कलिला बालबालिका किन आत्महत्या गर्न उक्सिदैछन् ? किशोर-किशोरीहरू किन लुकीछिपी लागुऔषधको लतमा फसिरहेका छन् ? दम्पतीहरू किन सम्बन्ध विच्छेद गर्दैछन् ?
यी सबैको एउटै जवाफ हो, उनीहरुको मनोदसा ठीक छैन । के कारणले मनोदसा बिगि्रदैछ त ? यसको पनि एउटै जवाफ छ, आपसी संवाद टुटेको छ । अर्थात एकअर्कासँग कुराकानी, भलाकुसारी गर्ने प्रवृत्ति हराएको छ । आफ्नो समस्या आफैभित्र गुम्स्याएर बसेका छन् । यसैले उनीहरुको मुड खराब छ । मनस्थिती बिथोलिएको छ ।
बालबच्चाहरुसँग खेल्ने साथी छैनन् । बुढापाकाहरुसँग भलाकुसारी गर्ने आफन्त छैनन् । पढ्दै गरेका किशोर, करियरका खोजीमा लागेका युवा, पेशा-व्यवसाय गरिरहेका पुरुष, घरगृहस्थी सम्हालिरहेका गृहणी सबै आ-आफ्नै दौडधूपमा छन् ।
कसलाई के समस्या छ, कसको मनमा के खेलिरहेको छ, को कस्ता अप्ठ्यारासँग जुधिरहेका छन् ? एकअर्कालाई थाहा पत्तो छैन । किनभने आपसमा संवाद गर्ने क्रम टुटेको छ ।
अहिले मोवाइल, टेलिभिजन जस्ता उपकरणले मान्छेको दूरी बढाइदिएको छ ।
एउटै ओछ्यानमा सुतेका दम्पती, एउटै सोफामा बसेका परिवारका सदस्य फेसबुक जस्ता सामाजिक सञ्जालमा यसरी लिप्त हुन्छन्, उनीहरुलाई हामी एकसाथ बसिरहेका छौं भन्ने कुरा पनि महसुष हुँदैन । सबै आ-आफ्नै दुनियामा हराइरहेका हुन्छन् ।
कसैलाई केही समस्या भएमा आपसमा सर-सल्लाह गर्दैनन् । बरु, गुगल सर्च गर्छन् । जबकि गुगलले दिने सबै नतिजा सही र तथ्यपरक हुँदैनन् ।
जस्तो, कसैलाई राम्ररी निद्रा लागिरहेको छैन । राती अचानक निद्रा बिथोलिन्छ । तब उनले आफैसँग सुतेका श्रीमान् वा श्रीमतीलाई आफ्नो समस्या भन्दैनन् । आफ्नो समस्या गुगलमा खोज्न थाल्छन् । गुगलले त्यसको असंख्यौं जवाफ देखाइदिन्छ, जुन आफैमा विश्वसनिय नहुन सक्छ । तर, गुगलको नतिजामा भर परेर उनीहरू आफैमाथि मानसिक बोझ थपिरहेका हुन्छन् ।
जब हामी कुनै कुराले चिन्तित हुन्छौं, तब एक्लै बस्ने । घर वा कोठाबाट बाहिर ननिस्कने । काममा नजाने, जमघटमा नपुग्ने गर्छौं । जति-जति हामी एक्लिदै जान्छौं, उत्तिनै हाम्रो समस्याको जरा गहिरिदै जान्छ । सामान्य चिन्ता वा तनावले एन्जाइटी अनि डिप्रेसनको रुप लिन्छ । यो समस्या अरु बढ्दै जाँदा हामी कडा किसिमको मानसिक समस्याले ग्रसित हुन्छौं । यतिबेला हामी समाज, आफन्त, घरपरिवारबाट एक्लिएर बस्न थाल्छौं । हामीलाई आफ्नै जीवन बोझ लाग्न थाल्छ । आफ्नै जीवन निरर्थक लाग्न थाल्छ । आफ्नै जीवन महत्वहीन लाग्न थाल्छ । हामीमा उत्साह, उमंग, उर्जा रहँदैन । यही मोडमा पुगेपछि हामीलाई लाग्न थाल्छ, बाँचेर केही छैन ।
