काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई निर्वाचनसम्बन्धी कसूरमा कारबाही गर्न निर्वाचन आयोगले बिहीबार जिल्ला प्रहरी कार्यालय रौतहटलाई पत्र पठाएको छ ।
निर्वाचन आयोगका सहायक प्रवक्तासमेत रहेका उपन्यायाधिवक्ता गुरु वाग्लेका अनुसार, अब जिल्ला प्रहरी कार्यालय रौतहटले कारबाही प्रक्रिया सुरु गर्नुपर्नेछ ।
‘यो आरोप लागेका कुनैपनि व्यक्तिलाई पक्राउ गर्ने वा नगर्ने भन्ने प्रहरीको स्वविवेकको विषय भयो’ वाग्ले भन्छन्, ‘तर निर्वाचन आयोगको पत्र पाएपछि प्रहरीले अनुसन्धान अघि बढाउनुपर्छ ।’
महान्यायाधिवक्ता कार्यालयमा कार्यरत एक सरकारी वकिलका अनुसार दुई वर्षसम्म कैद, एक लाख रुपैयाँ जरिवानाको सजाय व्यवस्था भएकाले पूर्वप्रधानमन्त्री समेत रहेका नेपाल पक्राउ पर्ने सम्भावना अत्यन्त कम छ ।
पक्राउ गर्नुपर्ने भएमा चाहिँ प्रहरीले उनीविरुद्ध जिल्ला अदालतबाट पक्राउ अनुमतिपत्र लिनुपर्छ । प्रहरीले निर्वाचन आयोगले पठाएको पत्रका विषयमा अनुसन्धान गर्न नेता नेपाललाई बोलाउन सक्छ ।
त्यसपछि निर्वाचन कसूरमा मुद्दा चल्ने वा नचल्ने भन्नेबारेमा राय सहित सरकारी वकिलको कार्यालयमा प्रतिवेदन दिनेछ । सरकारी वकिलले मुद्दा चलाउने निर्णय गरेमा जिल्ला अदालतमा मुद्दा अघि बढ्छ भने मुद्दा नचल्ने निर्णय गरेमा तहगत रुपमा निर्णय हुदै महान्यायाधिवक्ताले मुद्दा नचल्ने निर्णय सदर गर्छ ।
‘तर आयोगबाटै यसरी पत्राचार भइसकेपछि प्रहरीले कम्तीमा कागजात र प्रमाण संकलन गर्ने अनि अनुसन्धानका आधारमा एउटा निष्कर्ष निकाल्ने काम गर्छ’ महान्यायाधिवक्ता कार्यालयमा रहेका ती सरकारी वकिलले भने, ‘केही नभएपनि यो फाइल सरकारी निकायमा अभिलेखका रुपमा रहने निश्चित भयो ।’
केही दिनअघि आफ्नो चुनाव क्षेत्र रौतहट-१ को एक सार्वजनिक कार्यक्रममा नेता नेपालले आफूले गरेको कामको विवरण सुनाउने क्रममा वैदेशिक रोजगारीमा जानेलाई फ्रि भिसा फ्रि टिकट पनि सुरु भएको बताएका थिए ।
आफूले पत्राचार गरेपछि जिल्ला प्रहरी कार्यालयमा पठाएको पत्र र फाइलका बारेमा अब निर्वाचन आयोगको कुनै भूमिका र क्षेत्राधिकार हुदैन । तर आयोगले एकीकृत समाजवादीका उम्मेदवार नेपाललाई सोधेको स्पष्टीकरणका बारेमा भने निर्वाचन आयोगले थप प्रक्रिया अघि बढाई एउटा निष्कर्ष निकाल्छ ।
निर्वाचन आयोगका सहायक प्रवक्ता वाग्लेका अनुसार अब स्पष्टीकरणको प्रक्रिया निर्वाचन आयोगबाट अघि बढ्छ भने निर्वाचन कसुरको आरोपमाथिको कारवाही रौतहट प्रहरीले अघि बढाउँछ ।
काठमाडौं । भारतीय कांग्रेसले नयाँ नेतृत्व पाएको छ । गएको सोमबार भएको चुनावबाट मल्लिकार्जुन खड्गे नेतृत्वमा पुगेका हुन् । उनले प्रतिस्पर्धी शशि थरुरलाई सातहजार ८९६ मतले पराजित गरे ।
कांग्रेसको नेतृत्वका लागि दुई विख्यात उमेदवार थरुर र खड्गे मैदानमा थिए । तर, बाजी खड्गेले मारे । उनी १३७ वर्ष पुरानो पार्टीको नेतृत्वमा पुगेका हुन् ।
नेतृत्व चयनका लागि देशभर ४० मतदान केन्द्र र ६८ बुथमा मतदान भएको थियो । मतदान प्रक्रियामा ९ हजार ८०० जना प्रतिनिधि सामेल भएका थिए । जसमध्ये ९६ प्रतिशतले मतदान गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
बिहान १० बजेदेखि सुरु भई दिउँसो ४ बजेसम्म सञ्चालन भएको मतदानको नतिजा दिल्लीको अकबर रोडस्थित पार्टी मुख्यालयमा आज घोषणा भएको थियो ।
