काठमाडौं । फिल्म निर्देशक असिम शाह राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को तर्फबाट प्रतिनिधिसभामा समानुपातिक सांसद बनेका छन् । रास्वपाले निर्वाचन आयोगमा शनिबार बुझाएको १३ जनाको सांसद सूचीमा शाह पनि समावेश छन् ।
चलचित्र, विज्ञापन र संगीत क्षेत्रलाई प्रतिनिधित्व गर्ने शाह समानुपातिकबाट सांसद बन्ने सम्भवतः एक्ला व्यक्ति हुन् । मुस्लिम समुदायतर्फबाट शाह सांसद छानिएका हुन् । उनले प्राइमरीमा पनि धेरै मत ल्याएका थिए ।
कांग्रेस, एमाले, माओवादीसहितका अन्य दलबाट बुझाइएको समानुपातिक सांसदको सूचीमा यस क्षेत्रलाई प्रतिनिधित्व गर्ने व्यक्ति समावेश छैनन् ।
निर्देशक शाहले फिल्म, कला र संगीत क्षेत्रको मुद्दालाई आफूले संसदमा प्रस्तुत गर्ने बताए । ‘मैले सक्दोरुपमा यस क्षेत्रको मुद्दालाई संसदमा प्रस्तुत गर्छु,’ उनले भने ।
शाह निर्देशित फिल्म ‘२ रुपैयाँ’ पाँचवर्षअघि रिलिज भएको थियो । घरेलु बक्स अफिसमा राम्रो कमाइ गरेको यो फिल्मले उनलाई फिल्म निर्देशकको रुपमा स्थापित गरेको थियो ।
शाहको फिल्म कम्पनी यतिबेला नयाँ फिल्म ‘डामाडोल’ निर्माणको तयारीमा छ । यो फिल्मलाई पनि उनले निर्देशन गर्ने तयारी गरिरहेका थिए । सांसद बनेपछि उनले फिल्म निर्देशनलाई निरन्तरता दिने वा नदिने टुंगो छैन ।
प्रत्यक्षतर्फ उम्मेदवार कलाकारिता क्षेत्रका कोही पनि निर्वाचित भएनन् । समानुपातिकमा पनि कला क्षेत्रबाट नाम सिफारिस भए पनि अन्तिम सूचीमा ठूला दलले नाम छनोट गरेनन् ।