कसले गरिदिँदो हो ! ती प्याजी जर्मेरा ! प्याजी रुमाल ! ओहो ! कसरी फोहरमा कक्रिएका । मेरो फोक्सोका कीराहरू सबै उहाँको कोटभरि सल्बलाइरहेका होलान् । छिः, धोएर पनि के गर्नु, त्यो रोगी रुमाल ! त्यसैले मैले फोहर मिल्काउने भाँडोमा हालिदिएँ ।

उहाँ मलाई कति धेरै माया गर्नुहुन्छ, म परी लगाउन सक्तिनँ । मलाई थाहा छ, त्यो माया मभित्र व्याप्त छ, मेरो एकएक नसामा त्यसले जरा गाडिसकेको छ । त्यसबाट मुक्त हुन म कहिल्यै सकूँला र ? म खुसी छैन । अझै पनि यो कस्तो माया हो, जसमा सन्तोषको सानो लेश पनि म भेट्न सकिनँ । यत्तिको माया पाएर पनि म खाली–खाली नै छु । यो खाली सायद कहिल्यै भरिँदैन ।

दुई महिनासम्म म ज्यादै थलिएँ, अहिले अलि सञ्चो छ, तर के…! टीबीका कीराले खानुसम्म मेरो फोक्सोलाई खाइसकेका छन्, त्यहाँ त खाली प्वाल मात्रै होलान् । कहिलेकाहीँ मलाई छाती र मुटुभरि बतास छिरेजस्तो लाग्छ । त्यसैले मभित्र हावैहावा मात्र छ, हावाहावा भरिएको बेलुन !…

मेरो फोक्सोको प्वाल च्यातिएर ठूलो प्वाल भइसक्यो, सिंगै आकाश अटाउन सक्छ यहाँ— एउटा रित्तो आकाश । के गर्नु ? रित्तिनु मात्रै त रहेछ नि, जति भर्यो, उति रित्तियो ।

९ असार
उहाँ आउनुभयो । सधैँको जस्तो आज पनि आफैँले अनार छोडाउनुभयो र रस निचोरेर गिलासमा खन्याउनुभयो । मलाई खान मन थिएन, गिलासतिर मैले हेर्दै हेरिनँ । उहाँको कुरामा पनि साथ दिइनँ । मेरो मन हिजोदेखि उदासउदासझैँ थियो, चल्न बोल्नसम्म मन थिएन ।

केही बेरसम्म हातमा अनारको रस लिएर उहाँले मलाई फुल्याइरहनुभयो । मैले सुन्दै सुनिनँ । आखिर उहाँले नै जबरजस्ती मेरो टाउको समातेर त्यो गुलाफी झोल मेरो मुखभित्र खन्याइदिनुभयो । मुखमा लागेको अनारको च्यापच्यापे झोल मैले राम्ररी पुछ्न पनि पाइनँ, एक्कासि गोहीको तीखा दाह्राले मेरो ओठलाई कर्याम्म चपाए । म रन्थनिएँ, ओठबाट कति रगत र कीराहरू निस्के, मैले थाहा पाइनँ । म बेहोस भएछु ।

अहिले दुई घण्टाअगाडि मात्रै पो म बिउँझेँ । खोइ, उहाँ त गइसक्नुभएछ । पानी परेकोले हो कि ! ऊ अझै पानी दर्कंदै छ । यो पानी अब रातभर थामिँदैन । ऐया ! मेरो पाखुरा किन यस्तरी दुखेको, बेस्सरी बटारेझैँ भइरहेको छ । ए ! बिहान डाक्टरले पनि यसैमा इन्जेक्सन दिएको हो क्यार !

