लियोनल मेस्सीको विश्वकपको यात्रा लगभग सकिन लागेको छ तर त्यो जस्तो सुकै गरी सकियो भने पनि उनी विनाको फुटबल धेरै कम रोमाञ्चक हुनेछ।
आइतबारको फाइनल मेस्सीका लागि अन्तिम सबैभन्दा ठूलो विश्वव्यापी प्रतियोगिता हुनेछ।
परिणाम जे जस्तो आए पनि अहिलेसम्म कतारमा मेस्सीको प्रस्तुतिले धेरै फुटबल समर्थकको मन जितेको छ।
क्रोएसियाविरुद्ध सेमिफाइनलमा जित हासिल गरेपछिको एउटा सुन्दर क्षणमा एक जना संवाददाताले मेस्सीलाई उनले सबैको जीवनमा छाप छाडिसकेको र त्यो फ्रान्सविरुद्ध जित निकाल्नु वा आफ्नो लागि पहिलो पटक विश्वकप जित्नुभन्दा धेरै महत्त्वको रहेको बताएकी थिइन्।
उनी वास्तवमै सही थिइन्।
मानिसहरूले मेस्सीबारे म कति धेरै कुरा गर्छु भन्छन् तर त्यसका लागि मैले कहिल्यै गल्ती महसुस गरेको छैन र गर्नेछैन।
किनभने झन्डै दुई दशकदेखि उनलाई निरन्तर खेलेको हेर्न पाउनुले मलाई ज्यादै खुसी दिएको छ।
उनी अहिले ३५ वर्षका भइसके र उनले अब मैदानमा बिताउने समय लामो छैन।
त्यही भएर उनको खेलको प्रत्येक सेकेन्डको स्वाद हामीले लिनुपर्छ।
यो उनको गोल र गोलको अवसर सिर्जनाको मात्रै कुरा होइन
मेस्सीले यो विश्वकपमा ६ वटा खेल खेलेका छन् जसमध्ये चारवटामा उनी ‘म्यान अफ द म्याच’ चुनिएका छन्।
तर आफूले गरेका पाँच गोल वा तीन गोलका लागि सहायताले उनलाई अरू खेलाडीभन्दा भिन्न बनाएको होइन।
वास्तवमा उनले गरेका साना कुराहरू जस्तै तीन वा चार खेलाडीबाट घेरिएका उनले तीनलाई छलाउन सक्दैनन् कि भन्ने सोच्दै गर्दा उनले त्यो अवरोध बारम्बार चिर्न सफलता पाइरहेका छन्।
मैलै उनको गज्जबको सङ्ख्यात्मक तथ्याङ्क भन्दा पनि उनको दृष्टि, चेतना र निर्णय क्षमता हेरेर उनलाई यो खेल खेल्ने सर्वोत्तम खेलाडी भनेको हुँ भनेर धेरै पटक भनिसकेको छु।
उनी यसरी खेल्छन् कि मानौँ उनले त्यो बेला माथिबाट मैदानको सबै कुरा देखिरहेका छन्।
यो विश्वकपमा उनले खेलिरहेको समयमा भीडले उनीबाट अन्यत्र आफ्नो नजर पुर्याउन पाएकै छैनन्।
उनले बल पाउने बित्तिकै पूरै रङ्गशालाको धड्कन रोकिन्छ र समर्थकहरू उभिन्छन् अनि उनको जादुको प्रतीक्षा गर्छन्। उनले सदैव परिणाम दिलाएका छन्।
कैयौँ त्यस्ता क्षणहरू छन् जसमा समर्थकहरू अवाक् बनेका छन्।
जस्तै नेदरल्याण्ड्स विरुद्धको खेलमा उनको सानदार ‘ड्रिबल र नापेर हानेका पास’ वा मेक्सिको विरुद्धको खेलमा उनको एउटा दमदार छुवाइ र गोल जसले यो प्रतियोगितामा आर्जेन्टिनालाई अहिलेको विन्दुसम्म ल्याइपुर्याएको छ।