मरिहत्ते गरेर पछि लागेपछि बिहे गरेँ, घरमा एक बोरा चामल पनि किनेकी छैनन् : जेरीबारे शंकरको टिप्पणी

Spread the love

काठमाडौं । श्रीमती बबिता बानियाँ (जेरी) विरुद्ध डिभोर्स केस फाइल गरेका दोहोरी कलाकार शंकर क्षेत्रीले आफूहरुको प्रेम र दाम्पत्य जीवनबारे मिडियामा मुख खोलेका छन् । जेरीको अपारदर्शी व्यवहार र घमण्डका कारण सम्बन्ध टुटाउने निर्णयमा आफू पुगेको उनको भनाइ छ ।

युट्युब च्यानल ‘के छ नेपाल’ का लागि गायिका अनिता चलाउनेलाई लामो अन्तर्वार्ता दिँदै शंकरले जेरीसँगको सम्बन्धबारे वृतान्त सुनाएका हुन् । जेरीले मरिहत्ते गरेर पछि लागेपछि आफूले उनलाई प्रेम गरेको शंकरले बताएका छन् । दाम्पत्य सम्बन्धमा दरार आउनुमा जेरीलाई नै उनले जिम्मेवार ठहर्‍याएका छन् ।

‘एकतर्फी रूपमा मलाई माया गर्छु भनेर मरिहत्ते गर्नुभयो । ठीकै छ, आफूलाई चाहने मान्छेको मन दुःखाउनुहुँदैन भनेर सँगै काम गर्दै जाँदा मलाई पनि माया लाग्न थाल्यो’, शंकर भन्छन् ।

शंकरका अनुसार जेरी केही समयदेखि लगातार माइतमा बस्दै आएकी थिइन् । यसले पनि सम्बन्धमा चिसोपना ल्याएको उनको भनाइ छ । आफूले सम्बन्ध अन्त्य गर्न चाहनुको वास्तविक कारण भने डिभोर्स फाइनल भएपछि मात्रै बाहिर ल्याउने उनले बताएका छन् ।

आफ्नो जीवन संघर्ष, जेरीसँगको प्रेम, विवाह र डिभोर्सको तयारीबारे शंकरको बयानका मुख्य अंश यस्ता छन् :

म निकै संघर्ष गरेर यहाँसम्म आएको हुँ । एसएलसीपछि क्याम्पस पढ्न काठमाडौं आएँ । तर, पैसा थिएन । रेस्टुरेन्टमा भाँडा माझ्ने, पीठो मुछ्ने काम गरें । त्यसपछि दुईवटा घरमा घरेलु कामदारको रुपमा पनि काम गरें । पछि साथीभाइको सल्लाह र सल्लाहमा वैदेशिक रोजगारीका लागि गएँ ।
म वैदेशिक रोजगारीका लागि आबुधावीमा रहँदा उहाँसँग फेसबुकबाट चिनजान भयो । मेरो त्यहाँ राम्रै थियो, ५०-६० हजार रुपैयाँ कमाउँथे । तर, मलाई कलाकारितामा रुचि थियो । उहाँले मलाई नेपाल फर्केर कलाकारितामा संघर्ष गर्न सुझाव दिनुभयो । मिलेर काम गर्ने प्रस्ताव गर्नुभयो ।

म आफ्नो भिसा सकिएपछि नेपाल फर्किएँ । उहाँसँग भेट भयो । उहाँलाई तपाईं मलाई मनपर्‍यो, राम्रो लाग्यो भन्नुभयो । मैले चाहिँ फेसबुकमा कुरा गरेको भरमा माया हुँदैन, एक-अर्कालाई बुझ्दै जाउँ भनेको थिएँ । तर, उहाँले जबरजस्ती नै गर्नुभएको हो । मेरो माया नपाए आत्महत्या गर्छुसमेत भन्नुभयो । यसरी मरिहत्ते गरेपछि मैले पनि उहाँलाई माया गर्न थालेको हुँ । भनिन्छ नि, आफूले माया गर्ने मान्छेभन्दा आफूलाई माया गर्ने मान्छेको कदर गर्नुपर्छ ।

मैले प्रेम सम्बन्ध स्वीकार नगर्दा पनि उहाँ मेरो रुममा बारम्बार आउनुहुन्थ्यो । मलाई अप्ठेरो लाग्थ्यो । यसरी रुममा आइराख्नु हुँदैन, आफ्नै ठाउँमा बस भन्थें । उहाँ चाहिँ होइन म त तपाईंलाई माया गर्छु, अलग्गिएर किन बस्ने भन्नुहुन्थ्यो । एकदमै जिद्दीपन देखाउनुभो । अनि मलाई पनि विस्तारै साँच्चै माया नै गर्दोरहेछ भन्ने फिल भयो ।

