सत्यमोहन जोशीसँग पहिलो भेट कहिले भयो मलाई याद छैन । उहाँ साहित्यसँग सम्बन्धित वरिष्ठ व्यक्ति र म पत्रकार । मेरो रिपोर्टिङकै सिलसिलामा भेट भएको हुनुपर्छ ।
उहाँ र मेरो सम्बन्ध बडो अचम्मको थियो । म उहाँलाई दाइ भनेर बोलाउथें, उहाँले मलाई भाइ भनेर सम्बोधन त गर्नुभएन, तर व्यवहार भने भाइलाई जस्तो गर्नुहुन्थ्यो ।
उहाँसँगै म भाउजूसँग पनि नजिक थिएँ । म दैनिकजसो बिहान उहाँको घरमा फोन गर्थें । उहाँहरू पर्वते भाषा राम्रो नजान्ने म नेवारी भाषा पूरा नजान्ने । अनि हामी आधा नेपाली आधा नेवारी भाषामा कुरा गर्थ्यौं ।
मलाई अहिले चिन्ता भाउजूको लागेको छ । उहाँको पनि धेरै उमेर भइसक्यो । दाइ हुँदा उहाँलाई धेरै आडभरोसा थियो । हुन त छोराछोरीले हेरचाह गर्लान् । तर, दाइ जानुको सबैभन्दा धेरै दुःख उहाँलाई भएको छ । १०३ वर्षसम्म बाँच्नु चानचुने कुरा होइन । तैपनि भाउजूलाई सहन साह्रै गाह्रो भयो होला ।
उहाँ पाटनको नेवार । नेपाली भाषा राम्ररी नआउने व्यक्ति जागिर खान लमजुङ जाँदा लोक साहित्य र संस्कृतिको अध्ययन गर्नुभयो र यसै विषयमा लय बसालेर काम गर्नुभयो । यदि सत्यमोहन लमजुङ, तनहुँ नगएको भए उहाँ नेपाली साहित्य, संस्कृति र सभ्यताको खानी हुनुहुँदैनथ्यो होला । उहाँ असाध्यै जाँगरिलो मान्छे, आफ्नो कामबाहेक पनि अतिरिक्त काम गरेर नै उहाँ सबैले चिन्ने सत्यमोहन जोशी हुनुभएको हो ।
सत्यमोहन दाइ स्वच्छ र साधारण व्यक्ति हो । उहाँ हरेक कुरामा सहज । खानेकुरामा पनि उहाँ साह्रै सजिलो, जे दियो त्यही साह्रै मिठो मानेर खाने । यही खानेकुरा चाहिन्छ भन्ने थिएन । सबैलाई समान व्यवहार गर्ने, म ठूलो हुँ भन्ने घमण्ड कहिल्यै देखिएन ।
धेरै कार्यक्रममा उहाँसँग भेट हुन्थ्यो । जहिले जहाँ भेटे पनि मलाई असाध्यै माया गर्नुहुन्थ्यो, म आदर गर्थें । उहाँ लोक भाषा, लोक साहित्य, लोक संस्कृति, समाज, देशलाई असाध्यै माया गर्ने मान्छे ।
लोक साहित्य, संस्कृति, कलालगायत नेपालको पहिचानसँग जोडिएका विभिन्न क्षेत्रमा जिज्ञासु रहेर दशकौंसम्म योगदान पुर्याएको कारण उहाँ सत्यमोहन हुनुभएको हो ।
मेरो जन्मदिनमा प्राय: म उहाँलाई घरमा निम्तो दिन्थें । कति औं जन्मदिन हो त मलाई याद भएन तर, उहाँ त्यो दिन अलि ढिलो आउनुभयो । दही र जेरी खाँदै हुनुहुन्थ्यो । सकिएको दहीको भाँडो हटाउन लागेको बेला ‘पख्नुस् न एक छिन भाँडो नलैजानू दही थप्नुपर्छ’ भन्नुभयो । त्यत्रो ठूलो मान्छेले साधारण व्यवहार गरेको देखेर सबै जना दंग परेका थियौं ।
म पञ्चायत व्यवस्था हुँदाको पत्रकार । तलब पञ्चायतको खाने तर, पञ्चायत व्यवस्था नचाहने । सत्यमोहन दाइसँग मेरो कहिलेकाहीं कुरा हुन्थ्यो । रासस छोडेपछि मैले एउटा लेख लेखें, ‘एसियाली मापदण्ड मन्त्रिमण्डलको मागिखाने भाँडो ।’ यही कारण म पक्राउ परें । त्यो बेला सत्यमोहन दाइले मेरो बारेमा एउटा लेख लेख्नुभएको थियो ।
पछिल्लो समय उहाँ अलि थाक्नुभएको थियो । बुढो भएपछि बाँच्न गाह्रो हुँदोरहेछ भन्नुहुन्थ्यो । एउटा संस्थाले ९५/९६ वर्षको उमेरमा उहाँलाई शताब्दी पुरुषको सम्मान दिएको थियो । ‘अब ४/५ वर्ष त म ग्रेसमा बाँच्दिनुपर्यो शताब्दी पुरुष भनिसके’ भनेर ठट्टा गर्नुहुन्थ्यो त्यतिबेला । (रिसालसँग सुमित्रा लुइँटेलले गरेको कुराकानीमा आधारित ।)