जब बाँच्नुको उत्साह नै सेलाउन थाल्छ, तब हामी आफैंलाई समाप्त गर्ने यत्न गछौं । गलामा पासो लगाउने, विष सेवन गर्ने, खोलामा हाम फाल्ने जस्ता कृत्य गर्न उक्सन्छौं ।
भनिन्छ, धेरैजसो अवस्थामा महिलाहरू आत्महत्याको लागि प्रयास गरिरहेका हुन्छन् । तर, आत्महत्याको आँकडाले पुरुषको संख्या बढी देखाउँछ । अर्थात आत्महत्याको प्रयास गर्नेमा महिलाहरू बढी भएपनि आत्महत्या नै गर्नेमा पुरुष बढी छन् ।
अझ डरलाग्दो तथ्यांक त के पनि छ भने, बालबच्चाहरू समेत आत्महत्या गर्न उक्सिएका छन् । १८ बर्ष मुनीका आत्महत्या दर कहालिलाग्दो छ ।
मैले के पनि सुनिरहेको थिएँ भने, कोरोना कालमा कोरोना संक्रमणबाट जति मान्छेको मृत्यु भयो सो अवधिमा आत्महत्या गर्नेको संख्या पनि कम थिएन ।
मान्छेले आफ्नो जीवनलाई असाध्यै माया गर्छन् । हरतरहले बाँच्न खोज्छन् । तर, कहिले काहीँ मान्छेको मनस्थिती यसरी बिग्रन्छ कि, आफ्नो प्राण आफैले हत्याउने धृष्टता गर्छन् । कुनैपनि मान्छेले अनायसै वा अचानक आत्महत्या गर्ने निर्णय गर्दैनन् ।
आत्महत्या गर्नुअघि मान्छेले केही संकेत दिन्छन् । जस्तो कि, उनीहरूले ‘मलाई बाँच्न मन छैन’ भनिरहेका हुनसक्छन् । सुत्ने, उठ्ने, खाने तालिका गडबड भइरहेको हुन्छ । एकान्तमा बस्न रुचाउँछन् । तर, परिवारका सदस्यहरूले यस कुराको थाहापत्तो हुँदैन । किनभने सबैजना आ-आफ्नै धुनमा हुन्छन् । आपसमा कुराकानी, छलफल गरिरहेका हुँदो हो त यस्ता संभावित दुर्घटनालाई धेरै हदसम्म टार्न सकिन्छ ।
हामी सबैमा कुनै न कुनै समस्या हुनसक्छ । अतः त्यो समस्यालाई हामीले कसरी लिन्छौं, त्यसबाट हामी भयभित हुन्छौं वा त्यससँग जुध्छौं ? यो कुरा हाम्रो अवस्था, परिवार, छिमेक, साथीभाई आदिमा पनि निर्भर हुने रहेछ । यदि कुनैपनि कुरामा सरसहयोग गर्ने, सकारात्मक सोंच चिन्तन राख्ने, स्वस्थ जीवनयापन गर्नेहरूलाई यस्तो समस्याले खासै असर गर्दैन । उनीहरूले कुनै न कुनै रुपमा समस्याको हल खोज्छन् । र, जीवनलाई सुन्दर ढंगले व्यतित गर्छन् ।
हामी समाजमा विभिन्न खालका समस्यासँग जुधिरहेका हुन्छौं । तर, आफ्नो समस्यालाई, आफ्नो दुःखलाई, आफ्नो अप्ठ्यारोलाई कुन रुपमा लिने ? यो हामी स्वयम्मा भर पर्ने कुरा हो ।
मानसिक रुपमा हामी तगडा, तन्दुरुस्त छौं भने हाम्रो जीवन पनि ठीकठाक हुन्छ । समस्याहरू त आउँछ, जान्छ । परिस्थिती ठूलो कुरो होइन, मनस्थिती सही हुनुपर्छ ।
तर, हाम्रो मनस्थिती ठीक छ त ?
