श्रीमान–श्रीमती एउटै घरमा मिलेर बस्न पनि नसक्ने र छुट्टिन पनि नसक्ने भए के होला? यस्तै अवस्थामा फसेको परिवारजस्तै भएको छ यतिबेला जनता समाजवादी पार्टी (जसपा)का नेता डा. बाबुराम भट्टराई र उपेन्द्र यादवको सम्बन्ध।
केन्द्रीय अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईबीचको टकरावले जसपा न फुट्न सकेको छ, न त एक भएर अघि बढ्न।
केन्द्रीय कार्यसमितिको बहुमत सदस्य र सांसद आफ्नो साथमा छन्, तर डा. भट्टराई पार्टी विभाजन गर्न सक्दैनन्। तर, उपेन्द्र यादवसँगै बस्ने सक्ने स्थितिमा पनि उनी र उनको टिम छैन।
सुरुमा जसपाभित्रको विवादको चर्चा गरौं।
जसपामा विवाद सुरु हुन थालेको पुसदेखि हो।
जसपा अध्यक्ष रहेका महन्थ ठाकुरले साउन ३ गते २० प्रतिशत सांसद लिएर लोकतान्त्रिक समाजवादी (लोसपा) गठन गरे। जसपाको वरीयतामा पहिलो अध्यक्ष ठाकुर थिए, दोस्रोमा उपेन्द्र यादव थिए। डा. भट्टराई संघीय परिषद् अध्यक्ष भएपनि कार्यकारी थिएनन्।
ठाकुरले लोसपा बनाएर बाहिरिएपछि जसपामा एउटा अध्यक्ष पद रिक्त भयो। त्यही रिक्त भएको अध्यक्ष पदका विषयमा कात्तिक/मंसिरमा कुरा उठ्यो र महन्थको स्थानमा अर्काे अध्यक्ष राख्नुपर्ने डा. भट्टराई पक्षका नेताहरुले आवाज उठाए।
डा. भट्टराईले नयाँ प्रस्ताव अघि सारे– तीन अध्यक्षको व्यवस्था गरौँ। यादव केन्द्रीय अध्यक्ष र भट्टराई संघीय परिषद् अध्यक्ष छन्। महन्थ बाहिरिएपछि थप अध्यक्षमा अशोक राईलाई ल्याउने उनको योजना थियो।
जसपाका महासचिव गंगानारायण श्रेष्ठका अनुसार राष्ट्रिय चरित्रको समावेशी पार्टी बनाउन पनि तीन अध्यक्ष बनाएर जानुपर्ने प्रस्ताव गरिएको थियो। श्रेष्ठले नेपालखबरसँग भने, ‘राष्ट्रिय चरित्रको समावेशी र वैकल्पिक पार्टी बनाउन तीन क्लस्टर खसआर्य, मधेसी, आदिवासी जनजातिबाट हामीले अध्यक्ष बनाउन प्रस्ताव गरेका थियौं, तर त्यो कार्यान्वयन भएन।’
स्रोतका अनुसार अध्यक्ष यादवले यसबारेमा छलफल गर्न पनि चाहेनन्। केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाउन दबाब आए पनि यादवले बोलाएनन्। डा. भट्टराईले अघि सारेको ती अध्यक्ष प्रस्तावलाई यादवले मानेनन्। बरु तीन अध्यक्ष प्रणाली फेल भएको उनले विश्लेषण सुनाए।
पार्टीमा व्यक्तिवादी एकलौटी प्रणाली हटाउन, विवाद आउन नदिन र वैचारिक बहस गर्न तीन अध्यक्षको हुनुपर्ने पक्षमा डा. भट्टराई उभिइरहे। जसपाको नेतृत्व प्रणाली सुरुदेखि नै एकल नभई सामूहिक भएको उनको दाबी थियो।
उता, महन्थ ठाकुर बाहिरिएपछि उपेन्द्र यादवले एकल रुपमा पार्टी चलाउन थाले। कार्यकारी भूमिकामा नभएकाले डा. भट्टराईले चाहेर पनि पार्टी चलाउन सक्दैनथे। उपेन्द्र भने पार्टीमा एकल अध्यक्षको रुपमा प्रस्तुत हुन थाले।
यही कारण एकल अध्यक्षको अभ्यास थालेको भन्दै डा. भट्टराई लगायतका नेता असन्तुष्ट बने। कतिसम्म भने, पुसमा आइपुग्दा डा. भट्टराई पक्षमा बहुमत नेताहरु जुटिसकेको उनीहरुको दाबी छ।
यसले पार्टीमा विवाद मात्र बढाएन, स्पष्टरुपमा दुईवटा गुट बनेका छन्– एउटा यादव पक्ष र अर्काे डा. भट्टराई पक्ष।
यादव पक्षमा रेणुकुमारी यादव, राजेन्द्र श्रेष्ठ लगायतका नेताहरु छन् भने डा. भट्टराई पक्षमा वरिष्ठ नेता अशोक राई, मोहम्मद इस्तियाक राई, राजकिशोर यादव र पूर्व नयाँ शक्तिका अधिकांश नेता रहेको उनीहरुको दाबी छ।
