काठमाडौं : श्रम रोजगार तथा सामाजि सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीमा जाने श्रमिक तथा कामदारलाई विना झन्झट सहज र सरल तरिकाबाट सेवा प्रदान गर्ने व्यवस्था मिलाइएको बताएका छन्।
मंगलबार प्रतिनिधि सभामा मन्त्रालयगत विनियोजन बजेटमाथि छलफलमा क्रममा उठेका प्रश्नको जबाफ दिँदै श्रममन्त्री श्रेष्ठले वैदेशिक रोजगारसम्बन्धी समस्या हेर्ने गरी छुट्टै प्रहरी एकाइ गठन गर्ने तयारी भएको र हाल वैदेशिक रोजगार विभागमा प्रहरी नायव उपरीक्षकको नेतृत्वमा प्रहरी युनिट स्थापना गरिएको बताए।
मन्त्री श्रेष्ठले वैदेशिक रोजगारीमा हुने ठगी नियन्त्रणका साथै राहत तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन गुनासोलाई तत्काल निराकरण गर्न तथा क्षतिपूर्तिको सिफारिस गर्न तथा अन्तर निकाय समन्वयका लागि र्यापीड रेस्पोन्स टीमले काम गरिरहेको जानकारी दिए।
श्रमिकहरुको हकहितलाई ध्यानमा राखी नयाँ श्रम गन्तव्य मुलुकको खोजी र श्रम सम्झौताको नवीकरण गर्ने कार्यलाई अगाडि बढाइएको भन्दै साउदी अरेविया तथा सेसेल्ससँग नयाँ श्रम सम्झौता एवं संयुक्त अरव इमिरेट्स, मलेसिया र कतारसँग भएका श्रम सम्झौतालाई समसामयिक परिमार्जन गर्ने कार्य प्रारम्भ भएको बताए।
यस्तै, उनले वैदेशिक रोजगारीमा गई अंगभंग वा मृत्यु भएका कामदार र निजका परिवारलाई उपलब्ध गराउने आर्थिक सहायता र छात्रवृत्तिसम्बन्धी सेवालाई समेत अनलाईनमार्फत प्रदान गर्ने व्यवस्था गरिएको बताए।
युएई, साउदी अरेविया तथा भारतमा अलपत्र परेका कयौं श्रमिकहरुलाई उद्धार गरिएको र ‘भिजिट भिषा’मा यूएई पुर्याएर अलपत्र पार्ने काममा संलग्न व्यक्ति वा कम्पनीलाई पीडितको उद्धार तथा दोषिलाई कारवाहीको दायरामा ल्याइएको जानकारी दिए।
वैदेशिक रोजगारीको नाममा ठगि गर्नेहरुलाई नेपालको इतिहासमै पहिलो पटक नेपाल प्रहरीको सहयोगमा रेड कर्नर नोटिस जारी गरी नेपाल ल्याइ कारवाहीको दायरामा ल्याउने प्रक्रिया अघि बढाइएको उनको भनाइ छ।
वैदेशिक रोजगारीमा जाने श्रमिकसँग सरकारले तोकेभन्दा धेरै रकम लिइ ठगी गरिरहेको सूचना आएपछि विभिन्न म्यानपावर कम्पनीलाई कारवाहीको दायरामा ल्याइएको छ र पीडितलाई क्षतिपूर्ति प्रदान गरिएको छ ।
चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म करिब १२ करोड रुपैयाँ ठगी असुली गरिएको मन्त्री श्रेष्ठको भनाइ छ ।