काठमाडौं – नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले भारतीय राजदूतसँग भेट गर्न दूतावास पुगेका हुन ।
आज सामाजिक सञ्जालमार्फत भारतीय राजदूत नवीन श्रीवास्तवसँगको फोटो सेयर गर्दै डा। भट्टराईले भेटबारे जानकारी गराएका हुन् । उनले भेटमा नेपाल र भारतबीच आपसी हितका विषयमा विचारविमर्श भएको उल्लेख गरेका छन् ।
डा. भट्टराईले लेखेका छन्, ‘नवनियुक्त भारतीय राजदूत महामहिम नवीन श्रीवास्तवद्वारा शिष्टाचार भेट ! नेपाल र भारतबीचका आपसी हितका विषयमा विचारविमर्श !’
भेटमा भट्टराईकी छोरी मानुषी यमी भट्टराई पनि सहभागी थिइन् । मानुषी काठमाडौंबाट प्रतिनिधि सभा सदस्यमा चुनाव लड्ने तयारीमा छिन् ।
आमा हिसिला यमीले २०६४ सालमा चुनाव जितेको क्षेत्र काठमाडौं ७ या अहिले मानुषी बस्दै आएको क्षेत्र काठमाडौं ५ बाट चुनाव लड्ने तयारी रहेको छ ।
काठमाडौं ७ मा यसअघि एमालेका रामवीर मानन्धर विजयी भएका थिए भने ५ बाट ईश्वर पोखरेल विजयी भएका थिए । अहिले बाबुराम परिवार काठमाडौं ५ टोखा क्षेत्रमा बस्दै आएको छ ।
वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा काठमाडौंको मेयरमा बालेन्द्र शाह निर्वाचित भएपछि आगामी प्रतिनिधि सभा निर्वाचनमा चुनाव लड्न युवाहरू अघि सरेका छन् ।
काठमाडौं १ बाट पुकार बमले स्वतन्त्र रूपमा चुनावमा उठ्ने घोषणा गरिसकेका छन् । राजधानी शहर काठमाडौंमा युवाहरू राजनीतिमा आकर्षित भइरहेको समयमा मानुषीले उम्मेदवारी दिने चर्चा चलेको हो ।
राजनीतिक परिवारको सदस्य रहेपनि उनले क्याम्पसदेखि नै राजनीति शुरू गरेकी हुन् । २०६५ सालमा मानुषी त्रिवि केन्द्रीय क्याम्पस कीर्तिपुरको स्ववियु सचिव बनेकी थिइन् ।
पछि उनले स्ववियु सभापतिमा उठ्ने तयारी गरेपनि अन्तिम समयमा चुनाव नै स्थगित भएको थियो । माओवादी शान्ति प्रक्रियामा आएपछि उनी पार्टीको तल्लो कमिटीमा बसेर राजनीति गर्दै आएकी छिन् । त्रिविबाट राजनीतिशास्त्रमा स्नातकोत्तर मानुषी सामाजिक कार्यक्रमहरूमा समेत सहभागी हुँदै आएकी छिन् ।