काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेकपा एमालेसँग एकता गर्ने घोषणा गरेका छन् तर एउटा शर्तमा । नेता खनालले एमाले अध्यक्ष केपी शर्मा ओलीले अध्यक्षबाट राजीनामा दिएपछि मात्रै एकता गर्ने घोषणा गरेका हुन् ।
दाङमा जिल्ला स्तरीय कार्यकर्ता प्रशिक्षणमा बोल्दै उनले स्थानीय तह निर्वाचनमा एमाले पराजित भएपछि ओलीले राजीनामा दिने र त्यसपछि मात्रै एकता हुने बताए ।
उनले भने, ‘स्थानीय तहको चुनावमा चारैतिरबाट हारेपछि एमाले अध्यक्ष ओलीले राजीनामा दिन्छन् र ओलीले राजीनामा दिएपछि एमालेसहितका वामपन्थी दलबिच पार्टी एकता हुन्छ ।’
स्थानीय निर्वाचनमा एमालेलाई देशभरिबाटै बढार्नुपर्ने उल्लेख गर्दै खनालले संविधान च्यात्ने र संसद् विघटन गर्ने केपी ओली र उनको समूहलाई स्थानीय चुनावको बाकस खालि गराएर जनताले सजाय दिनुपर्छ भने । उनले एमालेलाई औपचारिक र अनौपचारिक रूपमा दक्षिणपन्थीहरूसँग मिलेर साँठगाँठ र तालमेल गर्न खोजेको आरोप पनि लगाए ।
एमालेले राप्रपाका दाहिने र देब्रे समुहसंग चुनावी तालमेल गरेर दरबारियाहरुसँग मिलेर जनताको अभिमतविरुद्ध जाने खोजेको उल्लेख गर्दै खनालले लोसपा र सिके राउतसँगको समूहसँग चुनावी तालमेल गर्न ओलीले वार्ता टोली नै बनाएको बताए ।