मसँग भेट भएका वेला उहाँ कतै पनि चर्चामा हुनुहुन्नथ्यो । महिनाको १० हजार तलब लिएर दोहोरी साँझमा गीत गाउनुहुन्थ्यो । मलाई पनि दोहोरी साँझमा जाउँ भन्नुभयो । ल हुन्छ भनें । उहाँले नै चिनेको ललितपुरको एउटा दोहोरी साँझमा काम लगाइदिनुभो । उहाँ चाहिँ ठमेलको फेवा रोदी क्लवमा काम गर्नुहुन्थ्यो । पछि ललितपुर काम गर्न टाढा भयो भनेर मैले चेञ्ज गरें । उहाँले मलाई सँगै काम गर्ने भनेर फेवामा लैजानुभयो । तर, त्यहाँ गुटबन्दी रहेछ । दुवैलाई एकसाथ नराख्ने भनेपछि दुवैले काम छोडेर अरु दोहोरीमा गयौं ।

हामीले मिलेर नै धेरै संघर्ष गर्‍यौं । म आफ्नो रुममा, उहाँ आफ्नो रुममा बस्ने गर्थ्यौं । तर, उहाँलाई धेरैजसो मसँगै बस्न मन पर्दोरहेछ । आफ्नो रुममा नगएर बारम्बार आफैं मेरो रुममा आउनुहुन्थ्यो । एकतर्फी रूपमा माया गर्छु भनेर मरिहत्ते गर्नुभयो । ठीकै छ, आफूलाई चाहने मान्छेको मन दुःखाउनुहुँदैन भनेर मैले पनि माया देखाउन थालें ।

केही समयपछि हामी सँगै बस्न थाल्यौं । २/३ वर्ष लिभ इनमा बस्यौं । उहाँ एकदम अल्छी मान्छे हुनुहुन्छ । मैले धेरै ‘इन्करेज’ गर्ने गर्थें । तिमीले अल्छी गर्नु हुँदैन भनेर काम गर्न प्रेरित गर्थें । पर्दाखेरी आर्थिक रुपमा पनि सहयोग गर्थें । मेरै सहयोग र प्रेरणाका कारण उहाँ अघि बढ्नुभयो र अलिअलि दर्शकले चिन्न थाल्नुभो ।

उहाँलाई गाईजात्रामा ल्याउन मेरो धेरै ठूलो हात छ । परेको वेला पैसा पनि दिएँ । स्क्रिप्टमा, निर्देशनमा सहयोग गरें । उहाँले स्टुडियोमा रेकर्ड गर्नुहुन्थ्यो, म यसो गर्नुपर्छ, त्यसो गर्नुपर्छ भनेर बाहिरबाटै गाइड गर्थें । उहाँको प्रतिभालाई माझ्ने काम गरें । अनि विस्तारै उहाँलाई दर्शकले चिन्न थाल्नुभयो । मैले उहाँलाई चिन्दा उहाँसँग नाम, दाम केही थिएन । त्यसैले उहाँलाई जेरीको रुपमा परिचित बनाउन मेरो पनि ठूलो हात छ ।

उहाँ एग्रेसिभ टाइपको हुनुहुन्छ । सबै कुरा मिलिरहेको थियो । बिहेको सात महिनामा हाम्रो बच्चा भयो । त्यति वेलासम्म मान्छेले धेरै चिन्न थालेपछि उहाँमा एक किसिमको घमण्ड आयो । उहाँले मलाई सबैले चिने, मैले जे भने पनि हुन्छ, जे गरे पनि हुन्छ भन्ने टाइपको व्यवहार देखाउन थाल्नुभयो । पैसा कमाउन थालिसकेपछि झूट बोल्ने, प्रस्ट व्यवहार नगर्ने गर्न थाल्नुभयो । यसले सम्बन्धमा तिक्तता आउन थाल्यो । मेरो कुरा सुन्न छोड्ने, आफ्नो कुरामात्रै लाद्न खोज्ने जस्तो भएपछि मलाई चित्त दुःख्यो ।

उनले बुहारीको रुपमा घरमा केही गरेको छैन । उहाँले घरपरिवारको वास्ता पनि गर्नुहुन्न । बुवाकै कमाइले मेरो घर चलेको छ । बाहिरबाट हेर्दा यत्रो व्यवसाय गरेका छन्, पैसा त टन्न कमाएका होलान् भन्ने लाग्छ । तर, अहिलेसम्म घरमा एक बोरा चामल किन्नुभएको छैन उहाँले । पहिले भेट्दा पनि लोनमा छु भन्नुहुन्थ्यो । अहिले पनि लोनमै छु भन्नुहुन्छ । उहाँ आफ्नो पैसा के गर्नुहुन्छ, कसलाई दिनुहुन्छ मलाई केही थाहा हुँदैन । एकपटक सोधेको थिएँ, महाभूकम्प आयो घरमा । त्यसपछि सोध्न छाडें । कार्यक्रममा हिँड्दा चाहिँ आधा-आधा व्यहोर्ने गरिएको छ । केही पैसा मेरै गयो होला बढी । उहाँको पैसामा कहिले पनि राज गरिनँ ।