त्यहाँ स्ट्यान्डमा के त्यो ? मेरो चोलोमाथि कोट उहाँले छोडेर जानुभएछ । यस्तो पानीमा वर्षाती पनि लाउनुभएको थिएन । यो कोट मेरो चोलोमाथि ! मेरो सेतो चोलो मेरै रगत हराएको मुखजस्तो सेतो थाङ्नो, तैपनि उहाँ मलाई उत्तिकै माया गर्नुहुन्छ, पहिलेको जस्तै होइन, अझ बढ्ता, पहिलेको भन्दा पनि बढ्ता । ओह ! उहाँको सुम्सुम्याइमा कति तत्परता छ, त्यो चटाइमा कति लोलुपता छ । मेरो ओठभरि अघि उहाँले लगाइदिएर जानुभएको थुक अझै लपक्क भिजेको छ ।

१२ असार
दुई दिनदेखि केही लेख्न सकिनँ । लेख्न सकिनँ के भन्नु, लेख्न पाइनँ, फुर्सदै भएन । यी तीन दिन उहाँले एक मिनेटको लागि पनि मलाई कहीँ छोड्नु भएन, म बाँधिएर बसिरहेँ, उहाँको जब्बर अँगालोभित्र । म रोगी, त्यसमा पनि क्षयका कीराले ध्वस्त पारिसकेको…! त्यतिकै उम्कन सक्ने बल कहाँ पाउनु, मैले ।

यो गुलाफको बोट, पातहरू कति चम्केका ! हिजो बिहानभरि र रातभरिको पानीले निखार ल्याइदिएछ । म यहाँ बस्न आएदेखि नै यो गुलाफको बोट यहीँ छ, तल पोर्टिकोदेखि पस्रेर आएका यसका दुई लहरा मेरो कोठाको झ्यालमा सधैँ यसैगरी लत्रिरहन्छन् ।

मजस्तै रोगी छ, यो गुलाफको बोटसम्म, पहेँला फूल मात्रै फुल्छन् । त्यसैले यसको मलाई माया लाग्छ । म यसको पातमा एउटा झुसिल्कीरो पनि बस्न दिन्नँ । देखेको बेला एक–दुईओटा झुसिल्कीरा सधैँ टिपेर फ्याँकिदिन्छु । अहिले त धेरै नै पहेँला कोपिलाहरू बोटमा लागेका छन् । फक्रेपछि झाल पहेँलै हुन्छ । पहँेलो हाम्रो एउटै संवेदना !

अहिलेसम्म उहाँ आउनु भएन । मेरो झर्को लाग्ने बानीले अलिकति अबेर भएर पनि पट्यार लाग्छ । अब त मलाई उहाँकै प्रतीक्षा छ, खालि उहाँकै ।

उहाँको अत्तरमा भिजेको चिसो बास्ना आउने हात, चिसा ओठ– मेरो रोगको एउटै सान्त्वना । त्यसैबाट त उहाँले मलाई सन्तोष दिन खोज्नुहुन्छ । यही यस्तै हात र ओठको सन्तोष चार वर्षदेखि उहाँले मलाई दिँदै आउनुभएको छ । म थाकिसकेकी छु, बिल्कुलै थाकिसकेकी छु, यी सन्तोषहरूबाट । उहाँ भने अझै थाक्नुभएको छैन । उहाँभित्रको अर्को पुरुष अझ उहाँ भन्दा पनि बलियो र सशक्त छ । उहाँ मलाई माया गर्नुहुन्छ । मेरा हरेक इच्छा र चिन्ताको उहाँलाई फिक्री छ । उहाँ मलाई चाट्नुहुन्छ, बिरालोले बच्चालाई चाटेजत्तिकै, तर उहाँलाई पत्तै हुँदैन । उहाँभित्रको सशक्त पुरुष ढाडे बिरोलोजत्तिकै निर्दयी भएर मलाई लछार्छ, पछार्छ, भुत्ल्याउँछ ।

