गर्मीको मौसमसँगै छालाका विभिन्न समस्याहरू देखिने गर्दछन् । तीमध्ये पिलो पनि एक हो । पिलो एक किसिमको छालाको सङ्क्रमण हो जुन खटिराको रूपमा लिइन्छ ।यो असाध्यै दुख्ने र अप्ठ्यारो पार्ने खालको हुन्छ । हुन त छालाको रोग खटिराहरूलाई सामान्य रूपमा लिइन्छ तर पिलो छालाको रोगहरूमध्ये पनि असाध्यै अप्ठ्यारो हुने हुनाले यसको सामाजिक रूपमा चर्चा भएको पाइन्छ ।पिलो जसलाई आएको छ उसलाई असाध्यै दुख्ने भए पनि पिलोलाई कहिलेकाहीँ ठट्टाको रूपमा पनि हेरिन्छ ।
किनभने पहिलो कुरा त यो निक्कै अप्ठ्यारो ठाउँमा आउँछ ।जस्तो कसैको नाकैमा, कसैको ढाडमा, कसैको घाँटीको पछिल्लो भागमा, कसैको काखीमा त कसैको गुप्ताङ्ग वा सोको वरिपरि पिलो आएको पाइन्छ । सामान्यतया पिलो हेर्दाखेरि डरलाग्दो, पीप भरिएको, रातो, तातो, ठूलो हुने गर्दछ ।यसैले यसलाई निचोर्दा रगत र पीप लतपल भई आउने गर्दछ । यसको उपचार विधिको बारेमा जानौं पिलो के हो ? हाम्रो छालामा भएका रौंको जरा वा तेल ग्रन्थीमा ब्याक्टेरियाले गर्ने सङ्क्रमणका कारण पिलो आउने गर्दछ । यो हेर्दाखेरि ठूलो खटिराजस्तो हुन्छ ।
खटिराको मध्यभागमा मुख हुन्छ । त्यसको वरिपरि पीप जमेको देख्न सकिन्छ । यो रातो, तातो र असाध्यै दुख्ने हुन्छ ।कुनै(कुनै पिलोमा एकभन्दा बढी मुख हुन्छन् । त्यसको कारण एकभन्दा बढी रौंका जराहरू वा तेलग्रन्थीहरूमा सङ्क्रमण हुनु हो । विशेषगरी पुरुषहरूमा धेरैवटा मुख भएको पिलो आएको पाइन्छ । पिलो साधारणतया किशोर(किशोरीहरू तथा बयस्कहरूमा आएको पाइन्छ ।बालबालिकाहरूमा पिलो आएको त्यति सुनिँदैन । कसैकसैलाई बारम्बार पनि पिलो आउने गर्दछ ।किन आउँछ पिलो ?पिलो यही कारणले आउँछ भनी ठ्याक्कै भन्न सकिँदैन ।
सामान्यतया मानिसहरूलाई सरसफाइमा ध्यान दिन नसकेको, कामको धपेडी धेरै भएको र खानपानमा ध्यान दिन नसकेको अवस्थामा पिलो आउने गर्दछ । तर, यससँग सम्बन्धित केही कुराहरूलाई याद गर्नुपर्छ ।कहिलेकाहीँ केमिकलयुक्त पदार्थहरू जस्तो कस्मेटिकहरू आदिको कारणले गर्दा पनि पिलो आउन सक्दछ । साथै मधुमेह भएका बिरामीहरूलाई पनि पिलो आउने सम्भावना धेरै हुन्छ । त्यतिमात्र होइन शरीरको रोग प्रतिरोधात्मक क्षमता कम हुने अवस्थाहरू जस्तै एड्स, क्यान्सरजस्ता रोगहरू र स्टेरोइड भएका औषधिको प्रयोग भइरहेको अवस्थामा पनि पिलो आउन सक्छ ।
जथाभावी पिलो निचोर्नु हुँदैन । पिलोलाई तातोपानीले सेकाउँदा यो छिटो पाक्छ र पीप निस्किन्छ । पानीले सेकाउनका लागि तातो पानीमा नरम तथा सफा सिरकको खोलजस्तो कपडा चोपेर, निचोरेर पिलो आएको ठाँउमा सहन सक्ने तापक्रममा सेकाउनुपर्छ । यो प्रक्रिया दिनमा सात(आठपटकसम्म गर्नुपर्छ । यसरी प्रयोग गरेका कपडाहरूलाई राम्ररी धोएर घाममा सुकाउनुपर्छ ।पिलो राम्ररी पाकेपछि आफैं पीप बग्दछ । पिलोलाई जबर्जस्ती निचोर्दा यसवरिपरिको छालामा चोट पुग्न गई सङ्क्रमण, शरीरको अन्य भागमा सर्ने तथा रगतमा जाने खतरा हुन सक्दछ ।नाक तथा मुखवरिपरिको पिलो त अझ कहिले पनि निचोर्नुहुँदैन । यस ठाउँमा आएका पिलोबाट सङ्क्रमण सरेर मस्तिष्कमा समेत सङ्क्रमण हुने खतरा हुन्छ । पीप बगेको खण्डमा सफा कपडाले सोसेर लिनुपर्छ ।
पिलो आउँदा साबुन लगाएर नुहाउनुहुन्छ । अझ किटाणुनाशक औषधि भएका साबुनले नुहाउँदा राम्रो हुन्छ । पिलोमा जथाभावी झारपात जडीबुटीहरू राख्नुहुँदैन ।बिरामीको साबुन, रुमाल, लुगा, ओछ्यान कपडा, कस्मेटिक सामानहरू अरूहरूले चलाउनु हुँदैन । खानेकुरामा भिटामिन एयुक्त खानेकुराहरू जस्तै मेवा, फर्सी, सागपातजस्ता खानेकुराहरू प्रशस्त खानुपर्छ ।चिल्लो तथा मसलादार खानेकुराहरू कम खानुपर्छ । एजेन्सीहरुको सहयोगमा