काठमाडौं ।
आगामी मंसिर ४ गते तोकिएको प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँट गर्न सत्ता गठबन्धनले गठन गरेको कार्यदलको पहिलो बैठक आज बस्दै छ ।
सिट बाँडफाँटको मोडालिटी तयार पार्न बनाइएको कार्यदलको बैठक आज दिउँसो ३ बजे बस्न लागेको हो । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तयारी गरिएको कार्यदलका एक जना सदस्यले जानकारी दिए।
यही साउन २० गते बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले आसन्न निर्वाचनमा तालमेल गर्ने निर्णय गर्दै सिट बाँडफाँटका लागि ११ सदस्यीय कार्यदल गठन गरेको थियो ।
कार्यदलमा नेपाली कांग्रेसबाट कृष्णप्रसाद सिटौला, महामन्त्री गगनकुमार थापा र ज्ञानेन्द्रबहादुर कार्की छन् भने माओवादी केन्द्रबाट वर्षमान पुन र जर्नादन शर्मा छन् । यस्तै, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट रामसहाय यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन् ।कार्यदललाई कुन दलले कति सिट लिने भनेर साउन अन्तिम सातासम्म सिफारिस गर्न भनिएको छ ।
गठबन्धनमा सिट बाँडफाँडको प्रारम्भिक प्रस्ताव, गठबन्धनभित्रै उपगठबन्धनको गृहकार्य
गठबन्धनभित्रै उपगठबन्धनको गृहकार्य : माओवादी, एकीकृत समाजवादी, जसपा र जनमोर्चा उपगठबन्धनको छलफलमा, बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी र वामदेव गौतमको नेकपा एकता अभियान पार्टीसहितका प्रगतिशील शक्तिलाई पनि समावेश गराउने तयारी
औपचारिक रूपमा सिट बाँडफाँडमा प्रवेश नगरे पनि सत्तागठबन्धनका शीर्ष नेताहरूले फरक–फरक प्रस्ताव ल्याएका छन् । अनौपचारिक छलफलमा सिट बाँडफाँडबारे कांग्रेस र गठबन्धनका अन्य शीर्ष नेताका भिन्दाभिन्दै प्रस्ताव आएका हुन् ।
कांग्रेसले आफ्नो पक्षमा बहुमत आउने गरी सिट बाँडफाँड प्रस्ताव गरेको छ । एक सय ६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये आफूले ९५ सिट राखेर बाँकी ७० सिट गठबन्धनका अन्य दललाई दिने उसको प्रस्ताव छ । माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले कांग्रेसबाहेकका चार दलले ८५ सिट पाउनुपर्ने अडान राखेका छन् ।
संघको बाँडफाँड टुंगिए त्यही अनुपातमा प्रदेशको सिट पनि बाँड्न सकिने नेताहरूको बुझाइ छ । शुक्रबार बस्ने गठबन्धनको बैठकमा तालमेलबारे औपचारिक निर्णय हुने र सिट बाँडफाँडबारे प्रारम्भिक छलफल हुन सक्ने नेताहरूले बताएका छन् ।
०७४ को नतिजा र ०७९ को स्थानीय तह निर्वाचन परिणाम सिट बाँडफाँडको मुख्य आधार हुन सक्ने नेताहरू बताउँछन् । तालमेलमा सहमति जुट्न नसके गठबन्धनमा रहेका कांग्रेसबाहेकका दलहरूले प्रगतिशील मोर्चाको तयारी पनि गरिरहेका छन् । उनीहरूको ५० प्रतिशत सिट सुनिश्चित हुने गरी कांग्रेससँग छलफल गर्ने तयारी छ ।
उपगठबन्धनको गृहकार्य
पाँचदलीय गठबन्धनभित्र रहेका वाम–समाजवादी पार्टीले उपगठबन्धनको गृहकार्य गरेका छन् । माओवादी, एकीकृत समाजवादी, जसपा र जनमोर्चाबीच उपगठबन्धनको गृहकार्य भइरहेको छ । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी र वामदेव गौतमको नेकपा एकता अभियान पार्टीसहितका प्रगतिशील शक्तिलाई पनि समावेश गराउने तयारी छ ।
