गृहमन्त्रीलाई बन्दुक चलाउने अधिकार छ, बोकेर हिँड्नुभयो भने के हुन्छ?: मीन विश्वकर्मा

Spread the love

सत्तारूढ नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मीनबहादुर विश्वकर्माले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले अराजक गतिविधिलाई बढावा दिइरहेको टिप्पणी गरेका छन्।

कामपाका मेयर शाहले अनधिकृत रूपमा बनाइएका भौतिक संरचना डोजर लगाएर भत्काउने काम गरिरहँदा कांग्रेस नेता विश्वकर्माको यस्तो प्रतिक्रिया बाहिर आएको हो।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले कानुनी दायरामा ल्याएर कारबाही गर्ने अधिकार हुँदाहुँदै मेयर शाहले ती भौतिक संरचना हटाउँदा अराजकता सृजना गरेको भन्दै आपत्ति समेत जनाए।

गृहमन्त्रीलाई बन्दुक चलाउने अधिकार भयो भन्दैमा बन्दुक चलाउन नमिल्ने तर्क गर्दै नेता विश्वकर्माले स्थानीय तहको बजार व्यवस्थापन गर्ने नाममा मेयरहरूले अराजक गतिविधि गर्न नहुने बताए।

यस्ता गतिविधिले अराजकतालाई बढावा दिने उनको भनाइ थियो।

नेता विश्वकर्माले भने, ‘हामी आज बजारमा के–के देख्दै छौ त? भत्काउँदै हिँड्नु भएको छ नि हैन, मेयर साब। हाम्रो सिष्टमले भनेको त्यो हो त? त्यसको कानुनी प्रक्रिया छैन? अब भोलिदेखि सबै मेयरहरूले भत्काउँदै हिँड्ने हो भने त। गृहमन्त्रीलाई बन्दुक चलाउने अधिकार छ। स्थानीय तहको बजार व्यवस्थापन गर्ने सबै अधिकार मेयरलाई छ। तर अधिकार छ भनेर शान्ति, सुरक्षा भएन भनेर गृहमन्त्री आफैंले बन्दुक बोकेर हिँड्नु भयो भने के हुन्छ? हाम्रो सिष्टमलाई कति व्यवहारिक र अनुशासित भएर सञ्चालन गर्छौं? हामीले छलफलयता केन्द्रित नगरेको हो कि? हामीले अराजक गतिविधिलाई बढावा दिइरहेका छौं। त्यसलाई विधि अनुसार चलाउनु पर्छ। गल्ती गर्नेलाई पत्र काटे भयो। उसलाई उपस्थित गराउने, बयान लिने र जरिवाना गरे भइहाल्यो। यतातिर ध्यान दिन जरूरी छ।’

नेता विश्वकर्माले गल्ती गर्नेहरूलाई मेयर शाहले बयान लिने, जरिवाना गर्ने प्रावधान भए पनि आतंकित बनाउने काम गरेको गुनासो समेत गरे।

उनले मेयर शाहको यस्तो गतिविधिले हाम्रो राजनीतिक प्रणालीमाथि नै आघात पुर्‍याउनेतर्क समेत गरे।