धुर्मुस–सुन्तलीले अलपत्र पारेको रंगशाला अब कसले गर्छ निर्माण ? मेयर रेनुले गरिन् यस्तो माग

Spread the love

काठमाडौं—चितवनको भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले अलपत्र अवस्थामा रहेको अन्तरराष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा सहयोग गर्न संघीय सरकारसँग माग गरेकी छन् ।

मंगलवार बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी मेयर दाहालले रंगशाला निर्माणमा आवश्यक सहयोग गर्न आग्रह गरेकी हुन् ।

उक्त रंगशालाको निर्माण कार्य कलाकारहरू सिताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’को ‘धुर्मुस–सुन्तली फाउण्डेसन’ले शुरू गरेको थियो । फाण्डेसनले विभिन्न व्यक्ति तथा संघसंस्थासँग सहयोग रकम संकलन गरेर अघि बढाएको निर्माण कार्य हाल रोकिएको छ ।

आर्थिक संकट र केही विवादका कारण ‘धुर्मुस–सुन्तली फाउण्डेसन’ले रंगशाला निर्माणबाट हात झिकेपछि अलपत्र परेको हो । उक्त क्रिकेट रंगाशालाको निर्माण कार्य अघि बढाउन प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराइएको मेयर दाहालको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीसँगको भेटमा मेयर दाहालले चितवन जिल्लाको समग्र विकाससँग सम्बन्धित विषयहरूमा छलफल गरेकी थिइन् । उनले भरतपुर एअरपोर्ट विस्तार, माडी क्षेत्रको भूमिगत विद्युतीकरण, माडी जंगल क्षेत्रको हुलाकी सडकको स्तरोन्नतिलगायतका विषयमा प्रधानमन्त्री देउवालाई जानकारी गराएको उनको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री देउवाले ती कामहरू अगाडि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएको मेयर दाहालको सचिवालयले जनाएको छ ।

भेटमा मेयर दाहालका पिता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मुख्यसचिव शंकरदास वैरागी, नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मालगायत सहभागी थिए ।