छोरी जन्मेपछि परिपक्वता आउँछ कि भन्ने थियो । तर, त्यो निराशामा बदलियो । हिजो केही नहुँदा मरिहत्ते गर्नुभो । पछिपछि लाग्नुभयो । झुण्डेर मर्दिन्छु पनि भन्नुभयो । पछि नाम, दाम भएपछि उहाँ मात्तिनुभयो जस्तो लाग्छ । घरमा भन्दा धेरै माइतीमै बस्न थाल्नुभयो । डेढ वर्ष भइसक्यो उहाँ माइतीमा बसेको । दुई दिन मसित बसेपछि तेस्रो दिन फेरि माइतीमा गइहाल्नुहुन्छ । म घर पनि सम्हाल्नुस् भन्छु । तर, बच्चा बोक्ने अनि सामान पोको पारेर माइत टाप कस्ने । यसले मलाई तनाव भयो । उहाँलाई मैले स्वतन्त्र तरिकाले बाँच्न दिइनँ रे ! स्वतन्त्रता पुगेन रे अझै ! जबकि मैले जे गर्छु भने पनि कहिल्यै रोकेको छैन । अब कस्तो खालको स्वतन्त्रता चाहियो ?

मैले उहाँलाई विश्वास गर्नु मेरो कमजोरी भयो होला । नत्र आफ्नो श्रीमतीलाई कसले धोका दिने सोच्छ ? उहाँलाई धोका हुने केही काम पनि गरेको छैन मैले । उहाँको व्यवहारबाट मलाई चाहिँ धोका भयो । उहाँको व्यवहार पारदर्शी भएन । घरभन्दा बाहिर बढी बस्न रुचाउनुभयो । माइत भनेर बसेपछि कहाँ जानुहुन्छ, के गर्नुहुन्छ मलाई थाहा हुँदैन । यसले गर्दा एक-अर्कामा शंका उत्पन्न भयो होला । धेरैचोटि माइतबाट सम्झाएर ल्याएँ । विवाहित महिला सधैं माइत बस्छ, घरमा श्रीमानको कुरा सुन्दैन भने यसरी जिन्दगी जाँदैन । हाम्रो बीचमा बच्चा पनि छ । सधैं माइत नै बस्नुपर्छ भने हामी छुट्टियौं भनेर मैले आफैंले मुद्दा दायर गरेको हुँ ।

मेरो चाहना अहिले पनि डिभोर्स होइन । उसलाई छोडौं भन्ने होइन । उहाँले यदि आफ्ना नराम्रा कुराहरु सुधार्छु भने म अझै पनि डिभोर्स फाइल क्यान्सिल गर्न तयार छु । तर, उहाँले त्यो गर्नुहुन्न । उहाँ कस्तो जञ्जालमा फस्नुभएको छ मलाई थाहा छ । मिल्न चाहन्छु भनेर बनावटी रुपमा मिडियामा बोल्नुभयो, त्यसमा मलाई खासै विश्वास लाग्दैन ।

मैले देखाएको कारणभन्दा धेरै आन्तरिक कारण छन् । डिभोर्समा साइन भएको दिनमात्रै ती कुराहरु खोल्नेछु । प्रुफसहितका कारणहरु बताउनेछु ।
जहाँसम्म सम्पत्तिको कुरा छ, मैले सम्पत्ति के नै कमाएको छु र ? कमाएको पैसा गीत-संगीतमै लगानी गरियो । एक वर्ष कोरोनाले थला पार्‍यो । कम्पनी घाटामा नै छ । यस्तो महंगो शहरमा खानु-बस्नु परेको छ । अलिअलि घरमा बुवाले कमाउनुभएको छ, त्यही हो । मसित सम्पत्ति केही छैन भनेर बुझेर नै उहाँले केही चाहिँदैन भन्नुभएको हो । घरको अंश नै लैजाने हो भने पनि दाबी गरे हुन्छ ।

डिभोर्स भएमा बच्चा उहाँसँग रहने समझदारी छ । तर, यसको अर्थ बच्चाको जिम्मेमारी मैले बहन नगर्ने होइन । बच्चाको शिक्षादीक्षा, लालनपालन र अंशको अधिकार बाबुसँगै रहनेछ । त्यो मैले प्रत्याभूति गरेको छु । मेरै करले भएको बच्चा हो । उहाँलाई त चाहना पनि थिएन । मैले आग्रह गरेपछि तयार हुनुभएको हो । बच्चा पनि मजस्तै छ, त्यसैले धेरै माया लाग्छ ।

हामी मिल्न सक्ने चान्सेस अझै छ । उहाँले आफ्नो गल्ती मनन गर्नुहुन्छ, स्पष्ट व्यवहार गर्नुहुन्छ भने जति वेला पनि ‘वेलकम’ गर्न रेडी छु । तर, उहाँले मिडियामा बिहे गरेर विदेश जान्छु भन्नुभएको रहेछ । पहिले पनि मसित सम्बन्धमा रहँदा कसैसँग पेपर म्यारिज गरेर जापान जान लाग्नुभएको । मैले नै सम्झाएर रोकेको हुँ ।