ओलीको घमण्डलाई चुनावमा जनताले जवाफ दिन्छन् : मन्त्री आले

Spread the love

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेले एमाले अध्यक्ष केपी शर्मा ओलीकै घमण्डका कारण बामपन्थीहरुको दुई तिहाई नजिकको संघीय सरकार ढलेको बताएका छन्।

गौरीशंकर मिडिया प्रालिले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री आलेले स्थानीय तह निर्वाचनमा ६० प्रतिशत जित हासिल गर्ने घमण्ड नगर्न एमाले अध्यक्ष ओलीलाई चेतावनी दिए।

स्थानीय तह निर्वाचनमा पनि ६० प्रतिशत जित हासिल गर्ने ओलीको घमण्डलाई नेपाली जनताले जवाफ दिने बताए।उनले भने, ‘आज कोही व्यक्तिको अहंकारले गर्दा संघको सरकार पनि गयो। प्रदेशको सरकार पनि गयो।अझै त्यो व्यक्तिले अव आउने बैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा ६० प्रतिशत गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकामा जित्छु भन्ने जुन घमण्ड गरेको छ।

त्यो घमण्ड मलाई कस्तो लाग्छ भने महाभारतको दुर्योधन र हाम्रो नेपालको राजनेता भनाउँदो केपी ओली दुईटैलाई दाज्यौ भने अहंकारमा कुनै कमी छैन। तपाईहरु मूल्यांकन गर्नुहोस्। जनताले आगामी बैशाख ३० गते जवाफ दिनेवाला छन्।’

ओली नेतृत्वकै सरकारले नारायणहिटी संग्राहलय र पशुपतिमा रहेको धर्मशाला कौडीको मूल्यमा बिचौलियालाई बुझाएको दावी गरे।