स्वर साम्राज्ञी लता मंगेशकर : अभिनयदेखि गिनिज बुक अफ वर्ल्ड रेकर्डस्सम्म

Spread the love

‘स्वर साम्राज्ञी’, ‘बुलबुले हिन्द’ र ‘कोकिला’जस्ता विभिन्न विशेषण जुन लता मंगेशकरका लागि प्रयोग गरिन्छन्, ती सधैँ अपर्याप्त लाग्छन् । महाराष्ट्रमा एक थिएटर कम्पनी चलाउने आफ्नो जमानाका चर्चित कलाकार दीनानाथ मंगेशकरकी जेठी छोरी लताको जन्म २८ सेप्टेम्बर सन् १९२९ मा इन्दौरमा भएको थियो । उनका पिता पण्डित दिनानाथ मंगेशकर पनि गायक थिए । उनी थिएटर कलाकारका साथै मराठी भाषामा सङ्गीतमय नाटकका निर्माता पनि थिए । लता मंगेशकर आफ्ना पिताका पाँच सन्तानमध्ये सबैभन्दा जेठी थिइन् । पछि लताका भाइ बहिनी पनि उनको अनुसरण गर्दै सङ्गीतको दुनियाँमा कदम राखे र पछि गएर भारतका चर्चित गायक बने ।

मधुबालादेखि माधुरी दीक्षित र काजोलसम्म हिन्दी सिनेमाको स्क्रिनमा सायदै यस्ता कोही सेलिब्रिटी बाँकी छैनन् होला, जसलाई लता मंगेशकरले आफ्नो आवाज उधारो नदिएकी होस् । २० भन्दा बढी भारतीय भाषामा लताले ३० हजारभन्दा बढी गीत गाइन् । सन् १९९१ मै गिनिज बुक अफ वर्ल्ड रेकर्डस्ले उनी संसारभरी सबैभन्दा बढी गीत रेकर्ड गराउने गायिका हुन् भनेर मान्यता दिएको थियो । भजन, गजल, कव्वाली शास्त्रीय सङ्गीत होस् वा साधारण फिल्मका गीत, लताले सबैजसो गीतमा स्वरको जादु चलाइन् ।

ती कठिन दिन
एक अन्तरवार्तामा आफ्नो बाल्यकाल स्मरण गर्दै लता मंगेशकरले उनको परिवारको शास्त्रीय सङ्गीतसँग असाध्यै गहिरो लगाव भएको बताएकी थिइन् । उनका अनुसार उनको घरमा फिल्मी सङ्गीत खासै रुचाइँदैनथ्यो ।
लता मंगेशकरले औपचारिक शिक्षा लिन पाइनन् । एक घरेलु सहयोगीले लतालाई मराठी अक्षरको बोध गराइन् । यस्तै, एक स्थानीय पुरोहितले उनलाई संस्कृतको शिक्षा दिए । घर आउने आफन्त र अध्यापकले उनलाई अन्य विषयबारे पढाएका थिए ।
लता मंगेशकरको परिवारमा त्यतिबेला निकै नराम्रो समय आयो, जब उनका पिता आर्थिक रुपमा टाट पल्टिए । उनले आफ्नो फिल्म र थिएटर कम्पनी बन्द गर्नुपरेको थियो । त्यसपछि उनको परिवार इन्दौरबाट पुना (हाल पुणे) आयो । किनभने महाराष्ट्रको सांगलीस्थित उनको पुर्ख्यौली घर ऋणका कारण लिलाम भएको थियो । आफ्नो पिताको मृत्युपछि लता मंगेशकर आफ्नो परिवारसहित मुम्बई आइन् । त्यतिबेला ‘भारत छोड आन्दोलन’ उत्कर्षमा थियो । सन् १९४२ मा १३ वर्षको उमेरमा लताका पिताको मृत्युपछि उनको काँधमा पुरा परिवारको रेखदेखको जिम्मेवारी आइपर्यो ।

परिवार चलाउन संघर्षशील लताले उस्ताद अमान अली खान र असमानत खानबाट सङ्गीतको शिक्षा लिइन् । उनले सन् १९४२ मा नै एक मराठी फिल्म ‘किती हासिल’ मा गीत गाएर आफ्नो करियरको सुरुवात गरिन् । तर, पछि त्यो गीत फिल्मबाट हटाइएको थियो ।

