विना लामा राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद हुन्। क्रिस्चियन धर्म मान्ने विना नेपालको पहिचान हिन्दु राष्ट्रको रूपमा हुनुपर्ने मत व्यक्त गर्छिन्। विना २०७४ सालमा धादिङको रूवीभ्याली गाउँपालिकाबाट उपाध्यक्षमा निर्वाचित भएकी व्यक्ति हुन्। यसपटक उनलाई राप्रपाले समानुपातिक तर्फबाट सांसद बनाएको हो। सेतोपाटीका मनोज सत्यालले उनीसँग गरेको कुराकानी:
तपाईं कसरी राजनीतिमा आउनुभयो। तपाईंको राजनीतिक पृष्ठभूमि के हो?मेरो बुवा, आमा, बाजेसहित परिवार राप्रपामा आस्था राख्ने परिवार हो। तर उहाँहरू कुनै पनि पद लिएर बस्नुभएन। मेरो मावलीतर्फको हजुरबुवा प्रधानपञ्च हुनुहुन्थ्यो। मेरो बुवा म ४ कक्षामा पढ्दा नै बित्नुभयो।
पढाइपछि मैले सरकारी सेवामा पाँचौं तहको जागिरका लागि आवेदन दिएँ। तर मेरो राजनीतिक पृष्ठभूमि खोजियो। मैले मेरो भनसुन गर्ने कोही नभएका कारण मेरो डकुमेन्टसम्म बुझिएन।
कुन कार्यालयमा?
अहिले त्यो नभनिहालौं। मलाई थाहा छ। मसँगै तीन जनाले आवदेन दिएका थिए। उनीहरू आफन्त थिए। मेरो डकुमेन्ट बलियो थियो। तर उहाँहरूले लिन मान्नुभएन। अनि मैले मेरो दाइलाई कागजात लिएन भनेर खबर गरें। दाइले पनि एकजना राजनीतिक पृष्ठभूमि भएको अर्को एकजना दाइलाई पठाउनुभयो। उहाँ आएपछि मेरो कागजात लिनुभयो। तर न त परीक्षाका लागि बोलाइयो। न त खबर नै गरियो। अनि दाइले मलाई भन्नुभयो- तिमी जति योग्य भए पनि राजनीति फोहोरी खेल छ। तिमी नै पस्नुपर्छ, युवाहरू राजनीतिमा लाग्नुपर्छ भन्नुभयो।
त्यसपछि म स्ननातक पढ्दा पढ्दै गाउँ गएर पार्टीको गाउँ इकाईमा निर्वाचित भएँ। त्यसपछि क्षेत्रबाट महाधिवेशन प्रतिनिधि भएँ। २०७४ सालको स्थानीय निर्वाचनमा म धादिङको रुवि भ्याली गाउँपालिकामा चुनाव लडेँ। हाम्रो पार्टीको अजेण्डा हिन्दु राष्ट्र, राजसंस्थाको थियो। म एउटा क्रस्चियन स्कूल पढेको, क्रिस्चियानिटीमा विश्वास गर्ने त्यसमाथि रुवी भ्याली गाउँपालिकामा ८० प्रतिशत भन्दा माथि क्रिस्चियानिटीमा विश्वास गर्ने जनसंख्या भएकाले मैले जित हात पारेँ।
राप्रपाले हिन्दु राष्ट्रमा विश्वास गर्छ। तपाईं इसाई धर्ममा विश्वास राख्नुहुँदो रहेछ। तपाईंलाई नेपालमा धर्मनिरपेक्षता हुनुपर्छ भन्ने लाग्दैन? किन हिन्दु राष्ट्र हुनुपर्छ भन्ने लाग्छ?