हामी अधिकांश मानसिक रुपमा कमजोर र शिथिल भइरहेका छौं । किनभने हामीकहाँ मानसिक स्वास्थ्यप्रति खास चासो र सरोकार राखिएको छैन । अध्ययनको सिलसिलामा लन्डन पुगेको बेला एउटा चाखलाग्दो कुरा थाहा पाएँ, त्यहाँ मानसिक स्वस्थ्यप्रति सबैलाई जागरुक बनाइने रहेछ ।
हाम्रो समाजमा भने भित्रभित्रै मानसिक समस्याले बिकराल रुप लिइरहेको छ । हरेकजसो मान्छे कुनै न कुनै किसिमको मानसिक समस्याबाट गुजि्ररहेका छन् । चिन्ता, तनाव, एन्जाइटी, डिप्रेसनको चक्रव्यूहमा फँस्दैछन् । किन यस्तो हुँदैछ ? यसको एउटा मात्र जवाफ छैन ।
मान्छे, उमेर, भूगोल अनुसार आ-आफ्नै किसिमको समस्या छ । गृहणीहरू एकनासको दैनिकीबाट दिक्क छन् । घर-व्यवहार चलाउनेहरू आर्थिक असुरक्षाले चिन्तित छन् । बालबच्चाहरू एक्लोपनले सताइएका छन् । किशोरहरू पुस्ता-अन्तरको चपेटामा छन् ।
हाम्रो सोंच चिन्तन, दिनचर्या, खानपान, साथी-संगत, पारिवारिक अवस्था धेरै कुराले मानसिक स्वास्थ्यमा प्रभाव पारिरहेको छ ।
सुन्दा अनौठो लाग्छ, हावापानीले समेत मानसिक स्वास्थ्यमा असर गर्छ । प्राय धुम्म हुने, घाम नलाग्ने ठाउँको मान्छेहरुमा मानसिक समस्या बढी हुन्छ । यसो हुनुमा घामको प्रत्यक्ष सम्पर्कमा नरहनु पनि हो । खासगरी भिटामिन डीको अभावले समेत मानसिक स्वास्थ्य ठीक हुँदैन ।
मानसिक रुपमा स्वस्थ कसरी हुने त ? यसबाट मुक्त हुन कुनै औषधि वा उपचारको जरुरत छ त ? खासमा मानसिक समस्याको समाधान भनेको आफु स्वयम् मानसिक रुपमा तन्दुरुस्त हुनु हो । आफुलाई सकारात्मक राख्ने, उत्साहित र आशावादी राख्ने बानीको विकास गर्नुपर्छ । कुनै चिन्ता वा तनावबाट तुरुन्त मुक्त हुन गहिरो सास लिने, छाड्ने विधी पनि प्रभावकारी हुन्छ । योग, ध्यान, व्यायाम जस्ता विधी मानसिक स्वास्थ्यका लागि सर्वोत्तम मानिन्छ ।
त्यससँगै नियमित दिनचर्या, सुत्ने र उठ्ने नियमित तालिका, सन्तुलित खानपानले मानसिक रुपमा बलियो बनाउँछ । त्यससँगै हामीले अपनाउनुपर्ने पर्ने मूख्य कुरा भनेको, आपसी संवाद हो । श्रीमान र श्रीमती खुलेर कुराकानी गरौं, आमाबुवा र बालबच्चा निर्धक्क कुराकानी गरौं । साथीभाई, सहकर्मी, छिमेकी, आफन्तसँग निस्फिक्री कुराकानी गरौं ।
कुनै कुराले तनाव भएमा कोठाभित्र एक्लै नबसौं । बाहिर हिँडडुल गरौं, साथीभाईसँग भेटौं, गफ गरौं, खेतीपातीको काम गरौं ।हामीले अहिले मानसिक स्वास्थ्यलाई लक्षित गरेर केही अभियान पनि सञ्चालन गरिरहेका छौं । यस अन्र्तगत तपाईंहरू जो कोहीले हामीसँग जोडिएर आफ्नो समस्याको हल खोज्न सक्नुहुन्छ । ‘ह्याप्पी माइन्ड डट हेल्थ’ अन्तर्गत तपाईंहरुको समस्या सुन्ने र त्यसका लागि आवश्यक परामर्श दिन हामी हरदम तयार छौं .