दैव नै निष्ठुरी बन्योः १२ कक्षामा कर्णालीकै उत्कृष्ट देवदर्शनले आफ्नै नतिजा हेर्न पाएनन्,

Spread the love

वैशाख २७ गते शुक्रबार जाजरकोटको जुनीचाँदे गाउँपालिकामा कर्णाली प्रदेश ०२००१ च ०३४९ नम्बरको जीप दुर्घटनामा पर्‍यो।

वैशाख २६ गते बिहीबार बेलुका सुर्खेतबाट जुनीचाँदे गाउँपालिका गएको उक्त जीपमा ११ जना सवार थिए। त्यसै जीपमा जुनीचाँदे गाउँपालिका–६ का १९ वर्षीया देव दर्शन सिंह पनि थिए।

जो गाउँपालिकाबाट नागरिकता बनाउने सिफारिस लिन सुर्खेतबाट गाउँतिर लागेका थिए। उनकी आमा कालिका सिंह पनि साथमै थिइन्।

सडक जोखिमपूर्ण भएपछि बिहीबार राति जीपमा सवार सबै जाजरकोटकै छेडागाड नगरपालिकामा पर्ने रादेउमा बास बसे। शुक्रबार बिहान जीप हिँड्यो। शुक्रबार बिहान ८ बजेतिर त्यही जीप दुर्घटनामा पर्‍यो। दर्शनकै गाउँ नजिक भएको दुर्घटनामा उनको घटनास्थलमै मृत्यु भयो।

साथमा गएकी आमा कालिकाले पनि अस्पताल लैजाने क्रममा ज्यान गुमाइन्। उनीहरूसहित जीपमा सवार तीनजनाको मृत्यु भएको थियो। उक्त घटनाले उतिबेला गाउँ नै शो कमा डुब्यो। दर्शनले नागरिकताको प्रमाणपत्र निकाल्न पाएनन्।

त्यो घटना केही समयपछि सेलायो। तर, त्यही घटनासँग जोडिएको वियोगान्त कथा संयोग बनेर आइपुगेको छ। १२ कक्षाको नतिजा आएसँगै एक दुःखसहितको बधाई समेटिएका शब्द मिश्रित तस्बीर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

जीप दुर्घटनामा मृत्यु भएका देवदर्शन सिंहको फोटो सामाजिक सञ्जालभरी छ। गत वैशाख १६ गतेदेखि २५ गतेसम्म राष्ट्रिय परीक्षा बोर्डले लिएको कक्षा १२ को परीक्षाको नतिजा आएसँगै देवदर्शन फेरि चर्चामा आएका छन्। जीवविज्ञान संकायबाट उनी कर्णाली प्रदेशमै दोस्रो भए। उनले ३.७० जीपीए ल्याएका छन्।

तिनै अभागी दर्शनले आफ्नो नतिजा हेर्न र सुन्न पाएनन्। बोर्डले शुक्रबार मात्रै कक्षा १२ को परीक्षाफल सार्वजनिक गरेको थियो।

एमबीबीएस पढ्ने योजनासहित अध्ययानरत दर्शन आफ्नो बल, मिहिनेतले नै केही गर्नुपर्छ भन्ने सोच राख्थे। उनका लागि उच्च शिक्षा अध्ययन गर्न सजिलो भने थिएन। मिहिनेती भएकै कारण छात्रवृत्तिमा पढ्न पाएका थिए। कक्षा १२ मा पनि राम्रो अंक ल्याएर छात्रवृत्तिमा काठमाडौं पढ्न जाने योजना बनाएका थिए।

त्यसका लागि उनी परीक्षा सकिएसँगै वैशाख २६ गते नागरिकता बनाउन जाजरकोट गए तर कहिलै नफर्किने गरी बिदा भए। विद्यालयका प्रधानाध्यापक सुशील भुसालले दर्शनलाई निकै मिहिनेती र इमान्दार विद्यार्थीका रुपमा सम्झिए।

‘बुबाआमालाई दुःख दिँदैनथे। भविष्यमा डाक्टर बन्ने योजनासाथ पढाईमा पनि मिहेनत गरिरहेका थिए। शिक्षकहरूले पनि उनलाई बाबु भनेर सम्बोधन गरेर माया गर्ने गर्नुहुन्थ्यो,’ भुसालले थपे, ‘उनी साँच्चिकै इमान्दार, लगनशील र बौद्धिक विद्यार्थी थिए। केही गर्नु पर्छ भन्ने इच्छाशक्ति भएको विद्यार्थी थिए।’,

आफू पिन्सिपलसँगै शिक्षक पनि भएकाले दर्शनलाई नजिकबाट चिनेको उनले सुनाए। ‘उनको आनीबानी बुझेको थिएँ। उनमा त्यस्ता केही कुरा विशेष थिए, जो अन्य विद्यार्थीमा पाउन मुस्किल छ’, भुसालले भने, ‘पढाई मात्र नभएर अतिरिक्त गतिविधि, राजनीतिक र सामाजिक कुरामा पनि उनको चासो र सक्रियता देख्दा मन प्रफुल्ल हुन्थ्यो’