काठमाडौं– जनता समाजवादी पार्टी (जसपा)की सांसद रेणुका गुरुङले मंगलबार प्रतिनिधि सभा बैठकमा आफूलाई लक्षित गरी बम प्रहार भएको बताइन्। आफू बस्ने ठाउँमा बम हानिएको भन्दै उनले आजीवन व्यक्तिगत सुरक्षाकर्मी (पीएसओ) पाउनुपर्ने माग राखिन्।
आफूलाई लक्षित गरी आफ्नो घरमा बम प्रहार भएपछि प्रहरीमा खबर गरेको सांसद गुरुङको भनाइ छ। उनको घर रहेको क्षेत्र प्रहरी वृत्त महाराजगञ्जअन्तर्गत पर्छ। प्रहरी वृत्त महाराजगञ्जले भने उनले भनेको जस्तो बम प्रहार नभएको बताएको छ।
नेपाल लाइभको जिज्ञासामा प्रहरी वृत्त महाराजगञ्जका एक प्रहरी अधिकृतले भने, ‘उहाँले बम प्रहार भयो भनेर नै खबर गर्नुभएको थियो। तर, पछि बम भनिएको कुरा सामान्य पटाका मात्रै भएको खुल्यो। तिहारमा पड्काउने गरिएको पटाकाजस्तै हो भनेर अवगत गराएर हाम्रो टोली त्यहाँबाट हिँडेको हो।’
प्रहरीले पहिले नै पटाका मात्रै हो भनेर ‘क्लियर’ गराएको बताए पनि सांसद गुरुङले भने आफ्नो ज्यानमाथि नै खतरा भएको भन्दै मंगलबार संसद् बैठकमै उक्त घटनालाई उठाइन्। ‘राष्ट्र लाई माया गरेको’ देखि नसहनेबाट आफू असुरक्षित भएको उनको भनाइ थियो।
सांसद गुरुङले भनिन्, ‘मेरो देशलाई शीरमा राखेर हिँडेका कारण मसँग प्रशंसा र प्रमाणपत्रको थुप्रो छ। मैले देशलाई माया गरेको मन नपराउनेले घरमा रकेट बम हाने। कम्पाउन्डभित्र खसेको रकेट बमको खोल प्रहरीले लिएको छ।’
उनले सोमबार राति ८:२५ बजे ‘देशद्रोही’ले आफ्नो घरमा रकेट बम प्रहार गरेको र त्यसको खोल प्रहरीले लिएको बताएकी छिन्। उनको भनाइ छ, ‘बम हान्ने २ जना मोटरसाइकलमा गएको थिए। अँध्यारोमा चिनिनँ। प्रहरीलाई खबर गरेँ। प्रहरी आएपछि आगनमा ओर्लिएँ। रकेट बमको खोल दिखयो। प्रहरीले लिएर गएको छ।’
आफ्नो र घर परिवारको सुरक्षार्थ उनले सुरक्षा माग गरिन्। सुरक्षामा उनले पूर्व राज्यमन्त्रीले पाउने तहको पीएसओ आजीवन दिन माग गरेकी छन्।