नेकपा एमालेका नेता लालबाबु पण्डितले अर्थमन्त्री जनार्दन शर्मा राजीनामा गरी जेल जान तयार हुनुपर्ने बताएका छन् ।नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पण्डितले भने, “बजेट निर्माण गर्दा अनधिकृत व्यक्तिसँग साँठगाँठ गरी निश्चित व्यक्ति र संस्थालाई लाभ पुग्ने हिसाबले राजस्वको दरहरु परिवर्तन गरिएको छ । हामीले त्यसको विरोध गरेका छौं । यसमा पार्टीगत रुपमा प्रचण्ड र सरकारको नेतृत्वका हिसाबले शेरबहादुर देउवाको मिलेमतोमा भएको हुन सक्छ ।
उनले संसदमा अर्थमन्त्रीका सबै कार्यक्रम बहिष्कार गर्ने पनि बताए । उनले भने, “संसदीय प्रणालीमा प्रश्न उठेपछि जवाफ दिनुपर्छ । हामीले सीसी क्यामेरा फुटेज छानबिन गरियोस् भनेका थियौं । त्यो अहिलेसम्म हुन सकेको छैन । यहाँ गम्भीर आर्थिक चलखेल भएको छ । मन्त्रालय गैर नागरिकको प्रवेश भएको छ ।
पोल खुलेपछि अर्थमन्त्रीले राजीनामा दिनुपर्छ, जेल पनि जानुपर्छ । प्रधानमन्त्रीले नैतिक जिम्मेवारी लिनुपर्छ । अपराध गरेपछि सजाय पाउने हो, नगरेको भए स्पष्ट पार्ने हो । जनार्दन शर्मा जहिलेसम्म अर्थमन्त्री रहन्छन्, हामीले संसदमा उनका कार्यक्रम बहिष्कार गर्छौं । यस्तो अपराध सहन सकिँदैन ।
अर्को प्रसंगमा एमाले नेता पण्डितले प्रधानमन्त्री शेरबहादुर देउवा सत्य कुरा बोल्न डराइरहेको आरोप पनि लगाए । उनले भने, “संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा बोलाउँदा प्रधानमन्त्री आउनु भएन ।
एनआरएनको सेमिनारमा जाने, संसदीय समितिमा नजाने ? संसदलाई छलेर एनजीओको कार्यक्रममा जाने ? प्रधानमन्त्री सत्य कुरा बोल्न डराइरहनुभएको छ । उहाँ किन लजाइरहनुभएको छ, किन भागिरहनुभएको छ ? सम्पूर्ण कागजात लिएर आउनूस्, जवाफ दिनूस् ।
सेनाले भूकम्पको बेला अमेरिकी सेनालाई पत्राचार गरेको भनेर ढाँटेको आरोप पनि पण्डितले लगाए । उनले भने, “एसपीपी नेपालको परराष्ट्रनीतिसँग मेल खाँदैन । नेपाल कसरी अमेरिकाको पोल्टामा गयो ? भूकम्पका बेला म आफैं मन्त्री थिएँ । त्यसबेला २७ देशका सेना आए । के २७ देशसँग एसपीपी सम्झौता भएको हो त ?