खेलको मुखमा मेस्सीले दिए यस्तो प्रतिक्रिया, करोडौँ फ्यान बने उत्साहित !

Spread the love

एजेन्सी । कतारमा जारी २२ औँ विश्वकप फुटबलको उपाधि भिडन्त आज हुँदैछ । आज राति साबिक विजेता फ्रान्स र दुई पटकको विजेता अर्जेन्टिना भिड्दै छन् ।

नेपाली समयअनुसार आजको खेल ८ः४५ बजेबाट सुरु हुनेछ । खेलमा जसले जिते पनि तेस्रो पटक विश्व च्याम्पियन बन्नेछन् ।

फाइनल खेलको मुखमा अर्जेन्टिनी स्टार लिओनल मेस्सीले आफ्ना करोडौँ फ्यानहरुहरुलाई उत्साहित बनाउने सन्देश दिएका छन् । सामाजिक सञ्जाल मार्फत उनले आफ्नो समर्थकहरुलाई उक्त सन्देश दिएका हुन् । मेस्सीले भनेका छन्, ‘म तयार छु । जाऔं, अर्जेन्टिना !!’

अर्जेन्टिनाले ३६ वर्षयता यो प्रतियोगिता जित्न सकेको छैन । यसबीचमा २ पटक फाइनल पुगेर पराजित भएको थियो ।

सन् १९७८ मा पहिलो पटक विश्व विजेता बनेको अर्जेन्टिना त्यसपछि १९८६ मा दोस्रो पटक उपाधि जित्न सफल भएको थियो । सन् १९९० र २०१४ को संस्करणमा फाइनल पुगे पनि उपविजेता मै सीमित बन्यो । अर्जेन्टिना समग्रमा छैटौँ पटक विश्वकपको फाइनल आज खेल्दैछ ।

यस्तै, सन् १९९८ मा पहिलो पटक फाइनल पुग्नेक्रममै विश्व विजेता बनेको फ्रान्स २००६ को संस्करणमा पनि उपाधि नजिक पुगेको थियो तर फाइनलमा इटालीसँग टाइब्रेकरमा पराजित भयो । फ्रान्स चौथो पटक विश्वकप फाइनलमा भिड्न लागेको हो । अर्जेन्टिनालाई पराजित गर्न सकेको अवस्थामा फ्रान्स विश्वकपको उपाधि रक्षा गर्ने ६० वर्षयताको पहिलो टोली बन्ने छ । अन्तिम पटक यस्तो सफलता सन् १९६२ मा ब्राजिलले प्राप्त गरेको थियो ।

आजको फाइलन खेलमा धेरैको ध्यान लियोनल मेस्सी र केलियन एमबाप्पेमाथि हुने छ । ७ पटकका फिफा वर्ष खेलाडी मेस्सीका लागि विश्व च्याम्पियन बन्ने यो अन्तिम अवसर हो । उनले यो आफ्नो अन्तिम विश्वकप भएको बताइसकेका छन्। मेस्सीकै कप्तानीमा अर्जेन्टिना सन् २०१४ को विश्वकपमा फाइनलसम्म पुगे पनि उपाधि भिडन्तमा पराजित भएको थियो।

अर्जेन्टिना र फ्रान्स अन्तिम पटक सन् २०१८ को विश्वकप प्रिक्वाटरफाइनलमा भिडेका थिए। त्यस खेलमा फ्रान्स ४–३ गोलले विजयी भएको थियो। एमबाप्पेले त्यस खेलमा २ गोल गरेका थिए भने मेस्सी गोलविहीन रहेका थिए। फ्रान्ससँग हालसम्म भएका १२ भिडन्तमा अर्जेन्टिनाले ६ जित, तीन बराबरी र तीन हारको नतिजा निकालेको छ।

सन् १९३० र १९७८ मा आयोजित विश्वकपमा पनि यी दुई टोली भिडेका थिए। ती दुवै खेलमा अर्जेन्टिना विजयी भएको थियो।