काठमाडौं।
साविक विजेता फ्रान्सलाई टाइब्रेकरमा पराजित गर्दै अर्जेन्टिनाले फिफा विश्वकप कतार २०२२ को उपाधि जितेको छ । निर्धारित ९० मिनेटको खेल २-२ र थप ३० मिनेटपछि खेल ३-३ को बराबरीमा सकिएपछि टाइब्रेकरमा ४-२ को जित दर्ता गर्दै अर्जेन्टिना तेस्रो पटक विश्वकप जित्न सफल भएको हो ।
कतार विश्वकप फुटबलको विजेता टोली अर्जेन्टिनाका कप्तान लियोनल मेसी प्रतियोगिताका सर्वोत्कृष्ट घोषित खेलाडी भएका छन्साथै, पराजित टोलीका केलियन एम्बाप्पे सर्वाधिक गोलकर्ता भए। उनले ८ गोल गरेका छन्।
अर्जेन्टिनाका गोलरक्षक एमिलियानो मार्टिनेजले फिफा विश्वकप कतार २०२२ मा गोल्डेन ग्लोभ अवार्ड जितेका छन् ।प्रतियोगिताको उत्कृष्ट गोलरक्षकलाई प्रदान गरिने अवार्ड मार्टिनेजले पहिलो विश्वकप सहभागितामै जित्ने कीर्तिमान बनाएका हुन्।अर्जेन्टिनालाई विश्वकप उपाधि दिलाउन निर्णायक भूमिका निर्वाह गरेका उनले सबै खेलमा पूरा समय मैदानमा बिताएका थिए ।
अर्जेन्टिनाको लागि पहिलो हाफमा कप्तान लियोनेल मेस्सी र एन्जल डि मारियाले गोल गरेका थिए । दोस्रो हाफमा किलियन एमबाप्पेले दुई मिनेटको अन्तरमा दुई गोल गरेपछि खेल बराबरीमा आएको थियो ।
निर्धारित ९० मिनेट २-२ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा लम्बिएको थियो । मेस्सीले अतिरिक्त समयमा अर्जेन्टिनालाई अग्रता दिलाएपनि एमबाप्पेले पेनाल्टीमा गोल गर्दै खेल पुन बराबर गरे ।
पेनाल्टी सुटआउटमा किलीयन एमबाप्पेले फ्रान्सका लागि पहिलो गोल गरे । लगत्तै मेस्सीले पनि गोलमा परिणत गरे । किंग्सले कोमानले गरेको फ्रान्सको दोस्रो प्रहार गोलरक्षक एमिलियानो मार्टिनेजले बचाए । लगत्तै पाउलो डिबालाले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए ।
फ्रान्सका औरेलिएन चुआमेनीले बाहिर प्रहार गरेपछि अर्जेन्टिनाका लिआन्द्रो पारेडेसले गोल गर्दै अर्जेन्टिनालाई २ गोलले अघि बढाए । फ्रान्सका कोलो मुआनीले चौथो प्रहारमा गोल गरेपनि गोन्जालो मोन्टिएलले गोल गर्दै अर्जेन्टिनाको जित पक्का गरे ।
खेलको २३ अौं मिनेटमा अर्जेन्टिनाले मेस्सीको पेनाल्टी गोलमा अग्रता लियो । पेनाल्टी क्षेत्रभित्र अोस्मान डेम्बेलेले एन्जल डि मारियालाई लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । मेस्सीले विपक्षी कप्तान ह्युगो लोरिसलाई गलत दिशामा पठाउँदै अर्जेन्टिनालाई अघि बढाए ।
३६ अौं मिनेटमा डि मारियाले गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर पारे । मिडफिल्डमा बल खोसेपछि सुरु भएको काउन्टर अट्याकलाई डि मारियाले पेनाल्टी क्षेत्र भित्रबाट फिनिस गरे । एलेक्सिस म्याक एलिस्टरले अफसाइड ट्र्याप बिट गरेपछि दिएको पासमा डि मारिया चुकेनन् ।
८० अौं मिनेटमा फ्रान्सका लागि किलियन एमबाप्पेले पेनाल्टीमा गोल गर्दै खेलमा फर्कने संकेत दिए । निकोलस अोटामेन्डीले पेनाल्टी क्षेत्रभित्र रान्डाल कोलो मुआनीलाई लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । एमबाप्पेको पेनाल्टी प्रहारमा गोलरक्षक एमिलियानो मार्टिनेजले हात लगाएपनि बल पोस्टभित्र छिरेको थियो ।
एमबाप्पेले दुई मिनेट नबित्दै फ्रान्सलाई बराबरीमा ल्याए । कोलो मुअानीसँग पेनाल्टी क्षेत्र बाहिर पास साट्दै एमबाप्पेले सुन्दर गोल गरे । उनले पेनाल्टी क्षेत्र भित्रबाट पहिलो टचमा गरेको हाफ भलीमा मार्टिनेजले हात लगाएपनि पोस्टभन्दा बाहिर पठाउन सकेनन् ।
अतिरिक्त समयको १ सय ९ अौं मिनेटमा मेस्सीले अर्जेन्टिनालाई अग्रता दिलाए । लौटारो मार्टिनेजले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहार गोलरक्षक लोरिसले बचाएपनि रिबाउन्डमा मेस्सीले गोल गरे । मेस्सीको प्रहार जुल्स कुन्डेले क्लियर गरेपनि उनी पोस्टभित्र पसेको निर्णय रेफ्रीले दिएका थिए ।
अतिरिक्त समयको ३ मिनेट बाँकी रहँदा फ्रान्सले पुन: बराबरी गोल फर्कायो । किलियन एमबाप्पेले पेनाल्टीमा गोल गर्दै फ्रान्सलाई बराबरीमा ल्याए । पेनाल्टी क्षेत्रभित्र गोन्जालो मोन्टिएलले ह्यान्ड गरेपछि रेफ्रीले पेनाल्टी दिएका थिए । एमबाप्पेले गोलरक्षक मार्टिनेजलाई विपरित दिशामा पठाउँदै खेल बराबर गरे ।