त्यसको पाँच वर्षपछि भारत स्वतन्त्र भयो र लता मंगेशकरले हिन्दी फिल्ममा गायनको सुरुवात गरिन् । ‘आपकी सेजा मे’ पहिलो फिल्म थियो, जसलाई उनले आफ्नो गायनले सजाइन् तर उनको गीतले खासै चर्चा बटुल्न सकेन ।

लता मंगेशकरले सुरुका बर्षमा निकै संघर्ष गर्नुपर्यो । थुप्रै फिल्म निर्माता र सङ्गीत निर्देशकले उनको आवाज असाध्यै तीखो भएकोले उनलाई गीत गाउन मौका नै दिएनन् । यो सन् १९४० को दशकको कुरा हो, त्यतिबेला फिल्ममा गीतको सम्भावना खासै धेरै थिएन । त्यसपछि लता मंगेशकरले परिवार चलाउनका लागि अभिनय गर्न सुरु गरिन् ।

फिल्ममा अभिनय 

लता मंगेशकरले कुल आठ मराठी र हिन्दी फिल्ममा अभिनय गरिन् । सन् १९४३ मा रिलिज भएको मराठी फिल्म गजभाऊको गीतमा उनले स्वर पनि दिएकी थिइन् । फिल्ममा उनको यो पहिलो गीत थियो । सन् १९४७ को सुरुवातमा नै लता मंगेशकरले अभिनय गरेर हरेक महिना करिब २ सय भारु कमाउन थालेकी थिइन् ।

उनले नसरीन मुन्नी कबिरलाई एक अन्तरवार्तामा आफ्नो फिल्मी अभिनयका दिन स्मरण गर्दै भनेकी थिइन्, ‘मलाई अभिनय गर्न खासै मनपरेन । मेकअप गरेर, लाइट, मानिसले तपाईंलाई निर्देशन दिएर यो डाइलग भन, यस्तो गर भन्दा मलाई असाध्यै असहज महसुस हुन्थ्यो ।’

एकपटक फिल्मका निर्देशकले उनलाई आफ्नो आँखीभौँ मिलाउन भन्दा लतालाई ठूलै झट्का लागेको थियो । निर्देशकले उनको आँखीभौँ असाध्यै मोटो भएकोले यो मिलाउन भनेका थिए । ईच्छा विपरित लताले निर्देशकको कुरा मान्नुपरेको थियो ।

सन् १९४९ः भाग्यमानी वर्ष

लताको चर्चा पहिलो पटक सन् १९४९ मा चम्कियो । उनले त्यसपछि पछाडि फर्केर हेर्नुपरेन । यसै बर्ष चार फिल्म रिलिज भए बरसात, दुलारी, महल र अन्दाज । ‘महल’ मा उनले गाएको गीत ‘आएगा आजे वाला आएगा’ पछि हिन्दी फिल्म इन्डष्ट्रीले अनुमान गर्यो कि यो नयाँ आवाज निकै टाढासम्म जानेछ । यो त्यो जमाना थियो, जब हिन्दी फिल्म सङ्गीतमा शमशाद बेगम, नुरजहाँ र जोहराबाई अंबालेवालीजस्ता सुरिलो आवाज भएका गायिकाको बर्चस्व थियो ।

फिल्म महलमा उनको गीतलाई चर्चित सङ्गीतकारले याद गरे र उनले गायनमा मौका पाउन थालिन् । त्यसपछि चार दशकसम्म लता मंगेशकरले हिन्दी फिल्ममा ‘राज’ गाइन् । पाकिजा, मजबुर, आवारा, मुगल–ए–आजम, श्री ४२०, अराधना र दिलवाले दुल्हनिया ले जाएंगेजस्ता रोमान्टिक फिल्ममा पनि उनले गीत गाइन् ।

जब लता मंगेशकरले सन् १९६२ मा चीनसँग भएको युद्धमा सहिद भएका भारतीय सैनिकको सम्मानमा ‘ए मेरे वतनका लोगों’ नामको गीत गाएकी थिइन्, तब भारतका पहिलो प्रधानमन्त्री पण्डित जवाहर लाल नेहरुको आँखा रसाएको थियो ।

पार्श्व गायनमा पुरुषलाई टक्कर

लता मंगेशकरले मोहम्मद रफीदेखि किशोर कुमारसम्म आफ्नो समयका सबै प्रमुख बलिउड गायकसँग गीत गाएकी थिइन् । उनले राज कपुरदेखि गुरुदत्त र मणिरत्नमदेखि लिएर करण जोहरसम्म चर्चित फिल्म निर्देशकसँग काम गरेकी थिइन् । लता यस्ती गायिका थिइन्, जसले पार्श्व गायनमा पुरुषलाई चुनौती दिइन् । उनले मोहम्मद रफी जस्ता आफूभन्दा धेरै गीत गाएका गायकभन्दा बढी रोयल्टी र पारिश्रमिक पाइन् ।

