१३ साउन, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार अबेला एक भिडियो कन्फरेन्समार्फत चिनियाँ राष्ट्रपति सी जिनपिङसँग वार्ता गरेका छन्। करिब २ घण्टा १७ मिनेटसम्म चलेको उक्त भर्चुअल भेटमा बाइडेनसँग जिनपिङ कठोर रूपमा प्रस्तुत भएका थिए ।
समाचार एजेन्सी रोयटर्सका अनुसार ताइवानमा अमेरिकी हस्तक्षेपबाट आक्रोशित चिनियाँ राष्ट्रपतिले बाइडेनलाई धम्कीपूर्ण प्रतिक्रिया दिएका छन् । भेटमा जिनपिङले भने, ‘म तपाईंलाई यति मात्र भन्छु कि आगोसँग खेल्न खोज्नेहरू जल्छन् ।’
जिनपिङको प्रतिक्रियाले दुई देशबीचको बढ्दो तिक्ततालाई संकेत गर्दछ । ताइवानलाई सघाउने अमेरिका र बाइडेन प्रशासनको नीतिको विरुद्ध चीन कडारूपमा प्रस्तुत भएको छ ।
अमेरिकी संसदकी सभामुख न्यान्सी पेलोसीले अर्को हप्ता ताइवानको भ्रमण गर्दैछिन् । २५ वर्षपछि यति उच्च स्तरको अमेरिकी नेतृत्वको ताइवानको औपचारिक भ्रमण हुन लागेको हो । यो भ्रमणले अमेरिकाले अब ताइवानलाई एक्लै छाड्दैन र आवश्यक ठाउँमा सहयोग गर्दछ भन्ने स्पष्ट सन्देश दिन्छ ।
चीनले यस्तो अमेरिकी नीतिको कडा आपत्ति जनाउँदै यसको प्रतिफल गम्भीर हुने चेतावनी दिँदै आएको छ ।
जवाफमा अमेरिकाले पनि कुनै पनि हालतमा ताइवानबाट आफू पछि नहट्ने स्पष्ट पारेको छ । बिहीबार बाइडेन-जिनपिङ भेटमा पनि सम्बन्धको तिक्तता प्रष्ट देखिन्थ्यो ।
बाइडेन र जिनपिङले गत मार्चमा दुई घण्टासम्म यस्तै भर्चुअल बैठक गरेका थिए। त्यसपछि युक्रेन र रुसबीच युद्धको विषयमा वार्ता भएको थियो । बाइडेन सत्तामा आएदेखि उनले जिनपिङसँग पाँच पटक वार्ता गरेका छन् । तर, दुवै नेता व्यापार र ताइवानलगायतका विषयमा कुनै निष्कर्षमा पुग्न सकेका छैनन् ।
यद्यपि, ह्वाइट हाउसले बिहीबारको वार्ताको बारेमा आधिकारिक धारणा सार्वजनिक गरिसकेको छैन । दुई नेताबीच छिट्टै अर्को वार्ता हुने बताइएको छ । राष्ट्रपतिद्वयको अर्को वार्ताअघि दुई देशका परराष्ट्रमन्त्री स्तरीय भेटवार्ता हुने बताइएको छ ।
बुधबार, पहिलो पटक ताइवान सेनाका तीनवटै ‘विङ्ग’हरूले युद्ध अभ्यास गरेका छन् । यस अवधिमा चीनसँग संघर्ष गर्ने रणनीतिमा ध्यान केन्द्रित गरिएको छ । ताइवानी सेनाले अमेरिकाबाट खरिद गरेको मिसाइल परीक्षण गरेको छ । यसक्रममा उनीहरूले युद्धपोत र लडाकू विमानहरूमा पनि चढेको दृश्य पनि सार्वजनिक भएका छन् । यसबाहेक अमेरिकी ड्रोनको पनि प्रयोग गरिएको थियो।
यसैबीच, अमेरिकी सेनाले न्यान्सी पेलोसीलाई तत्काल ताइवान नजान सल्लाह दिएको बताइएको छ । युक्रेन र रुसबीच युद्ध चलिरहेको र यस्तो अवस्थामा ताइवानमा द्वन्द्व भयो भने यो विषय निकै खतरनाक सावित हुन सक्ने अमेरिकी सेनाको विश्वास छ ।