विप्लव’ नेकपाको चेतावनी : हातमा दही जमाएर बस्दैनौँ, गम्भीर अवस्था निम्तिन सक्छ

Spread the love

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’सहित नेताहरूविरुद्ध पक्राउ पूर्जी जारी भएपछि नेकपाले आपत्ति जनाएको छ।

नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले विज्ञप्ति जारी गर्दै आपत्ति जनाएका हुन्।

उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आजका मितिसम्म हाम्रो पार्टी तीनबुँदे सहमतिको मर्म, वार्ता एवं सहमतिको माध्यम र शान्तिपूर्ण तरिकाप्रति दृढ छ र अक्षरशः लागू गरिराखेको छ। २ बुँदे सहमतिपछि ५ महिनासम्म चलेको ओली सरकारले यसलाई इमान्दारीताका साथ लागू गरेन। गठन भएको तेस्रो दिनमा वार्ता भई तीनबुँदे सहमति लागू गर्ने प्रतिबद्धता व्यक्त गरेको देउवा सरकारले पनि एक वर्षसम्म पटक पटक वार्ता गरे पनि लागू गरिराखेको छैन।’

सरकार देश र जनताको मुद्दामा प्रवेश नै नगरेको आरोप उनले लगाएका छन्। सरकारले अहिलेसम्म पार्टीका राजनीतिक बन्दीहरूलाई रिहा नगरेकोप्रति उनले असन्तुष्टि जनाएका छन्।