हाम्रो विवाहको चार वर्षदेखि एकसरह, एकनासले विभिन्न तरिकाले उहाँले मलाई माया गर्दै आउनुभएको छ, तर उहाँलाई के पत्तो उहाँको त्यस सुमसुम्याइमा म कति बिथोलिएकी छु, कति नाङ्गिएकी छु । विवाहको पहिलो रातमै आफूलाई उहाँमा समर्पित गरिदिएँ । त्यस बेला मेरो आँखामा कति सपना भरिएका थिए । उहाँलाई पाएर मलाई सर्वस्व पाएजस्तो लागेको थियो । उहाँको त्यस निर्लिप्त मायामा मैले बाँध भएर फुट्न होइन, बरु पोखरीझैँ आफूभित्रै जमेर बस्न खोजेकी थिएँ । उफ् ! उहाँ त वेगवान् पुरुष हुनुहुन्थ्यो । एउटै जोसमा बग्नुभयो, मलाई पनि बगाउनुभयो । माया गर्दागर्दै उहाँले मेरो अन्तर बाह्य दुवैलाई मथेर पानीजस्तै पत्ल्याउनुभयो । म बगेँ । मलाई बग्न कर लाग्यो— किनकि, बाटो उहाँले खोलिदिनुभएकै हो । उहाँले बिर्सनुभयो, किनभने म एउटी लोभलाग्दी, सिंगै मासुको डल्ला त उहाँको अगाडि छँदै थिएँ नि ! त्यतिकैमा उहाँ सन्तुष्ट हुनुभयो । उहाँ लोभी स्यालजत्तिकै ममाथि खनिनुभयो र मेरो आदर्शको तहलाई उप्काइदिनुभयो ।

त्यहाँदेखि म कागतीझैँ उहाँको मुठीभित्र बरोबर निचोरिँदै आएकी छु, चुइङगमजत्तिकै उहाँको तातो थुकमा पग्लिएकी छु । अब त के छ र मसित ? खालि राम्रो रबड मात्रै न हो ! जति चुसे पनि, टोकेर क्याचक्याच पारे पनि, एक थोपा रस निस्कने होइन ।

ओह ! गुलाफको पातमा फेरि झुसिल्कीरा आएछ । जति फ्याँके पनि कताकताबाट रगरगाउन आइहाल्छ । यी कोपिलाहरू फक्रन नपाउँदै झुसिल्कीराले पातलाई चाल्नी पारिदिने हुन् कि ! दुई दिनपछि त फक्रलान् । मेरो औषधि खाने बेला भएछ, डाक्टर आउँछ अब । उः डाक्टर ! छिः कति खानु औषधि पनि । एउटा मात्रै हो र ? तरहतरहका । डाक्टर गयो, रित्तो औंस लिएर ।

अर्को कोठमा पुगेपछि उसले फेरि त्यो औंसलाई औषधिले भर्छ, फेरि रित्याउँछ । म पनि त्यही रित्तो औंस हुँ, खाली, केही नभएको– रित्तो । भएको जति सबै उहाँले नै सिध्याउनुभइहाल्यो । यताउता लागेको खारखुर पनि सोहोरिइसकेको छ ।

साँच्चै, यी चार वर्षभित्रमा उहाँ अलिकति पनि घाटा पर्नुभएको छैन । घाटा म पो परेकी छु, भएको जति सबै सिध्याएर आखिर क्षयका कीरालाई आफ्नो जीवभरि पालेर मृत्युलाई कुरिरहिछु । उहाँलाई त के छ र ! झन् नाफैनाफा छ । लोग्ने भन्दा पनि बढी उहाँ एउटा चतुर घिउ पसले सावित भइसक्नुुभएको छ, तैपनि उहाँलाई ममाथि दया उठ्दैन । मसित यो झीनो जीउ र कुहिएको फोक्सोबाहेक अरू के छ र ! अझै के लिन आउनुहुन्छ यहाँ !