यादव पक्षले एकल अध्यक्ष बनाएर अघि बढ्ने योजनासहित तयारी गरेको छ। डा. भट्टराई/राई पक्षले भने विधानको व्यवस्था अनुसार पार्टीलाई सामूहिक नेतृत्वमै अघि बढाउने अडान लिएको सो समूहका नेताहरु दाबी गर्छन्।
जसपाको विवाद उत्कर्षमा पुग्नुको अर्को कारण यो पनि हो। गुटलाई संस्थागत गराउन खोजेको भन्दै यादव पक्ष थप भड्कियो। यो विषय केन्द्रीय कार्यकारिणी समिति सदस्यसम्म पुगेको छ।
असन्तुष्ट पक्षले पार्टीभित्रको समस्या समाधानका लागि कार्यकारिणी समिति बैठकको माग गरेर पुसको अन्तिममा ध्यानाकर्षण पत्र बुझाए। तर, त्यो ध्यानाकर्षण पत्रकै आधारमा बैठक राख्न यादव तयार भएनन्। उनले पार्टीको बैठक कसैको दबावले नहुने भन्दै टारिदिए।
तर, असन्तुष्ट पक्ष पनि यसबाट चुप बसेन। माघको दोस्रो हप्तासम्मलाई अल्टिमेटम दियो। त्यो बेलासम्म बैठक नराखे एक चौथाई सदस्यले लिखित रुपमा बैठक बोलाउन माग गर्ने निर्णय लियो। त्यही समयमा राष्ट्रिय सभाका रिक्त पदको लागि चुनाव थियो, जसका कारण विवाद केही समय रोकियो।
फेरि सुरु भयो विवाद
राष्ट्रिय सभा चुनावले रोकिएको जसपाभित्रको विवाद अमेरिकी आर्थिक सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्याक्ट पारित गर्नेबेला फेरि चर्कियो।
डा. भट्टराई एमसीसी पास गर्नुपर्छ भन्ने अडानमा खुलेर लागे। तर, केन्द्रीय अध्यक्ष उपेन्द्र यादव सकभर पास नगर्ने पक्षमा थिए। यद्यपि उनी मौन बसेका थिए।
एमसीसीको विषयले दलहरुभित्र विवाद बढाइरहेका बेला सत्ता गठबन्धनमा रहेको जसपा अछुतो रहन सकेन। तर, झण्डै विभाजन हुन खोजेको पार्टीलाई केही नेताहरुको पहलले रोक्न सफल भए।
एमसीसी पास गर्ने पक्षमा यादव पनि उभिए विभाजनको खड्गो टर्यो। तर, पार्टीलाई सामूहिक नेतृत्वमै लैजानुपर्ने अडान राख्न डा. भट्टराई—राई पक्षले छोडेका थिएनन्।
३० वैशाखमा स्थानीय तहको चुनाव थियो। चुनावमा मिलेर जान उपेन्द्र यादव तयार भए। उनले अशोक राईलाई चुनावी कमाण्डर बनाइदिए र तीनै नेता मिलेको सन्देश पनि दिए। तस्वीर खिचाए। पार्टीभित्र वैचारिक बहस र छलफल भए पनि जसपा एक रहेको नेताहरुले दाबी गरे।
‘आन्तरिक विवादलाई थाती राखेर चुनावमा होमिएका हौँ,’ जसपाका एक नेताले नेपालखबरसँग भने, ‘पार्टीलाई विधि र पद्दतिमा चलाउनुपर्छ भन्ने कुरा छोडेको होइन। त्यसमा अझै कुरा मिलेको छैन। अध्यक्षले त्यही कुरा कार्यान्वयन गराउन सक्नुभएन।’
तर, स्थानीय तहको चुनाव सकिए लगत्तै जसपाभित्र विवाद फेरि चर्केको छ। गठबन्धन प्रभावकारी नभएको र गठबन्धनकै दलका कारण हार्नु परेको लगायतका विषय सहित चुनावी समीक्षा अझै भएको छैन।
‘चुनावको समीक्षा भएन, हिजो पार्टीमा देखिएका समस्या समाधान गर्ने प्रयास पनि भएको छैन, सधैँ टालटुल मात्र पारेर हुँदैन,’ जसपाका अर्का नेताले असन्तुष्टि जनाउँदै भने, हतार–हतारमा कुनै काम गर्नुहुँदैन, पार्टी सामूहिक ढंगले चल्नुपर्छ।’
जसपाको विधानमा दुई अध्यक्ष रहने व्यवस्था छ। अहिले उपेन्द्र यादव र डा. बाबुराम भट्टराई अध्यक्ष छन्। तर, दुई अध्यक्ष भएपनि पार्टीलाई यादवले मात्र चलाएको डा. भट्टराई पक्षधरको गुनासो छ।
उनीहरुले अहिले यादवमा कार्यशैलीगत समस्या रहेको बताएका छन्। ‘कार्यशैलीबाट समस्या उत्पन्न भयो, सिस्टम, विधि र प्रक्रियामा गएनौं, जसपा अन्य पार्टी जस्तै भयो,’ डा. भट्टराई निकट अर्का नेताले भने, ‘नीति र कार्यक्रम नबनी पार्टी चल्दैन।’
अहिलेको अवस्था के हो त?
