काठमाडौं । पछिल्लो समय फुटपाथ खाली गराउन र नक्सा विपरीतका संरचना हटाउन आक्रामक रुपमा प्रस्तुत भइरहेको काठमाडौं महानगरपालिकाको नगर प्रहरी बल आन्तरिक विवादमा फसेको छ । मेयर बालेन्द्र (बालेन) साहले धनपति सापकोटालाई हटाएर नगर प्रहरी प्रमुख बनाएका राजु पाण्डेले अन्याय गरेको भन्दै नगर प्रहरी कर्मचारीले विरोध जनाएपछि समस्या बढेको हो ।
नगर प्रहरी नायव निरीक्षक -सई)लोकनाथ चुडालले ‘अनावश्यक हैकम सहन नसक्ने’ भन्दै राजीनामा दिए । तल्लो दर्जाका नगर प्रहरी कर्मचारीहरुलाई निम्नस्तर व्यवहार गरेको, दुख दिएको र अपशब्द प्रयोग गरेको उनले बताएका छन् । नगर प्रहरीले विदा माग्दा नगर प्रहरी प्रमुख राजु पाण्डेले अश्लिल शब्द प्रयोग गरेर गाली गरेको चुडालले बताएका छन् ।
‘मैले संगठन बनाउनको लागि प्रतिनिधिमूलक आवाज उठाएको हुँ । काठमाडौं नगर प्रहरी भित्र अन्याय, अत्याचार र भ्रष्ट्राचार बढेको छ । मैले यो विषयमा प्रशासन विभागलाई पनि चिठी लेखेको छु’ उनले अनलाइनखबरसँग भने, ‘हामीले दःुख गरेर बनाएको नगर प्रहरी संगठन बिग्रँदा सहेर बस्न सकिन ।’
चुँडालले नगर प्रहरीमा ‘मोडलिङ’ बढेकोदेखि संगठनका प्हरीमाथि अत्याचार बढेकोसम्म आरोप लगाएका छन् ।
आरोप गलत : पाण्डे
नगर प्रहरी प्रमुख राजु पाण्डे भने आफू आउनुअघि व्यक्तिगत लाभ लिइरहेका नगर प्रहरीहरुले विरोध गरेको आरोप लगाए । ‘पहिले नगर प्रहरीको नाममा उठाएर खाइरहेका थिए, म आएपछि उठाउन नपाएर कराएका हुन् । अरु केही होइन’ उनले भने ।
आफूले अनुशासनमा कडाइ गरेका कारण चित्त नबुझेको हुन सक्ने पाण्डे बताउँछन् । कर्मचारीलाई अनावश्यक तनाव दिएको, छुट्टी नदिएको आरोप लगत भएको पनि उनी बताउँछन् । ‘आवश्यकता अनुसार छुट्टी दिएकै छ, घाइते भएका प्रहरी, महिला प्रहरीले मागेको बेला छुट्टी नदिएको भन्ने हावा कुरा हो’ उनले भने ।
पाण्डेले राजीनामा दिएका चुडालले यस्ता विषय उठाउनै नपाउने समेत बताए । ‘उहाँ यो विषयमा बोल्ने को हो ? को पीडित हो, उसले बोलेको सुन्नुभएको छ । कहिलेकाहीँ प्रहरी भएपछि ड्युटी धेरै गर्नुपर्छ । उहाँले लगाएको आरोपहरु सबै प्रमाणहीन छन्’ उनले भने ।
सम्झौता अनुसार पाएनन् पोशाक
काठमाडौं महानगरपालिकाले निजी सेक्युरिटी कम्पनीमार्फत १६२ जना नगर प्रहरी थपेको छ । तर थपिएका नगर प्रहरी कर्मचारीले करिब एक महिना पुग्न लाग्दा समेत पोशाक पाएका छैनन् ।
महानगरले सम्झौताअनुसार पोशाक उपलब्ध नगराएका कारण उनीहरुले ‘नगर प्रहरी’ लेखिएको पहेँलो ज्याकेट लगाउने गरेका छन् ।