टीबी भएको सुनेर मलाई दुःख लागेन बरु खुसी लाग्यो । मैले सोचेकी थिएँ, कमसेकम यो यातनाबाट छुटकारा त पाइयो । त्यसै दिन ईश्वरको नाउँमा एउटा धूप सल्काएँ, मेरो मन ढुक्क भयो । एउटा दुःखमा अर्को दुःखलाई बिर्सने प्रयत्न गरेँ, तर यहाँ आएर मलाई उत्तिकै कष्ट खप्नु परेको छ । दुई महिना थला परेको बेलाबाहेक ६ महिना मैले नर्कको कीराझैँ उहाँको थुकभित्र लटपटिएर काटेकी छु । त्यो थुक कहिल्यै सुक्तैन, घट्तैन । मेरा हातखुट्टा सबै यसैमा टाँस्सिएका छन् । फेरि न त आँखा उघार्न नै सक्छु म । मेरा परला यही प्याचप्याच परेको थुकमा जमेको छ ।

कहाँ छ स्वर्ग ? त्यही प्याजी जर्मेरामा, अनि नरक यो थुकमा ? कस्तो घिनलाग्दो जीवन ! कहिले त लाग्छ, त्यो प्वाइजन लेखेको सिसी स्वात्तै घाँटीभित्र खन्याइदिऊँ, तर नाइँ, म त्यसो गर्न पनि सक्तिनँ । यो तातो भतभती पोल्ने नर्कमा अझ कति यसैगरी जीवनलाई घिच्याइरहनुपर्ने हो । भन्छन्, ‘टीबीले खाएकाहरू झन् धेरै बाँच्छन् अरे !’

हिजोको एउटा घटना पनि लेखिहालूँ । सम्झन पनि सक्तिनँ, लाज लाग्छ । अहिले औषधि ख्वाउन आउँदा डाक्टरलाई सोझो मुखले हेर्न पनि सकिनँ, किनकि उसलाई पनि सबै कुरा थाहा छ । थाहा किन नहोस् उसलाई, म उसैको हातकी ‘प्राइभेट पेसेन्ट’ । हिजो राति पनि त्यस बेलासम्म उहाँ पलङमा मेरै छेउमा पल्टिरहनुभएको थियो । डाक्टर के कामले हो, झ्वासझ्वास्ती कोठाभित्र पस्यो, फेरि ठाडै खुट्टाले ऊ फर्कियो । एक छिनपछि उहाँलाई डाक्टरको कल आयो, उहाँ हाँस्तै कोठाबाट निस्कनुभयो र फेरि हाँस्तै फर्कनुभयो । ‘सिल्ली डाक्टर’ ! मेरो मुख रन्न तात्यो, मैले उहाँलाई हेरेँ । उहाँको अनुहार निर्विकार थियो । मलाई ज्यादै थकथकी लाग्यो, के गर्नु ? सबै कुरा बुझेर पनि लाज पचाएर बसेँ ।

उहाँ आउनुभयो, उः, मोटरको आवाज हाम्रै क्याडिलकको हो । स्यानेटोरियमजस्तो ठाउँमा लाखौँ मोटर आउँछन्, तैपनि आफ्नो क्याडिलकलाई म राम्ररी चिन्दछु ।

१४ असार
गुलाफ फुलिसकेछ । कति राम्रो दुईओटा मात्र फुलेछ । कहिलेदेखि पर्खेकी मैले यो पहेँलो गुलाफलाई, अझ अरू त फुलेकै छैनन् । यी नफक्रेका कोपिलालाई कति आनन्द छ !  अहिले— एउटा प्रगाढ निद्रा, अनन्त शान्ति ! यी फक्रेका फूल, कठै ! फेरि झुसिल्कीरा लागेछ । मेरो कामै झुसिल्कीरा टिपेर फ्याँक्ने भइसक्यो ।

