लाइभ दोहोरीमा अश्लील र छाडा गीत गाउने कलाकारलाई राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले कारवाही गर्ने भएको छ ।अध्यक्ष रमेश बिजीले छाडा गीत गाउने र बालबालिकालाई समेत अमर्यादित गीत गाउन प्रयोग गर्नेको सूची तयार पार्ने काम भइरहेको बताए । ‘सूची बनाउने काम भइरहेको छ । हामी कारवाहीमा अघि बढ्छौं,’ उनले भने ।
पछिल्लो समय युट्युबबाट पैसा कमाउने लोभमा बालबालिकालाई पनि छाडा गीत गाउन लगाएको गुनासो आइरहेको भन्दै अध्यक्ष बिजीले लोकदोहोरीलाई मर्यादित तुल्याउन आफूहरु गम्भीर भइरहेको बताए ।
कारवाहीको सूचीमा परेका कलाकारलाई संस्थाको सेवासुविधा र पुरस्कारबाट वञ्चित गरिने भएको छ । ‘सामाजिक सद्भाव भड्काउने कलाकारलाई कारवाही गर्नेतर्फ अघि बढेका छौं,’ उनले भने, ‘पैसाभन्दा ठूलो कुरा नैतिकता हो । यसको संकट देखिएको छ ।’
‘बाबुआमाले नै हाम्रो कुरा सुनेनन्’:बालबालिकालाई लाइभ दोहोरीमा छाडा गीत गाउन नदिन संस्थाले तिनका अभिभावकलाई आग्रह गरे पनि उनीहरुले नमान्ने गरेको अध्यक्ष बिजीले बताए । ‘उल्टै उनीहरुले आफ्ना छोराछोरीको प्रतिभालाई दमन गरेको भन्दै कराउँछन्,’ उनले भने, ‘हाम्रो आग्रहलाई बाउआमाले उल्टै नराम्रो माने ।’
बालबालिकाको प्रयोग नगर्न भन्दै संस्था इन्द्रेणी लगायतका कार्यक्रमलाई आग्रह गरेको उनले जनाए । विगतमा लाइभ दोहोरीमा छाडा गीत नगाउने प्रतिबद्धता जनाएका कलाकारले आफ्नै प्रतिबद्धतालाई बिर्सने गरेको समेत उनले गुनासो गरे ।
कमला घिमिरेले गुहारिन् प्रतिष्ठान:हालैको एक लाइभ दोहोरीगीतलाई लिएर विवाद चर्किएपछि बालगायिका कमला घिमिरले संस्था गुहारेकी छन् । आफूलाई ट्रोल बनाएर सामाजिक सञ्जालबाट प्रहार गर्ने काम भइरहेको र यसबाट आफूलाई मानसिक रुपमा अप्ठ्यारो परेको भन्दै उनले सहयोग मागेकी हुन् ।
गुनासो आएपछि कमलालाई संस्थाले छलफलमा बोलाएको छ । ‘आफूलाई गाली गरेको गुनासो उहाँको रहेछ । संस्थामा बोलाएर सम्झाइबुझाइ गर्ने काम हुन्छ,’ अध्यक्ष बिजीले भने ।हालैका दुई घटनाप्रति लक्षित गर्दै कमलाले गाएको लाइभ दोहोरीगीत अहिले चर्चाको विषय बनेको छ । विरोधले घेरिएपछि उनले सामाजिक सञ्जालबाटै माफी मागे पनि विरोध रोकिएको छैन ।