नेपालीले दाँत काेट्याउने सिन्कामा सके २ कराेड ५३ लाख रुपैयाँ

Spread the love

काठमाण्डाै – नेपाल राष्ट्र बैंकले हरेक महिना सार्वजनिक गर्ने तथ्याङ्कमा विदेशी मुद्राको सञ्चिति घट्दै गएको स्पष्ट देख्न सकिन्छ । त्यसको पछाडि नेपालीको परनिर्भर जीवनशैलीले पनि काम गरेको छ । आयात नगरे पनि हुने सामान आयात भइरहेका छन् । अत्यावश्यक सामग्री नभए पनि त्यस्ता सामग्री आयात गरेर हामी आफैँले विदेशी मुद्राको सञ्चिति घटाइरहेका छौँ ।

न त खानाको रूपमा प्रयोग गर्न मिल्ने, न त भोक नै मेटिने चुइगमदेखि बिस्कुटसम्म आयात गरेर जिभ्रोको स्वाद मेटिरहँदा त्यसले पार्ने प्रभाव भने विस्तार भएर गएको छ ।

भन्सार विभागको पछिल्लो विवरणअनुसार हाम्रै गाउँघरमा पाइने, बाँस प्रयोग गरेर निर्माण गर्न सकिने दाँत कोट्याउने सिन्काको आयातमा समेत मोटो रकम विदेशिएको छ । देशभित्रै सामान्यरूपमा उत्पादन गर्न सकिने ‘टुथपिक’ आर्थात् दाँत कोट्याउने सिन्का आयात गरेर नेपालीले परनिर्भरताको चरम नमुना प्रस्तुत गरिरहेका छौँ ।

हाम्रा खेतबारीको डिलमा रहेको बाँस खेर गइरहेको छ तर, चीनबाट टुथपिक आयात गरेर आफूलाई सानका साथ प्रस्तुत गर्ने नेपाली प्रवृत्तिले परनिर्भरता बढाइरहेको छ ।

विभागको विवरणअनुसार चालु आवको ११ महिनामा मात्रै ८४ हजार तीन सय ८७ किलोग्राम बराबरको टुथपिक आयात भएको छ । त्यसका लागि मात्रै दुई करोड ५३ लाख ५२ हजार रुपैयाँ बराबर रकम विदेशिएको छ । सामान्य उद्योग स्थापना गर्न सकिए मात्रै पनि टुथपिकका लागि रकम विदेशिने थिएन ।

यसबारेमा न त सरकारी निकायले सोच्न भ्याएको छ, न त उद्योगी व्यवसायीले नै । परनिर्भर चरित्रका कारण आयात भइरहेका यस्ता सामग्री देशभित्रै उत्पादन गर्न सकिन्छ भन्ने सोच उद्यमी तथा व्यवसायीले राख्नुपर्ने आवश्यकता बढेर गएको छ ।

विभागको विवरणअनुसार चीनबाट मात्रै दुई करोड ५१ लाख ६२ हजार रुपैयाँ बराबरको टुथपिक भित्रिएको देखिन्छ । अन्य देशबाट पनि त्यस्तो सामग्री आयात भएको छ । योभन्दा परनिर्भर चरित्र अरू हुनै नसक्ने जानकारहरूको भनाइ छ ।

‘हरियो वन नेपालको धन’ हाम्रा लागि असाध्यै चर्चित छ । प्रायजसोः विद्यालय तहदेखि नै निबन्ध प्रतियोगितामा समेत यस विषयमा राम्रैसँग सिकाइन्छ । सरकारको नीति, योजना र कार्यक्रम पनि यसैमा केन्द्रित छ ।

वनसम्पदाको महत्त्व र आवश्यकताका बारेमा देशका सायदै कम मानिसलाई बुझाउनु पर्ला । पर्यावरणीय सन्तुलनका लागि वनजङ्गलको महत्त्व त छ नै यसका साथै व्यावहारिक प्रयोगमा समेत वन सम्पदाको अत्यधिक योगदान रहेको छ ।

मानिसको जीवनयापनको एक अङ्ग हो वनसम्पदा । सुत्ने खाटदेखि बस्ने कुर्सीसम्मको स्वरूप काठ र काठजन्य वस्तुको प्रयोगबाटै हुनेगर्छ । दाँत कोट्याउन समेत काठबाट बनेको वस्तुको प्रयोग हुन्छ । यस्ता वस्तुको प्रयोगमा त नेपाली अगाडि छौँ तर उत्पादनमा भने शून्य जस्तै रहेको विभागको विवरणले देखाउँछ ।