सानुचा आयो, उः ढोकामा, पाँच वर्षको ख्याउटे केटो । चम्पा यसकी आमा काली भए पनि राताराता गाला भएकी । ऊ यहाँ कुचो लगाउने काम गर्छे । रोगीका कोठाकोठामा डुलेर फोहर बेड–प्यानहरू उठाउँछे । तर, उसको आफ्नै जिन्दगी छ । सानुचा मेरो बिस्कुटमा पल्किएको छ, अहिले ऊ सँघारमा एउटा खुट्टा बाहिर एउटा खुट्टा भित्र हालेर ङिच्च हाँसिरहेछ । त्यसले दाँत देखायो कि म कुरा बुझिहाल्छु, बिचरो ! छिः कहिले त घिन लाग्छ– त्यसको नमाझेको दाँत र नाकमा कटकटिएको सिँगान देख्ता । अहिले पनि बिस्कुट लिन आएको, त्यो । एउटा क्रिमक्य्राकर झिकेर ढोकातिर मिल्काइदिएँ, हत्तपत्त टिपेर खुर्र दौड्यो, बुद्धू केटो ।

हिजो केही लेख्न सकिनँ । राति १ बजे लेख्न बसेकी, मन लागेन । निद्रा पनि परेन । आज पनि के लेखूँ ? खै ! ठूलो चट्टान उखेलिएर छातीमा झुन्डिएको छ । एउटा निर्जीव शताब्दीअघिको फसिल्स्सित जोडिन पुगेकी छु ।

हिजो उहाँले सताउनसम्म सताउनुभयो, मलाई । चीलले मुसालाई झुन्ड्याएझैँ झुन्ड्याएर मलाई माथिमाथि आकाश सबै घुमाउनुभयो । कहिले नसकिने आकाश रहेछ ! यहाँबाट कति तल देखिन्छ, तर जति गयो उत्तिमाथि कहाली लाग्ने पो रहेछ !

अहिले भर्खर फेरि डाक्टर मलाई इन्जेक्सन दिन आयो । इन्जेक्सन दिने ठाउँ थिएन, दुवै पाखुरा सियोले छियाछिया पारेको छ । त्यसैले निर्धक्कसँग फिलो खोलिदिएँ । डाक्टरले हातमा सिरिन्ज लिएर मेरो फिलालाई हेरी मात्रै रह्यो । त्यहाँ चिमोटेका र बोक्सीले चुसेजस्ता निकै नीलानीला डामहरू रहेछन् । मैले डाक्टरलाई भनेँ, “सपनामा मलाई आकाशमा माथिमाथि उडेर घुमेजस्तो लागेको थियो । पछि अकस्मात् जमिनमा पछारिएँ । आकाश त के हुन्थ्यो र निद्रामा पलङबाट पो खसेकी रहिछु ।”

डाक्टरले केही भनेन, चुपचाप त्यही नीलो फिलामा इन्जेक्सन दियो र कस्तो–कस्तो आँखाले मलाई हेरेर गयो ।

अस्तिदेखि मेरो छाती दुख्न थालेको छ । पहिले त अलिअलि मात्रै दुखेको थियो, मैले वास्ता पनि गरिनँ । हिजोदेखि त दुखेको झन्झन् बढ्न थाल्यो । मैले उहाँलाई हिजो पनि कति पन्छाएँ, बोलिनँ पनि । म नबोलेर हुन्छ र ! उहाँ त आफ्नै धुनमा बौलाहाजत्तिकै फतफताइरहनुभयो, सनकीजस्तै हललल हाँसिरहनुभयो । उफ् ! आजित पारिसक्यो यो झुसिल्कीराले मलाई ! हेर न, फूलसितै कसरी लपक्क टाँसिएको ।

