✍️ आबेश कुमार श्रेष्ठ
भित्ता हेर्छु टोलाउँछु । अनि स्तब्ध हुन्छु । अस्थिर सपनाहरुको कोलाहलमा रुमलिन्छु । अनि झस्किन्छु । रहरको भारी बोकेर शिथिलता महसुस गर्छु । अनि सम्झिन्छु सर्टिफिकेटहरु । जुन सर्टिफिकेटहरुले मेरो क्षमता र सिर्जनालाई मापन गर्छन् । र, आज यसको कुनै मूल्य छैनन् किनकि यो सर्टिफिकेटहरु एउटा कागज मात्रै देख्छु । निरर्थक कागज ।
मनमा तुवाँलो मडालिरहेको छ । सोच्छु – देशको बारेमा, परिवारको बारेमा र आफ्नै बारेमा । अनि मेरा सपना र रहरहरु आफैं निर्वाण हुन्छन् । म आफैंले आफैंले समाजमा निर्बाङ् भएको महसुस गर्छु । आफैंले आफैंको निर्भर्त्सन गर्छु ।
आज म आफैंले आफैंले पढ्न नसक्ने भएको छु । म मा पहिलेको जस्तो प्रज्ञातपन छैन । म मा जिन्दगी प्रति कुनै द्वेष छैन न नै अब कुनै स्पर्धा बाँकी छ । म आफैंभित्र सारहीन छु । म मा अब बाँकी कुनै सुष्ठु कुराहरु छैनन् ।
बेलाबेला आफैलाई आफैं ढाड्स दिन्छु । तर त्यो ढाड्स सेती नदि झैँ हराउँछ । र, म कयैन निरर्थक कुरालाई मनमा सजाएर राख्छु । मानौं ती कुरा मेरो निम्ति बहुमुल्य गहना हुन् ।
मनको पर्खाल यसै निम्सरो छ । यसको कौमार्य तोड्न बेलाबेला आफन्तहरु आउँछन् । बेलाबेला साथीभाईहरु आउँछन् । अनि बेलाबेला मेरो विचारहरु आउँछन् । र, कौमार्य यसरी तोड्छन् त्यसको असह्य पीडा म आफैंले मात्रै महसुस गर्छु ।
नेपालको परिस्थिति सोच्छु लोकतान्त्रिक गणतन्त्र, मार्क्सवाद आखिर जे भएपनि जताततै सामन्तवाद देख्छु । राजनैतिक पहुँज र पैसामा बिग्री भएको देश देख्छु अनि आफैंले आफ्नो कुण्ठा गर्छु – आखिर कस्तो देशमा जन्मेछु ?
शरीर तटस्थ छ तर मन चञ्चल हुन्छ । लाग्छ शरीर एउटाको र मनको अर्कोको छ । मनले भनेको शरीरले मान्दैन । शरीरले भनेको मनले । ठ्याक्कै हाम्रो देशको नेता जस्तो । अनि म आफैंसँग भ्रष्टाचारी भैदिन्छु ।
हिँड्दा हिँड्दै रोकिन्छु । अनि सोच्छु – ती स्कुलका दिनहरु । आफू भन्दा भारी ती झोलाहरु । ती झोलाभित्र भएका पुस्तकहरु । ती पुस्तकभित्र लेखिएका आदर्शका कुराहरु । अध्ययनमा आदर्श मीठो हुनेरहेछ । तर जिन्दगीको नितान्त भोगाइमा आदर्श तितो हुने रहेछ । आदर्शले मात्रै जिन्दगी नचल्ने रहेछ । जिन्दगी चल्न पैसा कमाउँनु पर्ने रहेछ ।
भौतारिन्छु जागिर खोज्न । अनि बीच बाटैमा रोकिन्छु । राजनैतिक पहुँज नभएको कारण र आफ्नै मान्छे ठाउँमा नभएको कारणले मेरो क्षमता माथी नै प्रश्न ठड्याउँछन् । अनि म अत्तालिन्छु । र, खोज्छु व्यवसाय गर्न । तर माफियातन्त्र र पैसाको अभावमा त्यो व्यवसायले कहिल्यै जन्म लिन पाउँदैन । अनि सम्झिन्छु २०५२ अघिको माओवादीको योजना । म पुनः स्तब्ध हुन्छु कम्युनिस्ट नेता देखेर ।
अनि लोकसेवा नै विकल्प देख्छु । सय माग्दा एक लाखको परिक्षार्थी देख्छु । अनि भयभीत हुन्छु । र, त्यहाँबाट पनि बामगठबन्धनबाट मुख मोडे झैँ मोड्छु ।
जबजब देख्छु गरिब माथी शोषण अनि मानवता हराएको भेट्छु । जबजब नेताको सुविधासम्पन्न घर देख्छु अनि महसुस गर्छु गणतन्त्र । गणतन्त्रभित्रको लुटतन्त्र । त्यही लुटतन्त्रले ओझेल पारेका हामी साधारण युवा । अवसरबाट वञ्चित हामी युवा ।
अन्त्यमा म थाक्छु अनि सम्झिन्छु परिचयपत्र र हरियो पुस्तक । त्यही हरियो पुस्तकमा साटिएको खुसी भेट्छु । अस्टे्रलिया, अमेरिका र क्यानडामा भविष्य देख्छु । अनि आफैंले आफैंलाई स्खलित महसुस गर्छु । र, नेपालमा जन्मेकोमा आत्मग्लानी गर्छु !!