भारतीय कांग्रेसको नेतृत्व चयनका लागि पछिल्लो २४ वर्षमा पहिलोपटक चुनाव भएको हो । यसअघि सन् १९९८ मा सीताराम केसरीलाई हटाएर सोनिया गान्धीले नेतृत्व लिएकी थिइन् । सोनिया सबैभन्दा लामो समयसम्म पार्टी सभापति (१९९८–२०१९) बनिन् ।
सन् २०१७ र २०१९ बिच राहुल गान्धी सभापति बने । तर, सन् २०१९ मा भएको आम चुनावमा पार्टीले निराशाजनक प्रदर्शन गरेपछि उनले कमजोरी स्वीकार्दै पद त्यागे । अन्तरिम अध्यक्षको रूपमा आमा सोनिया गान्धीले नेतृत्व लिएकी थिइन् । अब खड्गे निर्वाचित भएसँगै नेतृत्व गान्धी परिवार बाहिर पुगेको छ ।
कांग्रेस भारतका सबैभन्दा पुराना पार्टीहरूमध्ये एक हो । तर, पार्टी लामो समयदेखि नेहरू–गान्धी परिवारको ‘जागिर’ गर्ने थलो भएको भन्दै भारतमा तीव्र आलोचना हुँदै आएको थियो ।
अहिलेसम्म परिवारका ६ सदस्यहरू मोतीलाल नेहरू, जवाहरलाल नेहरू, इन्दिरा गान्धी, राजीव गान्धी, सोनिया र राहुलले कांग्रेस पार्टीको नेतृत्व गरेका छन् । कांग्रेसको अस्तित्वको १३७ वर्षमा नेहरू–गान्धी परिवारका सदस्यहरूले मात्र एक सय वर्षभन्दा बढी समयसम्म पार्टीको नेतृत्व गरेका छन् । मोतीलाल नेहरू पहिलोपटक सन् १९१९ मा पार्टी सभापनि बनेका थिए । मोतीलालको पाँचौँ पुस्तासम्मले पार्टीको नेतृत्व गरे ।
पार्टीमा गान्धी परिवारको दबाबको आलोचनालाई रोक्न राहुलले पार्टीले पार्टी प्रमुखको रूपमा गैर–गान्धी चयन गर्नुपर्ने धारणा राखेको थिए । फलस्वरूप गान्धी परिवारको कट्टर बफादार मित्र खड्गे सभापतिका लागि उठे । उनलाई वरिष्ठ कांग्रेस नेताहरू र पार्टीको शीर्ष कमान्डको समर्थन थियो ।
खड्गेलाई खुला समर्थन गरेका पार्टीका कतिपय शीर्ष नेताहरूले थरुरलाई भेट्नसमेत नचाहेको भन्दै थरुर आफैँले आलोचना गरेका थिए । जसले कांग्रेसको सभापतिको चुनावको विश्वसनीयतामाथि प्रश्न पनि उठेको थियो ।
चाखलाग्दो कुरा त के छ खड्गेलाई मनोनयनमा ‘ग्रुप अफ २३’ (जी–२३) वरिष्ठ कांग्रेस नेताहरूको समर्थन गरेका थिए । जी–२३ तथाकथित विद्रोहीहरूको समूह हो, जसले अगस्ट २०२० मा सोनियालाई खुला पत्रमार्फत पार्टीमा प्रणालीगत परिवर्तन गर्न आग्रह गरेका थिए । थरूर सोही जी–२३ सामेल थिए ।
कर्नाटकको कालाबुर्गी जिल्लाको एक साधारण पार्टी कार्यकर्तादेखि सभापति पदको दौडमा खड्गेको यात्रा उतारचढावले भरिएको छ । दक्षिणका दलित नेता खड्गेलाई सभापति पदको दाबेदार बनाएर कांग्रेसले पार्टीभित्रको क्षमताको बलमा साधारण कार्यकर्ता पनि सभापतिमा पुग्न सकिन्छ भन्ने सन्देश कार्यकर्तालाई दिन खोजेको भारतीय विश्लेषकहरूको भनाइ छ ।
सन् १९७२ मा आफ्नो राजनीतिक करिअर सुरु गरेका खड्गेले कर्नाटकको कालाबुर्गी जिल्लाको गुरमितकल सिटबाट लगातार नौ पटक विधायकको चुनाव जितेका थिए । त्यसपछि उनलाई कन्नड भाषामा ‘सोल इलाडे सरदार’ भनियो, जसलाई चुनावमा हराउन असम्भव छ ।
पहिलोपटक सन् २००९ मा लोकसभामा निर्वाचित भएका उनी केन्द्रमा मनमोहन सिंह नेतृत्वको यूपीए सरकारमा मन्त्री बनेका थिए । आफ्नो कार्यकालमा उनले संविधान संशोधनका लागि अभियान चलाएका थिए । जसका कारण हैदराबाद र कर्नाटक क्षेत्रका जनताले शिक्षा र रोजगारीमा आरक्षण पाएका थिए । सन् २०१४ मा उनी लोकसभामा विपक्षी दलको नेता थिए । तर, २०१९ मा चुनाव हारे ।