हिजो आउँदाआउँदै एक गुच्छा प्याजी फूल मेरो हातमा थमाइदिनुभयो, उहाँले । मैले त्यसै टेबुलमाथि राखेकी थिएँ, त्यो फूलको गुच्छा । उहाँ घर जानुभएपछि त्यसलाई उठाएर हेरेँ । प्याजी फूल धेरैपछि खेलाउन पाएको, त्यसैले हेरिरहेँ, खेलाइरहेँ, एकएकओटा गर्दै गनेँ । मेरो हातमा छ्यास्स झुस लाग्यो । त्यति राम्रो फूल, त्यहाँ पनि एउटा झुसिल्कीरा रहेछ । हातभरि चिलाउने डाबरहरू उठे अनि कताकता उहाँको हलल्ल हाँसो मेरो बिरामी कोठाभरि घन्क्यो । कालो झुसिल्कीराका टिल्ल परेका आँखामा दुईओटा चम्किला आँखाले चियाए । म तर्सिएँ, उहाँले मलाई दुःखै दिन खोज्नुभएको रहेछ । त्यो प्याजी फूल मैले परपर मिल्काउन पठाइदिएँ, नत्र त्यो झुसिल्कीरा फेरि मेरो पहेँलो गुलाफको बोटमा उक्लन्थ्यो ।

ओह ! कस्तो खोकीले च्यापेको मलाई । ल, रगत पनि निक्कै पो आयो ! सेतो थुक त पटक्कै देखिन्न । डाक्टरले ‘यसरी बढ्ता रगत आउनु, खराबी हो’ भनेको थियो । छाती झन् चस्किन पो थाल्यो ! तकियाले थिचे पनि दुख्न छोड्दैन । उहाँ पनि आउने बेला भयो । हिजोको जस्तै एकगुच्छा प्याजी फूल दिएर मेरो छातीमा अझ दुख्ने थपेर जानुहुनेछ ।

चस्कियोस्, यो छाती पनि, कति चस्किनुपर्ने हो । यसैगरी छाती चस्कँदाचस्कँदै, रगत ओकल्दाओकल्दै म सकिन्छु । मलाई उहाँले सक्नै खोज्नुभएको हो । केही छैन, म सकिइसकेकी छु, फेरि सकिनुमा मलाई के चिन्ता ! म सम्पूर्णता चाहन्नँ, थाहा छ, अब म निको हुन्नँ; हुँदै हुन्नँ ।

अहिले फेरि अघिको भन्दा बढ्ता रगत आयो । उहाँ अहिले आउनुहुन्छ । ठट्टैठट्टामा एकै डल्लो पारी मलाई बेसरी निचोरेर जानुहुन्छ । रगत झन् चुहिन्छ ।

झ्यालमा गुलाफको लहरापछाडि त्यो परपरसम्म फैलिएको आँखाले नभेट्टाइसक्नु हरियो फाँट सल्लाघारीसित टम्म मिल्न पुगेको छ । दुवै हरिया एकाकार । फाँटमा को होलान्, ती एक जोडी ? घुम्न आएका हुन् क्यारे ! त्यत्रो फाँट स्वात्तै चहारिसके । टाढाबाट उनीहरू कति राम्रा देखिन्छन् । आइमाईको जुरोमा गुलाफको रातो फूल छ, त्यो लोग्नेमान्छेचाहिँ आइमाईको कुममा हात राखेर हिँडिरहेछ । उनीहरू सल्लाघारीसम्म पुगिसके । लौ, त्यो गुलाफको रातो फूल र कुममाथिको हातलाई सल्लाघारीको बाक्लो छायाले घप्लक्कै ढाक्यो । अब अग्लोहोचो, तरेली परेको रित्तो फाँट मात्रै छ ।

