नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्तारुढ नेपाली काँग्रेसलाई नै भरतपुर महानगरपालिका माओवादीलाई नै दिनुपर्छ भन्ने लागेको बताएका छन् । सोमवार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले देशैभरका ६ महानगरबाट भरतपुर माओवादीलाई नै दिँदा उपयुक्त हुने भन्दै छलफल गरेको बताए । कांग्रेसले भरतपुरको मेयर दिएर आफूले स्वीकारेको दावी पनि गरे ।
‘भरतपुरै नभइ भएन, रेणु नै नभइ भएन भन्ने हाम्रो कुनै अडान होइन । तपाईहरु प्रष्ट हुनुहोला’ प्रचण्डले भने, ‘देशैभर ६ महानगरपालिका छन् । एक माओवादी केन्द्रलाई पर्ने नै होला । गठबन्धनले काठमाडौ, विराटनगर, पोखरामध्ये एक दिए पनि ठिकै छ । भरतपुर हुँदैन भनेपनि ठिकै छ । भरतपुर नै चाहिने रेणु नै चाहिने भन्ने होइन ।’ भरतपुर यसअघि माओवादीले जितेकाले गठबन्धनबाट लिँदा सजिलो हुने बताए ।
देशैभरका ६ महानगरबाट एक महानगर माओवादीले लिनैपर्ने प्रचण्डले बताए । त्यसो हुँदा मोटामोटी भरतपुर माओवादीलाई दिने विषयमा काँग्रेस सकारात्मक भएको उनले बताए । सोमबार बेलुकासम्म महानगर र उपमहानगर गठबन्धनबाट टुंगो लाग्ने प्रचण्डको भनाई छ ।