बलिउड कलाकार रणवीर सिंहले हालै पेपर म्यागेजिनलाई दिएको अन्तर्वार्तामा भनेका छन्: “म हजारौँ व्यक्तिहरूको अगाडि नाङ्गिन सक्छु… यति मात्र हो कि त्यसबारे उनीहरू असहज महसुस गर्छन्,”।
नभन्दै ठ्याक्कै त्यस्तै भयो जब सिंहले सोही म्यागेजिनका निम्ति नग्न तस्बिरहरू खिचाए। सामाजिक सञ्जालमा उनको उक्त कार्यप्रति प्रशंसा र आक्रोश दुवै देखियो। यद्यपि, आलोचना गर्नेको सङ्ख्या अधिक थियो।
उनका तस्बिरहरूमाथि बनेका मिम र चुट्किलाहरू इन्टरनेटभरी फैलिन थाले। धेरैले उनलाई पुरुषहरूको बदनाम गरेको आरोप लगाए। यसका अतिरिक्त उनीविरुद्ध “महिलाहरूको भावनामा ठेस पुर्याएको” आरोपमा प्रहरीमा उजुरी दर्ता भयो।
सिंह परम्परागत पुरुष कलाकारजस्ता छैनन्। उनी असीमित रूपमा ऊर्जावान्, मिजासिलो र फरक धारका चुलबुले फेशन अङ्गाल्ने शैलीका छन्। भोग म्यागेजिनले उनको पहिरन शैलीलाई लिएर “अहिलेको फेशन अङ्गालिरहेको ताजा परिवर्तन”को सङ्ज्ञा दिएको छ।
पेपर म्यागेजिनका अनुसार सिंहले “परम्परागत भारतीय समाजमा विद्यमान पुरुषत्त्वसँग सम्बन्धित सबै अन्धविश्वासलाई प्रयोगात्मक ढङ्गले चुनौती दिएका छन्।”
“उनको शरीर एक आदर्श पुरुष शरीरजस्तो छ। तर उनी भने महिला र पुरुष दुवैको जस्तो देखिने पहिरन लगाउँछन्। उनी आफ्नो विचारमा कठोर छैनन् र यौ-नको सम्बन्धमा खुलेर कुरा गर्छन्। उनी भारतको कथित पुरुषत्त्वको परिभाषामा अटाउँदैनन्। जसका कारण धेरै मानिसहरूलाई तनाव भएको छ र यसले अधिकांश पुरुषहरूलाई असहज महसुस गराएको छ,” टफ्ट्स विश्वविद्यालयमा साहित्य र यौनिकताबारे विद्यावारिधि गरिरहेका राहुल सेनले भने।
सिंहको तस्बिरमा आएका प्रतिक्रियाहरू केहीले भन्ने गरे जस्तो “भारतको घना नैतिक द्विविधा” हो जहाँ मानिसहरूले पुरातन र उदार मनोवृत्तिको मिश्रण आत्मसात् गर्छन्। उदाहरणको लागि, भारतका साना सहरका मठमन्दिरहरूमा कामुक कलाहरू देख्न सकिन्छ।
विश्वको सबैभन्दा पूरानो कामुकतासम्बन्धी पुस्तकहरूमध्ये एक, कामसूत्र भारतमा आधारित हो। मोडल तथा नृत्याङ्गना प्रोतिमा वेदीले सन् १९७४ मा एक फिल्म म्यागेजिनको आवरणका लागि मुम्बईको समुद्री तटमा कामुक तस्बिर खिचाएकी थिइन्।
नग्नता सामान्य विषय होइन। हजारौँको सङ्ख्यामा समुदाय विशेष खरानी धसेका हिन्दू मानिसहरू कुम्भ मेलाजस्ता धार्मिक पर्वहरूमा नाङ्गै सहभागी हुन्छन्। इन्स्टाग्राम र टिकटकमा थुप्रै भारतीय पुरुषहरू देखिन्छन् जो “एकधरो वस्त्रमा कामुकता प्रदर्शन गरिरहेका हुन्छन्,” मस्कुलर इन्डिया नामक पुस्तकका लेखक मिसियल बासले भने।
त्यस्तै प्राय: बलिउड कलाकारले द्वन्द्वको दृश्यका निम्ति आफ्नो शर्ट खोलेका छन्। यद्यपि, जब सिंहजस्ता भारतीय पुरुषहरू शरीर प्रदर्शन सम्बन्धी स्थापित मानक र तरिकाहरूबाट अन्यत्र मोडिँदा प्राय उनीहरूको खिल्ली उडाउने र कमजोर चित्रण हुने जस्ता परिणाम निम्तने बासको बुझाइ छ।
सिंहको नग्न तस्बिर १९७० को नग्नताको झल्को दिने खालका छन् र यसले पुरुषहरूका लागि आफ्नो नम्र र महिला निकट पक्ष देखाउनु कति असामान्य छ भनेर औँल्याउने उनले बताए। कतिपयले यस विषयमा विवाद हुनु व्यर्थ ठान्छन् ।
“म यो बहसको कारण बुझ्दिनँ। नग्नता भारतको लागि नयाँ विषय होइन। रणवीर सिंहको हकमा, उनको शरीर हो र उनको आफ्नो रोजाइ हो, उनको छनोट हो,” भारतकी लोकप्रिय लेखकहरू मध्ये एक शोभा डे भन्छिन्।
वास्तवमा रणवीर सिंह विवादमा तानिने पहिलो अभिनेता होइनन्। सन् १९९५ मा मिलिन्द सोमन र मधु सप्रेले जुत्ताको विज्ञापनको लागि आफ्नो वरिपरि अजिङ्गर बेरेर नग्न तस्बिर खिचाएका थिए।