रातो गुलाफ मेरो आँखाभरि तिर्मिराएर आयो । उफ् ! म सहन सक्तिनँ, मेरो मुटु किन यस्तरी हल्लिन थालेको ! यो फलामको पलङ पग्लेर मेरो जीउभरि टाँसिइसक्यो । कस्तो भतभती पोल्ने डाह ! आकाश किन हल्लिन्छ यसरी ! हेर, आम्मै नि ! सूर्य पनि खस्न लागिसक्यो, हल्लेको हेर । ओह ! सूर्य पनि टुक्रिन्छ— अब मेरो टाउकोमा । एकैचोटि आगो खनिन्छ, म डढ्छु, यी पहेँला गुलाफ पनि डढ्छन्, मसित । हेर, झुसिल्कीरा गुलाफको पातमा यति चाँडै कत्रो लाभ्रे भइसकेछ ! मरोस्, यो पनि डढेर । फाल्दै फाल्दिनँ टिपेर अब यसलाई, मरोस् । मेरो छाती चर्क्यो, मुटु हल्लेको कसरी ! भित्रभित्रै भुइँचालो छुटेजस्तो छ । छाती पनि फुट्छ कि क्या हो ! छाती फुटेपछि त रगतको मुस्लो निस्कन्छ, रगत त्यहीँ सल्लाघारीभित्र पसेको रातो गुलाफजस्तै । फुट्न लाग्यो ! मेरो छाती, फुट्न लाग्यो ! अब रगतको छेलोखेलो बग्छ । उहाँ पनि आइपुग्ने बेला भयो, आउनुहुन्छ, मेरो छाती…!

म पनि टोकिदिन्छु, म पनि माया गर्न थाल्छु उहाँलाई । म पनि बिरालो हुन्छु, खस्रो काँढा उम्रेको जिब्रोले चाट्छु, उहाँको कमलो आङभरि । उहाँको गुलाफी आङ गाडेर एकएक चोक्टा मासु झिक्छु र मेरो फोक्सोका जम्मै कीरा त्यसमा भरिदिन्छु । मलाई माया गर्ने त्यो गुलाफी आङ पनि मेरो आङजस्तै कत्ला परेको साह्रो फसिल्स् हुनुपर्छ । उहाँका ती दूध निस्केलान् जस्ता ओठ कति लोभलाग्दा छन्, खै ! मेरो त्यस्तो ! बरु उहाँ आइपुग्ने बेला भयो, तयार भएर बस्नुपर्यो । ती ओठलाई मुखभरि च्यापेर तनतन पिइदिन्छु । त्यसभित्रको आलो रगतमा मेरो कुहिएको रगतजति सप्पै खन्याइदिन्छु । उहाँको मायाको प्रतिदानस्वरूप मेरो पनि उस्तै माया ।

उहाँ मलाई माया गर्नुहुन्छ, त्यसैले म पनि उहाँलाई माया गर्छु । यसरी दिनदिनै मलाई घरदेखि भेट्न आउन उहाँलाई कत्रो मुस्किल पर्छ, त्यसैले उहाँलाई पनि यहीँ यस्तै सेतो पलङमा बाँधेर राख्न पाए कस्तो हुन्थ्यो ! आज त म उहाँलाई छोड्दै छोड्दिनँ । उहाँको फोक्सोमा पनि मेरो फोक्सोको जस्तै प्वाल, सिंगै आकाश अटाउन सक्ने प्वाल । हाम्रो फोक्सोको प्वाल बढ्दै एकै ठाउँमा गएर मिल्छ, हामी ठूलो शून्य बन्छौँ अनि तिनीहरूमाथि दुईओटा कत्लापरेका सारा फसिल्स्हरूले समयलाई गुमाइसकेका हुनेछन् ।

च्वः, मेरो पहेँलो गुलाफ, एउटाएउटा पातमा एउटाएउटा लाभ्रे । सबै फूल खाएर सकिन लागिसके, यी लाभ्रेहरू कति चाँडोचाँडो पातलाई सक्ता रहेछन् । पानी छिट्यायो । उः, आकाश हल्लिरहेछ, खस्नलाई मात्रै बाँकी छ । गुलाफ ! पहेँलो गुलाफ… एकएक पत्र हराउँदै छ…।

(‘विश्व नारी नेपाली कथा’बाट ।)