म दाजुभाइ/दिदीबहिनीहरूलाई सोध्न चाहान्छु- धर्मनिरपेक्ष भनेको के हो? धर्मसापेक्ष भनेको के हो? धर्म मानेनौं भने हामी अनुशासनमा बस्न सक्दैनौं। जे गरे पनि भयो। जे बोले पनि भयो।
पाप धर्मको कुरै आउँदैन। त्यसैले धर्मनिरपेक्ष हुनु राम्रो मानिदैन। पहिचानका रूपमा हाम्रो पार्टीको जुन अजेण्डा रहेको छ- हिन्दु राष्ट्रको कुरा। एउटा हिन्दु धर्म भनेर राखेको छैन। सर्वधर्म हिन्दुराष्ट्र भनेको छ। त्यसलाई नै अंगालेर म २०७४ सालदेखि सक्रिय भएर लागेको छु। म क्रिस्चियनको भोट पाएर जितेको।
म आफैं क्रिस्चियन भएर पनि हाम्रो नेपाललाई चिनाउनका लागि हिन्दु राष्ट्र चाहिन्छ। सांस्कृतिक हिसाबले हाम्रो धनी देश हो। विश्वमा कतिपय मुस्लिम राष्ट्र छन्। क्रिस्चियन राष्ट्र छन्। तर हिन्दु धर्मको बाहिरको मानिसहरू पनि पशुपतिनाथमा आउँछ भने राष्ट्रको नाममै हिन्दु राष्ट्र राख्यो भने पर्यटकीय हिसाबले र आर्थिक हिसाबले माथि पुग्न सक्छौं। त्यसैले पहिचानको रूपमा हिन्दु राष्ट्र हुनुपर्छ भनेर अंगालेर म अघि बढेको हो।
संविधानले धर्मनिरपेक्षतासँगै ब्याख्या गर्दै परापूर्वकालदेखि मानिँदै आएको चलनमा रहेको धर्म संस्कृति बचाउने भन्छ। धर्म भनेको व्यक्तिको आस्था हो। राज्यको धर्म भयो भने अल्पसंख्यकहरूले त्यो राज्य आफ्नो हो भन्ने महशुस गर्छन्?
म क्रिस्चियन हुँ, पास्टर होइन।
धर्म प्रचारक पनि होइन। म जुन धर्ममा आस्था राख्छु, त्यसको विश्वासी मात्र हो। न त म कसैलाई धर्म परिवर्तनका लागि आह्वान गर्छु न त म परिवर्तन गर्न चाहन्छु। धर्म यति स्वतन्त्र छाड्छु कि मेरो आफ्नै छोरीले पनि ‘मामु म हिन्दुइजमलाई फलो गर्छु भन्यो भने यस सी क्यान।’ किनभने त्यो उसको अधिकार हो। जसलाई विश्वास गर्छ उसलाई मान्न पाउँछ।
अब राष्ट्र हुँदैमा त्यो राष्ट्रमा अर्को धर्म मान्ने व्यक्ति कमजोर हुन्छ भन्ने म मान्दिनँ।अहिले म समानुपातिक सांसद बन्दा सामाजिक सञ्जालमा विना लामा बनाउँदा सबै क्रिस्चियन बनाउने हो कि भन्ने देखिन्छ। मलाई पास्टर भनिएको छ। मिसिनरी भन्ने शब्द प्रयोग भएको छ। सत्य तथ्य नबुझिकन सामाजिक सञ्जाल दुरूपयोग भएको छ।
म सेन्ट मेरिज र सेन्ट जेभियर्सको उदाहरण दिन्छु। म त्यहाँको प्रडक्ट हुँ। त्यहाँ पढ्नेमा क्रिस्चियन ५ देखि १० प्रतिशत पनि छैनन्। ९० प्रतिशतभन्दा धेरै अरू धर्मालम्वीका बालबच्चा पढ्छन्। हाम्रो पार्टी अध्यक्ष राजेन्द्र लिङदेनको छोरी त्यहीँको प्रडक्ट हो।
सेन्ट जेभियर्समा पढेको हो। उपाध्यक्ष बुद्धिमान तामाङको छोरा दावा पनि सेन्ट जेभियर्स पढेको हो। तर कहिल्यै धर्म परिवर्तन गर्न लगाएन नि। उहाँहरू अहिले पनि बुद्धिस्ट नै हुनुहुन्छ। भनेपछि विना लामा एक जना संसदमा पुग्दा हिन्दुलाई सिध्याउने भयो भन्ने नसोच्दा हुन्छ।
हिन्दु धर्म मनले मान्ने हो। पहिचानका लागि मैले हिन्दु राष्ट्र हुनुपर्छ भनेको छु। नेपाललाई विश्वमा चिनाउनुपर्छ भनेर स्वीकार गरेर लाग्दा डराउनुप र्ने अथवा रोइलो नै गर्नुपर्ने जस्तो लाग्दैन।
सामाजिक सञ्जाल धर्मको विषयमा विभाजित हुने भएका कारण तपाईं यो कुरा भन्न बाध्य हुनु भएको त हैन? म अल्पसंख्यक हुँ, हिन्दुको बारेमा बोल्दा अलिकति ध्यान दिएर बोल्नुपर्ने जस्तो डर हुन्छ कि हुन्न? केही सोच्दा बोल्दा डरको भावना आउँछ कि आउँदैन?
आउँदैन। मैले कसैलाई जबरजस्ती धर्म परिवर्तन गर्न लगाउँदा पो बोल्दा, सोच्दासमेत डराउनु पर्ने बाध्यता आउँछ। तर आफ्नो यथार्थ बताउँदा डर मान्नु पर्दैन। सोचेर बिग्रने हो कि भनेर सोच्नुपर्छ जस्तो मलाई लाग्दैन।