महोत्तरी, १६ फागुनः मिथिला अहिले महाशिवरात्रि पर्वको उल्लासमा छ । यहाँका शिवालयमा भक्तजनको चहलपहल ह्वात्तै बढेको छ । शिवालय सरसफाइ र महाशिवरात्रिको मङ्गल कामनासहित सोमबार शोभा कलशयात्रा आयोजना गरिएका छन् । महाशिवरात्रिको समापनसँगै मिथिलाको महाकुम्भ भनिने मिथिला माध्यमिकी परिक्रमाको तयारी थालिएको देखिँदो छ ।
जलेश्वरस्थित जलेश्वरनाथ, भङ्गाहा–५ स्थित सिद्धनाथ, सोनमाको मगरथानास्थित मङ्गलनाथ र बर्दिबास–५ टुटेश्वरस्थित टुटेश्वरनाथ महादेव मन्दिर वरिपरि बृहत् सरसफाइ कार्यक्रम आयोजना गरिएका छन् । शिवालयमा आज एक हजार आठ कन्याले पवित्र नदीबाट नयाँ माटोका घडामा भरेर ल्याएका जलसेचन गर्नेछन् । सामान्यतया तीन दिन उत्सवमय मनाइने महाशिवरात्रि पर्वमा धार्मिक मेला आयोजना गरिएका छन् । जताततै शिव महिमाका भजन गुञ्जिएका छन् ।
महाशिवरात्रि पर्व सम्पन्न गरिएलगत्तै मिथिलामा १५ दिने माध्यमिकी परिक्रमा प्रारम्भ गरिन्छ । फागुन औँसीका दिन धनुषाको ठेराकचुरीस्थित श्री रामजानकी मठबाट अवधविहारी (श्रीराम) को प्रतिमा राखिएको डोला बोकेर निस्कने साधुसन्त र श्रद्धालु भक्तजनको भीडमा जनकपुरधामस्थित अग्निकुण्ड मठबाट किशोरीजी (सीताजी) को प्रतिमा राखिएको डोलाअघि लगाइन्छ । यो यात्रामा बाजागाजासाथ श्री जानकी मन्दिर, राम मन्दिर, जनक मन्दिर र जनकपुरस्थित पवित्र तलाउहरु गङ्गासागर र धनुषसागरको प्रदिक्षण गर्दै धनुषाकै हनुमानगढीमा रात्रिबास गरिन्छ । यो बाससँगै मिथिला माध्यमिकी परिक्रमा फागुन शुक्लपक्षभरि प्राचीन मिथिलाका विभिन्न तीर्थस्थलको परिक्रमा गरेर जनकपुर नै पुगेर टुङ्ग्याइन्छ ।
मिथिला माध्यमिकी परिक्रमामा महोत्तरीको मटिहानीमा चौथो दिन यात्रीटोली पुग्ने परम्परा छ । यसअनुसार पाँचौँ दिन जलेश्वर, छैटौँ दिन मडै, सातौँ दिन ध्रुवकुण्ड र आठौँ दिन कञ्चनवनको बाससँगै महोत्तरीको यात्रा पूरा हुन्छ । त्यसैगरी धनुषामा प्रारम्भको पहिलो दिन हनुमानगढी, नवौँ दिन पर्वता, १० औँ दिन धनुषाधाम, ११ औँ दिन सतोखर, १२ औँ दिन औरही र अन्तिम १५ औँ दिन जनकपुरको रङ्गशाला मैदानमा गरी छ रात्रिबासको परम्परा छ । जम्मा १३३ किलोमिटर वृत्तमा परिक्रमा गरिने यो धार्मिक यात्रामा मित्रराष्ट्र भारतको मधुवनी जिल्लामा चार रात्रिबास गरिन्छ । दोस्रो दिन कल्याणेश्वर (कलना), तेस्रो दिन फूलहर (गिरिजास्थान), १३ दिन करुणा र १४ औँ दिन विसौल रात्रिबासको परम्परा छ । यस यात्रामा २६ किमी दूरी भारतमा र बाँकी नेपालका महोत्तरी र धनुषा जिल्लामा पर्दछन् । मधेश प्रदेशसभाले गत माघ ३ गते प्रदेशको राजधानी जनकपुरधाम तोक्दा नेपालतर्फका परिक्रमाभित्रका भूभाग समेटेर परिभाषित गरेको छ । यसले माध्यमिकी परिक्रमाको महत्व उजागर गरेको मिथिला क्षेत्रका प्रसिद्ध साहित्यकार डा राजेन्द्रप्रसाद विमल बताउनुहुन्छ ।
मिथिलाको हिन्दू परम्परामा भगवान् शिव र विष्णु लक्ष्मीका अवतार मानिने श्रीराम र सीता समानरुपले पूज्य छन् । महाशिवरात्रि पर्वमा रामसीताका मन्दिरमा माङ्गलिक उत्सव मनाइन्छ । त्यसैगरी त्रेता युगमा विवाहपश्चात् राम
जानकीले विहार गर्दै मिथिला परिक्रमा गरेका सम्झनामा आयोजना हुँदै आएको मिथिला माध्यमिकी परिक्रमाका चार सुरमा प्रसिद्ध शिवालय छन् । यात्रीले यी शिवालयको प्रदक्षिणा गर्ने परम्परा छ । पूर्वमा कल्याणेश्वर, पश्चिममा जलेश्वरनाथ, उत्तरमा क्षीरेश्वरनाथ र दक्षिणमा सतोखरनाथ यस क्रममा प्रदक्षिणा गरिने शिवालय हुन् ।
शिवले आफ्ना इष्टदेवमा भगवान् रामको र श्रीरामले शिवको आराधना गरेका प्रसङ्ग रामायण र शिवपुराणमा भेटिनुले हिन्दू परम्परामा यी दुवै देवको समान पूजाआराधना परम्परा चलेको मटिहानीस्थित लक्ष्मीनारायण मठका सन्त रवीन्द्रदास वैष्णव बताउनुहुन्छ । अहिले महाशिवरात्रि पर्वको तयारीमा रहेका मैथिललगत्तै सुरु हुने मिथिला माध्यमिकी परिक्रमाका यात्रीको स्वागतका लागि पूर्वतयारी गर्दैछन् । मिथिला माध्यमिकी परिक्रमाका यात्रीलाई रात्रीबासमा स्थानीयले बासस्थान, भोजन, पानी, प्राथमिक स्वास्थ्योपचारको प्रबन्ध गर्ने चलन छ । यसबाहेक बाटोमा पर्ने बस्तीमा यात्रीको पाउ पखाल्ने, शीतल जल सर्वतले स्वागत गर्नेको लामो लाम देखिन्छ ।
मिथिलामा महाशिवरात्रि र माध्यमिकी परिक्रमा आपसी द्वेष हटाउन, मानवीय सेवामा लाग्न उत्प्रेरित गर्ने पर्व मानिन्छन् । परिक्रमा समापनसँगै उल्लासको पर्व फागु मनाइने हुँदा यी पर्व मन रमाउनकै लागि पनि मैथिलको पर्खाइमा पर्ने गरेका छन् । (रासस)