एमएफ हुसेन, अकबर पदम्सीजस्ता अग्रणी कलाकारहरू विरुद्ध महिलाको स्तनमा नग्न देवता र पुरुषको हात चित्रण गर्ने चित्रहरूका कारण आक्रमण भयो। नग्नता चित्रण गरेकै कारण चलचित्रका छायाङ्कन स्थल र नाटकहरूको प्रभावित भएका छन्।
यी दुई विरुद्ध अश्लीलताको आरोपसहितको परेको मुद्दा १४ वर्ष अदालतमा रह्यो। “उनीहरूले सफाइ पाउने बेलासम्म सप्रेले भारत छोडिसके, सम्बन्धित जुत्ताको ब्रान्ड बन्द भइसकेको थियो र विज्ञापनमा प्रयोग अजिङ्गरलाई के भयो कसैलाई थाहा छैन”, ब्रान्डका रणनीतिकार अम्बी परमेश्वरनले भने।
मुम्बईस्थित एक विज्ञापनको मापदण्ड निगरानी गर्ने निकायले अश्लीलता झल्कने विज्ञापनहरूको बारेमा सार्वजनिक गुनासोहरू प्राप्त गर्दै आएको छ। गत नोभेम्बरमा त्यहाँ दुई वटा गुनासोहरू आएका थिए: एउटा “खुला भित्री वस्त्र” लगाएका महिलाहरूको बारेमा र अर्को “दुई जना केटीहरूले एकअर्कालाई उनीहरूको अन्तर वस्त्र देखाउन आ-आफ्नो लुगा खोलेको कथित कुरूप विज्ञापन”को सम्बन्धमा थियो।
दुई वर्षअघि चेन्नईमा रहेर फेशन फोटोग्राफी गर्ने जी वेन्केट राम पनि उस्तै अन्योलमा थिए। उनले एक ट्याटू कलाकारको नग्न तस्बिर शरीरको सकारात्मकता अभियान अन्तर्गत खिचेका थिए। सो अभियानले मानव शरीरको जुनसुकै आकार र प्रकार स्वीकार्य हुनुपर्ने वकालत गर्थ्यो।
उनले आफूले निकै “साहस जुटाएर” उक्त तस्बिर नब्बे हजारभन्दा बढी प्रयोगकर्ताले पछ्याएको इन्स्टाग्राममार्फ सार्वजनिक गरेको बताए। “अधिकांश मानिसले त्यस तस्बिर मन पराए तर कतिपयलाई मन परेन। उनीहरूले मप्रति सम्मान भए पनि यस्तो कार्य गर्नुको कारण सोधे,” रामले भने।
त्यसलगत्तै केही अनौठो भयो। उनले आधा दिनभन्दा कम अवधिमा पच्चिस सय फलोअर्स गुमाए भने करिब आठ हजार नयाँ फलोअर्स प्राप्त गरे। “यो अनुभव सुनामी सरह थियो। थुप्रै मानिसले मलाई फलो वा अनफलो गर्ने क्रम चलिरह्यो। त्यतिबेला मलाई पछ्याउनेको सङ्ख्या बढी थियो। त्यस छायाङ्कनबारे युवाहरूबीच निकै चर्चा भयो। यो सबै मिश्रित अनुभव थियो।”
यसै वर्ष रामले बेयर नामक शृङ्खलाका लागि दुई मोडलको तस्बिर खिचियो र केही तस्बिर इन्स्टाग्राममार्फत् साझा गरियो। ती तस्बिरहरूलाई मानिसहरूले सकारात्मक प्रतिक्रिया आएको र कुनै प्रश्न नउठेको उनले बताए।
धेरैभन्दा धेरै महिला र पुरुष मोडलहरू कलात्मक शैलीमा खिचिएको अवस्थामा नग्न तस्बिर खिचाउन तयार देखिने रामको भनाई छ। हाल उनी पुरुषहरूको नग्न तस्बिर खिच्नेबारे सोचिरहेका छन्। “सामाजिक सञ्जालले मानिसलाई परम्परागत सञ्चारमाध्यम र विज्ञापनभन्दा बढी स्वतन्त्र रूपमा प्रस्तुत हुन दिन्छ,” उनले अनुभव सुनाए।
अहिले प्रकाशन बन्द भएको डेबोनएयर म्यागेजिन जसलाई प्लेब्वाइ म्यागेजिनको भारतीय संस्करण मानिन्छ त्यसलाई सम्पादन गरेका विनोद मेहताले एउटा घटनाक्रम सम्झिए जसले नग्नता र यौनिकताको बारेमा भारतीय मनोवृत्ति उजागर गर्छ।
१९७५ को भारतीय सङ्कटकालमा जब प्रेस सेन्सरशिप लागू भयो तब मेहतालाई सङ्घीय मन्त्रीले दिल्लीमा हिरासतमा लिए। किनकि उनले सम्पादन गर्ने म्यागेजिनको मध्य पृष्ठमा प्राय: अर्ध नग्न महिलाहरूको तस्बिर छापिन्थ्यो। मेहताले मन्त्रीलाई आधा दर्जन तस्बिरहरू देखाए।
उनको आँखा एउटा करिब ९० प्रतिशत नग्न महिलाको तस्बिरमा पर्यो। उनले उक्त तस्बिरलाई अलग्गै राखे। “मैले यसपालि मध्य पृष्ठ नराख्दा हुन्छ कि भन्नेबारे चासो राखे। उनी हताश देखिए र त्यसलाई सभ्य देखिने गरी निरन्तरता दिन सुझाए,” मेहताले आफ्नो संस्मरणमा लेखेका छन्।