काठमाडौं। प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ। एमसीसी सम्झौतामाथि छलफल प्रक्रिया सुरू गर्ने गरी बिहीबार बोलाइएको बैठक सरकारको आग्रहमा आज दिउँसोका लागि सारिएको हो। सत्तारुढ घटकहरुले एमसीसी पारित गर्न सहयोग नगर्ने भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले अन्तिम घडीमा बैठक स्थगित गर्न आग्रह गरेका थिए।
आज पनि एमसीसीमाथि छलफल र मतदानको प्रक्रिया अघि बढ्ने अवस्थामा मात्रै संसद बैठक बस्ने बताइएको छ।आजको सम्भावित कार्यसूचीमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अनुदान सहायता सम्झौतामाथि सामान्य छलफल हुने उल्लेख छ।
उक्त प्रस्ताव संसद् बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ। संघीय संसद्का महासचिव डा. भरतराज गौतमले शुक्रबारको बैठकको सम्भावित कार्यसूची बिहीबारै सार्वजनिक गरेका हुन्।
कार्यसूचीको पहिलो नम्बरमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने उल्लेख छ भने दोस्रो नम्बरमा एमसीसी प्रस्ताव छलफलका लागि पेश हुने उल्लेख छ ।