एमालेका सल्यानी नेता गुलाबजंग शाहसँग सिरानी जोडेर पल्टिरहेको अवस्थामा मगर समुदायकी एक महिलाले टिकटक बनाइदिएपछि अहिले उनी भाइरल छन् ।
त्यसो त बलात्कार मुद्दा चलेकै नेतालाई समेत कारवाही नगर्ने एमालेमा यो अचम्मको कुरा भएन । तर, सालीसँग टिकटक बनाउने नेतालाई विप्लव नेकपाले कारवाही गरेपछि उनी माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
भाषणकलामा पोख्त मानिने ओमप्रकाश पुन सालीसँग बनाएको टिकटकका कारण पार्टी नै बद्नाम भएको भनी कारवाहीमा परेका थिए । त्यसअघि कैलाली इञ्चार्ज थिए । उनले पार्टी नछाडुन् भन्नका लागि सहकर्मीहरूले एक–डेढ महिना थामथुम पारे । तर, उनी धेरै दिन रोकिएनन्, माओवादी केन्द्रमा फर्किए ।
यसअघि भरत दाहालहरूसँगै ०५७ सालमा माओवादी छाडेका हुन् । द्वन्द्वकालमा जेल परे । छुटेपछि मोहनविक्रम सिंहको पार्टीमा गए । माओवादी शान्ति प्रक्रियामा आएपछि फेरि माओवादीतिर लागे । पछिल्लो समय विप्लव नेकपामा सक्रिय थिए ।
जब पार्टी खुला भयो र चुनावमा भाग लिने कुरा आयो, उनी एमालेसँग वार्ता गर्दै चुनावी तयारीमा जुटे । यही कारण पनि समस्यामा परे । चुनावताका पूर्व पठाएर किसानको जिम्मा दिएपछि उनी झन् बिच्किए । अन्ततः सालीसँगको विवादास्पद टिकटकलाई आधार बनाएर पार्टीले कारवाही गर्दा प्रचण्डको पार्टी रोजे ।
विप्लव नेकपा भने असोज १ मा काठमाडौँमा आयोजना हुने महाधिवेशनको तयारीमा छ । महासचिवले असन्तुष्टसँग संवाद गर्न नसक्दा उक्त पार्टीका थुप्रै नेता विभाजनदेखि अर्को दल रोज्नेमा पुगेको बताइन्छ ।
विप्लवको पार्टीले स्थानीय तहमा देशभर ५० हजार मत पाएको छ । छोटो तयारी र थोरै उम्मेदवारीका बीच मतदाता नामावलीतिर ध्यानै नदिई चुनावमा जाँदा पार्टीले देशभरका ४ वटा वडामा जित्यो । जितेका जिल्लाहरू नुवाकोट, दाङ, प्यूठान र रोल्पा हुन् ।
उता, सल्यान एमालेमा टिकटकको काण्ड सेलाएन, बरु झन्–झन् चर्किएको छ । गुलाबजंगलाई भाइरल बनाउने महिला जिल्ला कमिटी सदस्य हुन् । उनीसँग सार्वजनिक भएबाहेकका ६–७ वटा टिकटक थिए । सबै फालेकी थिइन् ।
तर, कसरी एकाएक सामाजिक सञ्जालमा आयो भन्नेबारे आफैँ अचम्ममा परेकी छन् । खासमा सल्यानमा गुलाबजंगको चर्चा अरु महिलासँग थियो । गुलाबजस्तै जिल्ला अध्यक्ष गोविन्द पुन पनि यस्तै लफडामा छन् । उनीविरुद्ध एकजना महिलाले सामाजिक सञ्जालमा यौनशोषण भएको कुरा लेखिरहेकी छन् ।
चुनावको टिकट वितरणका सन्दर्भमा पनि एक महिलाले गुलाबजंगको नाम लिएकी छन् । गुलाबको पहिलो विवाह बनगाड कुपिण्डे नगरपालिकाको नं. ५ की महिलासँग भएको थियो । पछि काठमाडौंमा अर्कीसँग विवाह गरे । जेठी पत्नी बाँके, कोहलपुरस्थित माइतमा बसेकी छन् । दुई छोरीको विवाह भइसकेको छ ।
आफ्नो टिकटक बाहिर आएपछि पत्रकार सम्मेलन गरे, तर ‘होइन, ल्याब टेष्ट गरियोस्’ भन्न सकेनन् । नेता एमालेको भए पनि उनले ०७० मा बाहेक कहिल्यै सूर्यमा भोट हालेनन् । ०५६ मा मालेबाट लडे । ०६४ मा राप्रपाबाट उठ्न खोजेका थिए । एमालेमा महासचिव शंकर पोखरेलसँग निकट छन् । शंकरपत्नी सुजिता शाक्यसँगै पढेका हुन् ।