प्रगतिशील धारको शक्ति निर्माण गरेर निर्वाचनमा जाने विषयमा छलफल जारी रहेको नेताहरूले बताएका छन् । ‘पाँचदलीय गठबन्धन घोषणा गरेर निर्वाचनमा जान्छौँ । यसबाहेक हामी अर्को मोर्चा पनि बनाउन गइरहेका छौँ ।एकीकृत समाजवादी, माओवादी, जसपा र जनमोर्चाबीच मोर्चा बनाएर अघि बढ्न खोजिरहेका छौँ,’ एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भने ।
संयुक्त शक्तिसहित कांग्रेससँग सिट बाँडफाँडको छिनोफानो गर्ने संकेत नेपालले गरे । उनले भने, ‘कांग्रेसलाई हामी नै सबै थोक हौँ भन्ने परेको हुन सक्छ । विगतमा पनि सर्वेसर्वा मै हुँ भन्दा धेरै बिग्रिएको छ ।
त्यसकारण हामी पनि केही हौँ भन्ने समय आएको छ । यसका लागि अर्को चुनावी मोर्चा बनाउनुपर्ने, वाम शक्ति मिलेर जानुपर्ने अवस्था छ,’ नेपालले गठबन्धनभित्र उपगठबन्धनको आवश्यकताबारे भने ।
कांग्रेसलाई दबाबमा राख्न पनि यस्तो मोर्चा चाहिएको नेपालको भनाइ छ । ‘भोलि निर्णय त हुन्छ, तर हात्ती आयो, हात्ती आयो फुस्सा भयो भने के गर्ने ? अन्तिम वेलामा यति लिने भए लेऊ नत्र जाऊ भन्ने अवस्था आयो भने रोएर बस्ने ? त्यसकारण आफ्नो शक्ति तयार गरेर अगाडि बढ्ने हो । शक्ति निर्माण गरेर अगाडि बढ्दा सम्भावना निकै राम्रो देखेको छु,’ नेपालले भने ।
नेपालले एमालेसँग भने सहकार्यको सम्भावना कमजोर रहेको बताए । ‘एकले अर्काको अस्तित्व नै स्वीकार नगर्नेसँग केही सहकार्य हुन्छ ? जसले अर्काको अस्तित्व नै स्वीकार गर्दैन त्यस्तासँग एकता हुँदैन,’ नेपालले भने, ‘जुन गाउँ जानै छैन, त्यस गाउँको बाटै नसोध्नु भन्छन् नि ! त्यसकारण विचार, धारणा, भावना र मन मिल्नेहरू मिलेर अगाडि बढ्ने हो ।’
माओवादी नेता हरिबोल गजुरेलले पनि पाँचदलीय गठबन्धनभित्र प्रगतिशील धार निर्माणबारे छलफल भइरहेको बताए । ‘पाँचदलीय गठबन्धनभित्र प्रोग्रेसिभ धार बन्छ, विभिन्न चरणमा छलफल भइरहेको छ । छिट्टै टुंगोमा पुग्छ,’ उनले भने ।
जसपा अध्यक्ष उपेन्द्र यादवले पनि विभिन्न चरणमा छलफल जारी रहेको बताए । ‘पाँचदलीय गठबन्धनबाटै निर्वाचनमा जाने हो । विभिन्न विकल्पमा छलफल भइरहेको छ । विचार मिल्नेहरू नजिकिनु स्वाभाविक हो,’ अध्यक्ष यादवले भने ।
चुनावी तालमेलबारे रणनीति
असार २७ गते सुरु भइ साउन २ गते सम्पन्न केन्द्रीय कार्यसमिति बैठकबाट काँग्रेस आम चुनावमा पनि पाँच दलीय गठबन्धनसँग चुनाव तालमेलको पक्षमा उभिएको छ ।
२०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा स्थानीय अवस्था र आवश्यकताका आधारमा काँग्रेस पाँच दलीय गठबन्धनमा सहभागी भएको थियो । कतिपय स्थानीय तहमा गठबन्धनसहित निर्वाचनमा भाग लिएको काँग्रेसले तालमेलबाट प्राप्त परिणामप्रति सन्तोषजनक जनाएको छ ।
संविधानको रक्षा र लोकतन्त्रको थप सुदृढीकरण गर्दै जनताको समुन्नतिको सपनालाई स्थिर सरकारमार्फत सम्बोधन गर्न पाँच दलीय चुनावी तालमेल गरेर अघि बढ्ने काँग्रेसको संस्थागत निर्णय छ । यस्तै काँग्रेसले आगामी निर्वाचनमा तालमेलमार्फत बहुमत ल्याउनेसम्मको लक्ष्य राखेको छ ।पाँच वर्षमा स्थिर सरकारमार्फत जनताको जीवनस्तरमा गुणात्मक सुधार ल्याउने स्पष्ट कार्यक्रमको खाकासहित आमनिर्वाचनमा प्रस्तुत हुनुपर्ने काँग्रेसको ठहर छ ।
