बालेनको पक्षमा वाईसिएल, बस्नेततिर फर्किएर शेर्पालीले भने – मेयरलाई धम्की नदेऊ

Spread the love

नेकपा (माओवादी केन्द्र) को युवा सङ्गठन योङ कम्युनिस्ट लिग (वाइसिएल) ले अवैध संरचना भत्काउने काठमाडौँ महानगरका मेयर बालेन साहको कदमको समर्थन गरेको छ । वाइसिएलका नवनिर्वाचित अध्यक्ष सुबोध शेर्पालीले सामाजिक सञ्जालमार्फत अनधिकृत रूपमा खडा गरिएका संरचना हटाउने कार्यको स्वागत गरेका हुन् ।

राज्य कोषबाट कर छली गरी व्यवसाय सञ्चालनको प्रमाणसहित भवन,टहरा र पार्किङस्थल भत्काउँदा एकथरीको निद्रा हराएको भन्दै उनले केही गर्छु भन्ने अठोटका साथ स्वतन्त्ररूपमा निर्वाचित भएका बालेनलाई हतोत्साहित बनाउने गरी धम्की नदिन चेतावनी समेत दिए ।

उनले लेखेका छन्, “काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहको नेतृत्वमा अनधिकृत ढङ्गले सञ्चालनमा ल्याइएको साथै राज्य कोषमा कर छलिगरी व्यवसाय सञ्चालन गर्दा सप्रमाणसहित भवन, टहरा,एवं केही पार्किङ स्थलहरू भत्काइएकोमा एकथरी मनुवाहरूको निद्रा बिग्रेको छ । मेयर बालेन्द्र साहको पछिल्लो यो कार्य स्वागतयोग्य छ ।”

एमाले युवासंघका इन्चार्ज तथा भक्तपुरका सांसद महेश बस्नेतले बालेनमाथि गरेको भद्दा टिप्पणीप्रति इङ्गित गर्दै श्रीपालीले भनेका छन्, ‘केही गर्छु भन्ने अठोट गरी जनताबाट स्वतन्त्र रूपमा निर्वाचित भएका यो व्यवस्थाभित्र फुलेका फूल निमोठ्ने खालको अभिव्यक्ति र धम्की कसैले नदिए हुन्छ ।

मेयरज्यू,अघि बढ्नुहोस्, आफ्नो वा पराई कोही नभनी सधैँ जनता एवं राज्यको भौतिक सम्पत्तिमाथि रजाइँ गर्न खोज्ने प्रवृत्तिका विरुद्ध जनमतको साथ लिएर लम्कनुहोस् अवश्य पनि सफलता मिल्नेछ । शक्तिको आडमा बसेर कानुनविपरीत मनपरी गर्ने छुट कसैलाई पनि छैन । हुनु पनि हुँदैन ।”

मेयरको पछिल्लो कदमको चर्को आलोचना गरेका एमाले नेता बस्नेत सामाजिक सञ्जालमा बालेनका समर्थकहरुसँग ‘कुस्ती’ खेलिरहेका छन् ।