पूँजीवादले के विश्वलाई समृद्ध बनाउन सक्यो या सकिने ? के लाग्छ ? थाहा पाउँन पढ्नुहोस्

Spread the love

सुरुवातमा पूँजीवादले विश्वमा समृद्धि ल्याउने दाबी गरेको थियो। प्रत्येकलाई खाना, आवास र शिक्षा लगायत आधारभूत आवश्यकता पूर्ति गर्ने दाबी गरेको पूँजीवादले के यो वाचा पूरा गरेको छ? यो प्रश्न त्यतिबेला उठ्छ, जब कोभिडकालमा लाखौँ कामदारहरू भारतका सडकमा भोकभोकै दौडिन थाले र जब अमेरिकामा कालाहरूले भेदभाव महशुस गर्न थाले। विश्वका हरेक क्षेत्रमा सिमान्तकृत समुदाय छन् र महामारीमा त्यो समुदाय सबैभन्दा बढी प्रभावित भयो। त्यसैले अब फेरि एकपटक प्रश्न उठेको छः के पूँजीवादले विश्वलाई समृद्ध बनायो?

यस प्रश्नको उत्तर खोज्नका लागि पूँजीवादको ५०० वर्ष लामो इतिहासको समीक्षा गर्नुपर्छ। जुन १५ औं शताव्दीको मध्येदेखिको एटलान्टिक दास व्यापारबाट सुरु भएको थियो। युरोप एउटा सानो महादेश हो। एशियाको तुलनामा युरोपमा स्रोत साधन पनि कम थियो। त्ससबेला चीन र भारतले विश्व जीडीपीको ५५ प्रतिशत हिस्सा आफ्नो हातमा लिएका थिए। चीनमा महत्वपूर्ण प्रविधिको विकास भइरहेको थियो। चीनमा कम्पास अर्थात् दिशासूचक यन्त्र, बारुद र कागज लगायतका वस्तुको आविस्कार भइसकेको थियो। उता युरोपियनहरू भने विश्वभर भ्रमणमा निस्कन्थे। अन्ततः ‘फादर अफ क्यापिटलिज्म्’ पनि युरोप नै बन्न पुग्यो।

कसरी भयो सुरुवात ?

पूँजीवाद एउटा यस्तो पद्धति हो, जुन बढी मुनाफाको उद्देश्यबाट प्रेरित हुन्छ। यदि हामी मुनाफामा केन्द्रित हुन्छौँ भने यो बुझौँ कि पूँजीवाद अस्तित्वमा आयो। बजार त पूँजीवाद आउनु अघि पनि थियो। पहिले पनि व्यापारीहरू थिए र आर्थिक गतिविधि पनि हुन्थ्यो। तर पहिले मुनाफामा बढी जोड दिइँदैन थियो। जबदेखि मुनाफामा बल दिइन थालियो, तबदेखि विश्वमा पूँजीवादको आगमन भयो।

पूँजीवादमा कहिल्यै पनि वस्तुको गुणस्तरबाट वस्तुको मूल्यांकन हुँदैन। बरु वस्तुको बजार मूल्यबाट नै यसको मूल्यांकन हुन्छ। कुनैपनि वस्तुको आन्तरिक गुण के छ भन्नेमा पूँजीवादलाई मतलव हुँदैन। पूँजीवादलाई वस्तुको बजार मूल्यसँग मात्र मतलव हुन्छ।
झट्ट हेर्दा पूँजीवाद आर्थिक प्रणाली मात्रै जस्तो लाग्छ। तर यो एउटा आर्थिक पद्धति मात्रै नभएर यसले राजनीतिक पद्धतिलाई पनि रेखांकित गर्छ। यसको झुकाव एक खास प्रकारको राजनीतिक संरचनामा हुन्छ। साथै, यसको खास झुकाव एक प्रकारको सामाजिक सम्बन्ध वा संरचनामा पनि हुन्छ। पूँजीवादले आफ्नो हितका लागि एक खास राजनीतिक संरचना र खास प्रकारको सामाजिक सम्बन्धमा बल दिन्छ।