तालमेल गर्दा मुख्य नेतृत्वदायी भूमिका रहेको यथार्थ, सांगठनिक वस्तुस्थिति तथा पार्टी पंक्ति एवं शुभेच्छुकको भावनालाई दृष्टिगत गर्दै गठबन्धनमा रहेका दलहरुसँग संवाद मार्फत निष्कर्षमा पुग्ने काँग्रेसले जनाएको छ ।
यता माओवादी केन्द्रले आम निर्वाचनपछि दोस्रो पार्टी हुने गरी गठबन्धन गरेर जाने नीति लिएको छ । माओवादी दोस्रो दल बनाउने गरी काँग्रेसका नेताहरूसँग समझदारी समेत बनाएको सो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको दाबी छ ।
प्रचण्डका अनुसार अहिले तेस्रो दलका रुपमा रहेको माओवादी केन्द्र आगामी निर्वाचनमा गठबन्धनको साथमा दोस्रो हुने गरी चुनावी तालमेलको रणनीति अख्तियार गरिएको छ ।
गत शनिवार काठमाडौंमा आयोजित माओवादी केन्द्रको प्रदेश समन्वय समितिको कार्यक्रममा उनले दोस्रो हुने गरी मात्र तालमेल हुने बताएका थिए । उनले भनेका थिए, ‘कम्तीमा पनि लेफ्ट मुभमेन्टको पहिलो हुने पुरै सम्भावना छ, मैले नेपाली काँग्रेसको नेतासँग कुरा गर्दा भनेको छु ।’
यस्तै नेकपा एकीकृत समाजवादीले पनि गठबन्धन गरेर जाने नीति लिएको छ । एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालका अनुसार साउन ३ मा काठमाडौंमा बसेको सचिवालय बैठकले चुनावमा पाँच दलीय गठबन्धन कायम राख्दै वाम एकताका लागि पहल गर्ने निर्णय गरेको थियो ।
आम चुनावमा नयाँ धरातलबाट गठबन्धनलाई कसरी अघि बढाउने एकीकृत समाजवादीको रणनीति छ । यसबारे एकीकृत समाजवादीको सचिवालय बैठकमा छलफल समेत भएको छ । बैठकले पाँच दलीय गठबन्धनको विकल्प नभएको निष्कर्ष निकालेको छ । पाँच दलीय गठबन्धन सङ्घीय र प्रदेश निर्वाचनमा विकल्प नभएको एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको भनाइ छ ।
गठबन्धन कायम राख्न पाँच दलका शीर्ष नेता सहमत भएको भन्दै उनले आफ्नो पार्टीले संघ र प्रदेशको निर्वाचनमा सोचेभन्दा बढी सिट हासिल गर्ने बताए । जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय जनमोर्चा पनि सत्ता गठबन्धनकै पक्षमा छन् । सत्ता गठबन्धन दलहरु आन्तरिक रणनीति बनाएर चुनावी तालमेलको पक्षमा संस्थागत रुपमा उभिएको अवस्था छ ।
दाबी आ–आफ्नो
१६५ निर्वाचन क्षेत्र मध्ये ९९ सिट आफूलाई राख्ने गरी तालमेलको प्रस्ताव अगाडि सार्ने काँग्रेसको तयारी छ । यता माओवादी केन्द्रले ५० सिटको दाबी गरेको छ । यस्तै एकीकृत समाजवादी २५ र जसपा १५ सिट पाउनुपर्ने अडानमा छ ।
राष्ट्रिय जनमोर्चाको एउटा सिट निश्चित जस्तै छ । माओवादी, एकीकृत समाजवादी, जसपा र जनमोर्चाको ९१ सिटको दाबी गर्दा ७५ सिट बाँकी रहन्छ । त्यसमा बाबुराम भट्टराईको नेतृत्वमा नवगठित नेपाल समाजवादी पार्टीलाई पनि समेटर जानुपर्ने गठबन्धनलाई चुनौती छ ।
अहिले दलहरुले आआफ्नो दाबी राखे पनि सबैले कम्प्रमाइज गर्ने गठबन्धनका नेताहरु बताउँछन् । सबै पार्टीको ५–१० सिट तलमाथि हुने सक्ने नेताहरुको भनाइ छ ।