ओलीलाई व्यंग्य गर्दै सांसद महतले भने- ‘शपथग्रहण सम्बन्धी विधेयक ल्याउँ’

Spread the love

काठमाडौँ — नेकपा (माओवादी केन्द्र) का सांसद गजेन्द्रबहादुर महतले सत्तामा र विपक्षमा रहँदा पनि एउटै शब्द उच्चारण हुने किसिमको शपथग्रहण सम्बन्धी विधेयक ल्याउन माग गरेका छन् । प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी ओलीप्रति व्यंग्य गर्दै सांसद महतले यस्तो बताएका थिए ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा सांसद महतले पूर्वप्रधानमन्त्री समेत रहेका केपी ओलीले राष्ट्रपतिले भनेका कुरा नै उच्चारण नगरेको भन्दै नयाँ विधेयक ल्याउनु पर्ने भन्दै व्यंग्य गरेका थिए ।
पूर्वप्रधानमन्त्री ओलीले शपथग्रहण गर्दा राष्ट्रपति विद्यादेवी भण्डारीले भनेका कुराहरूको नै उच्चारण नगरेको भन्दै संसदबाटै एउटै शब्द उच्चारण हुने गरी विधेयक पास गर्नुपर्ने बताएका थिए ।

उनले शपथ मान्छेको नैतिकता र संस्कारसँग सम्बिन्धत रहेकाले हास्यव्यंग्यको पात्र नबन्ने गरी विधेयक ल्याउनु पर्ने उनको आग्रह थियो ।

‘शपथको कुरा छ । सत्तामा रहँदा एउटा शपथ र विपक्षमा रहँदा अर्को शपथ हुन्छ । यो कुरा मान्छेको एउटा नैतिकतासँग संस्कारसँग पनि सम्बन्धित हुने रहेछ । हाम्रो सम्मानित प्रधानमन्त्रीले यसभन्दा अघि शपथ खाने बेला ठूलो हास्यव्यंग्य बन्यो । हामीले अब के गर्नुपर्छ भने जे शपथ खाने हो त्यो यहीँ पास गरौं । शपथ खुवाउनेले एउटा र शपथ खानेले एउटा नगरौँ । जनता भन्ने पनि यहीँ लेखौं, ईश्वर भन्ने भए पनि यही लेखौं । महामहिम राष्ट्रपतिले एउटा भन्नुहुन्छ, प्रधानमन्त्रीले अर्को भन्नुहुन्छ । त्यो यहीँ पास गरौं नत्र हामी हास्यव्यंग्य जस्तो हुन्छौं । यी कुराहरुमा ख्याल होस्, हामी हास्यव्यंग्यको पात्र नबनौं ।’