एकपटक लताले भनेकी थिइन्, ‘म आज जे जस्तो छ,ु आफ्नो मिहिनेतका कारण छु । मैले आफ्नो अधिकारका लागि लड्न सिकेकी छु । मलाई कसैसँग पनि डर लाग्दैन । म असाध्यै साहसी छु । तर आज मैले जे जति पाएँ, त्यो पाउँछु भनेर कहिल्यै सोचेकी थिइनँ ।’

बलिउडका चर्चित लेखक सायर जावेद अख्तरले लता मंगेशकरको सुरिलो आवाजको तारिफ गर्दै भने, ‘उनको आवाज त मोतीजस्तो पाक र क्रिस्टलजस्तो साफ थियो ।’

एकपटक जब लतालाई बलिउडमा उनको कुन गीत लोकप्रिय थियो भनेर प्रश्न सोध्दा उनले भनेकी थिइन्, ‘मोहब्बत के नग्मे बढी लोकप्रिय रह्यो । नायिकाहरु भागिरहेका छन् र नायकहरु उनीहरुको पिछा गरिरहेका छन् ।’

कार, कुकुर र क्रिकेटको शोख

लता मंगेशकर संसारका चर्चित सङ्गीतकार, मोजार्ट, बिथोवन, शोपिन, न्याट किंग कोल, बिटल्स, बारबरा स्ट्रिस्यान्ड र हेरी बेलाफोटका गीत सुन्न रुचाउँथिन् । एकपटक उनी जर्मन मूलकी अमेरिकी अभिनेत्री मार्लिन डिट्रिखलाई स्टेजमा अभिनय गरेको हेर्न विदेशसम्म पुगेकी थिइन् । उनलाई स्वीडेनकी अभिनेत्री इनग्रिड बर्गम्यानको नाटक हेर्न असाध्यै मनपर्दथ्यो ।

लतालाई फिल्म हेर्न पनि राम्रो लाग्थ्यो । उनको सबैभन्दा रुचाइएको हलिउड फिल्म द किङ एण्ड आइ थियो । यो फिल्म कम्तीमा १५ पटक हेरेको उनले बताएकी थिइन् । उनलाई मनपर्ने अर्को हलिउड फिल्म थियो सिङ्गिङ इन द रेन ।

लतालाई कारको असाध्यै शौख थियो । जीवनको भिन्न भिन्न मौकामा उनले खैरो रङको हिलम्यान र नीलो रङको शेवर्ले कार आफूसँग राखेकी थिइन् । यसबाहेक उनीसँग क्राइसलर र मर्सिडिज कार पनि थियो । उनलाई क्रिकेटको पनि असाध्यै ठूलो शोख थियो । उनी प्रायः रेकर्डिङबाट ब्रेक लिएर टेस्ट म्याच हेर्ने गर्थिन् । कुकुरको पनि शौखिन लताले घरमा ९ वटा कुकुर पालेकी थिइन् ।

खाना पकाउने र फोटोग्राफी उनको रुचिको अर्को विषय थियो । सुरुमा उनीसँग रोलिफलेक्स क्यामरा थियो । छुट्टीमा जब उनी अमेरिका जान्थिन्, उनी रातभरी स्लट मेसिनमा खेल्ने गर्थिन् ।

अल्बर्ट हलमा रेन अर्केस्ट्रासँग गीत

लता मंगेशकरलाई खाली समयमा शास्त्रीय सङ्गीतकार पण्डित रविशंकरको स्टुडियोमा देख्न सकिन्थ्यो । एकपटक त्यहाँ उनको भेट पण्डित रविशंकरका साथी जर्ज ह्यारिसनसँग भयो, जो इंगल्याण्डका चर्चित पप ग्रुप बिटल्सका गितारवादक थिए ।

सन् १९७९ मा लता मंगेशकरले ब्रिटेनको विश्वचर्चित रोयल अल्बर्ट हलमा रेन अर्केस्ट्रासँग गीत गाउने मौका पाइन् । यस्तो अवसर पाउने उनी पहिलो भारतीय थिइन् । लताले एकपटक भनेकी थिइन्, ‘म सधैँ यो मान्दै आएकी छु कि खुसी संसारसँग बाँड्नु पर्छ, जबकि दुःख सधैं एक्लै सहनुपर्छ ।