नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन वाईसीएलको अध्यक्षमा सुवोध श्रीपाली चयन भएका छन् । राजधानीमा सम्पन्न राष्ट्रिय भेलाबाट श्रीपालीलाई अध्यक्षमा चयन गरिएको वाईसीएलका नेता पुष्प वलीले जानकारी दिए ।
यस्तै महासचिवमा गणेश शाही चयन भएका छन् । वलीका अनुसार केन्द्रीय समिति ३५१ सदस्यीय घोषणा भएको छ । जसमा पदाधिकारीमात्रै ६१ जनाको बनेको छ । पदाधिकारीमा वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव, कोषाध्यक्षलगायतको पद सिर्जना गरिएको छ ।
शुक्रबार वाईसीएलको राष्ट्रिय भेलाको उद्घाटन अध्यक्ष प्रचण्डले गरेका थिए । त्यसपछि बन्दसत्र सम्पन्न भएपनि निर्वाचन प्रक्रिया सुरु भएकामा सर्वसम्मत रुपमा श्रीपाली अध्यक्ष चयन भएका हुन् । यसअघि श्रीपाली वाईसीएलको सहसंयोजक थिए भने सुमन देवकोटा संयोजक थिए । देवकोटाको ४० वर्षे उमेर हद कटेपछि श्रीपालीको थाप्लोमा नेतृत्व आएको हो ।
यसअघिको सम्मेलनमा सुमन देवकोटा र श्रीपालीबीच नेतृत्व लिनेबारे विवाद भएपछि पार्टीको हस्तक्षेपमा देवकोटालाई संयोजक र श्रीपालीलाई सहसंयोजक बनाइएको थियो । तर, देवकोटाको ४० वर्षे उमेरहद पूरा भएपछि श्रीपालीलाई नै अध्यक्ष बनाइएको हो ।
यस्तै वाईईसीएलको महासचिवमा तीन जनाले मुख्यदाबी गरेका थियो । जसमा ज्ञानबहादुर गुरुङ, गणेश शाही र मिङमा डण्डु शेर्पा थिए । आन्तरिक छलफलपछि शाहीले बाजी मारेका छन् ।