जसपाभित्रको भुसको आगो भित्र भित्र निकै सल्किएको एकथरी नेताहरु बताउँछन्।
बाहिर मिलेको जस्तो गरे पनि डा. भट्टराई अध्यक्ष उपेन्द्र यादवको कार्यशैलीबाट आजित छन्। त्यही भएर उनी जसपामा कार्यकारिणी र सांसदहरु दुवैतर्फ बहुमत संख्या लिएर बसेको एक नेताले दाबी गरे।
‘पार्टीभित्र ठूलो डिवेट छ, अहिले हामी आन्तरिक छलफलमै छौँ,’ अर्का एक नेताले भने, ‘छलफल पछि निर्णयार्थ प्रस्तुत हुन्छौँ।’
वैकल्पिक शक्ति बनाएर हिमाल, पहाड र तराई सबैको पार्टी बनाउने प्रयास पूरा नभएको असन्तुष्टहरु बताउँछन्।
०७६ वैशाख २३ मा नयाँ शक्ति पार्टी र संघीय समाजवादीबीच एकता भएर समाजवादी पार्टी बनेको थियो। २०७७ वैशाख १० गते तराईमा रहेको अर्काे दल राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)सँग एकता भएर जसपा बनेको थियो। तर, एकताको ३ वर्ष नपुग्दै जसपाभित्र ठूलो संकट पैदा भएको छ।
यादव पक्षको दाबी के छ भने बहुमत संख्या रहेको दाबी गर्ने भट्टराई—राई पक्षले अर्काे पार्टी गर्न सक्दैन किनभने नयाँ दल खोल्न कम्तीमा ४० प्रतिशत चाहिन्छ, जुन संख्या उनीहरुसँग पुग्दैन।
३५ सदस्यीय कार्यकारिणीमा १८ जना उनीहरुको पक्षमा रहेको दाबी छ। २२ जना सांसदमा कम्तीमा १२ जना आफ्नो पक्षमा भएको उनीहरु बताउँछन्।
‘मिलेर बस्न उनीहरु सक्दैनन्, कार्यशैलीगत समस्या छ। त्यसैले अब ‘वैकल्पिक शक्ति बनाएर लैजान्छौँ, चित्त नबुझ्नेले के गर्ने सोच्ला,’ यादवतिर संकेत गर्दै एक नेताले भने, ‘अब यो अहिलेको विवाद समाधान भएन भने जसपा फुटमै जान सक्छ।’
अध्यक्ष उपेन्द्र यादव पक्षले भने कुनै विवाद नभएको र मिलाएर अघि बढेको जनाएको छ। ‘स्थानीय चुनावमा सबै नेताहरु परिचालित हुनुभएको छ, गोरखामा हाम्रा दुईवटै अध्यक्ष गएर चुनावी प्रचार गर्नुभयो, पार्टीमा छलफल हुनु भनेको विवाद होइन, यादव निकट एक नेताले भने, जसपाको शक्ति देखेर एउटा पक्ष पार्टीलाई कमजोर बनाउन चाहन्छ।’
एकताको आह्वान
बुधबार बिहान जनकपुर पुगेर अध्यक्ष यादवले लोसपालाई पार्टी एकतामा आउन आह्वान गरे। ‘पार्टी फोडेर कसलाई के फाइदा भयो? जनमत बाँडिदा मधेशी जनतालाई नै घाटा भएको छ। त्यसैले यो विभाजनको औचित्य देखिरहेको छैन’, अध्यक्ष यादवले भने,’आउनुस् अहिले पनि समय छ। फुटेर हैन जुटेर अघि बढौं। यदि जुटेर अगाडि बढ्न लोसपाका साथीहरु तयार छन् भने हामी खुला हृदयले स्वागत गर्न तयार छौं।’
यादवले लोसपालाई एकतामा आउन आह्वान गर्नुको मुख्य कारण पनि पार्टीभित्रको विवाद हो। विवाद समाधान नगरी उनले तराई केन्द्रित राजनीति गर्दै लोसपालाई साथ लिएर त्यसलाई साम्य पार्ने प्रयास गरेको भट्टराई/राई पक्षले आशंका गरेको छ।