प्रदेश निजामती कानुन नबनेका कारण नगर प्रहरी भर्ना गर्न नसकेको भन्दै महानगरले निजी सेक्युरिटी कम्पनीबाट नगर प्रहरी भर्ना गरेको हो । नयाँ भर्ती भएका एक नगर प्रहरी भन्छन् ‘हामीलाई पोशाक, चुस्ता, बुट दिने भनेर भर्ती गरियो तर फिल्डमा जाँदा नगर प्रहरीको नाममा एउटा खास्टो मात्रै दिएको छ ।’
आफूहरुलाई बजारमा हेयको दृष्टिकोणले हेर्ने गरेको भन्दै उनले काम गर्ने मनोबल नभएको बताए ।
उनीहरुलाई वर्षको १३ महिनाको तलब सेक्युरिटी कम्पनीले दिने सम्झौता भएको छ भने पोशाक, चुस्ता, सिटी कड, रेनकोट, गमबुट, टर्च लाइट, ज्याकेट सबै महानगरले उपलब्ध गराउनेछ ।
महानगर प्रहरी राजु पाण्डे भने करारमा नगर प्रहरी पठाउने कम्पनीलाई तुरुन्तै ड्रेसको व्यवस्था गर्न लगाएको बताउँछन् । ‘हामीले सम्झौता गरेको सेक्युरिटी कम्पनीले बदमासी गर्यो । केही मान्छे अयोग्य नै पठायो, अझै ६० भन्दा धेरै मान्छे पठाएकै छैन । ड्रेसको कुरामा पनि धेरै चोटी कुरा भइसक्यो तर दिएको छैन । यससम्बन्धी महानगरले छिटट्ै निर्णय गर्छ’ उनले भने ।
महानगरपालिकाले ८ भदौमा टेन्डर आहृवान गरेर युनिक सेक्युरिटी मार्फत करारमा एक वर्षका लागि नगर प्रहरी थपेको थियो । निजी सेक्युरिटी कम्पनी मार्फत पूर्वसैनिक, पूर्व प्रहरी र प्रहरीका तालिम लिएकाहरुलाई छनौट गर्ने गरी टेण्डर समेत गरेको थियो ।
महानगरले थपेको १ सय ६२ जना नगर प्रहरीलाई मासिक २० हजार ५३२ दिनेगरी युनिक सेक्युरिटी कम्पनीसँग ४ करोड ३२ लाख ४० हजारमा सम्झौता गरेको थियो ।
तर कम्पनीले पठाएको ४५ भन्दा धेरै नगर प्रहरी कर्मचारी अयोग्य भन्दै महानगरले फिर्ता पठाएको छ । कम्पनीले सम्भौतामा उल्लेख गरेको मिति नाघ्दा पनि थप ६० नगर प्रहरी पठाउन सकेको छैन ।
यो पनि पढ्नुहोस् :
करिब २ महिनादेखि क्रिकेटर सन्दीप लामिछानेले कारागारमा कैद जीवन भोगिरहेका छन् । उनी केन्द्रीय कारागार सुन्धाराको चौघेराभित्र कैद छन् । खुला क्रिकेट मैदानमा बलिङ गरेर चम्किएका लामिछानेमाथि एक नाबालिकालाई बलात्कार गरेको आरोप लागेपछि जिल्ला अदालत काठमाडौंले १८ कात्तिकमा पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको थियो ।
तर, जेल जीवन भोगिरहेका लामिछानेको हातबाट क्रिकेट बल भने खोसिएको छैन । उनी पछिल्लो समय कारागारभित्रका कैदीबन्दीसँग नियमित क्रिकेट खेलिरहेका छन् । केही कैदीहरूलाई क्रिकेटबारे प्रशिक्षणसमेत दिइरहेका छन् । सुन्धारा कारागारका प्रमुख जेलर ईश्वरप्रसाद पाण्डेका अनुसार लामिछाने नियमित कैदीबन्दीसँग क्रिकेटकै अभ्यासमा व्यस्त हुन्छन् ।
‘हामीसँग बाहिरको जस्तो ठूलो क्रिकेट ग्राउन्ड त छैन । तर, सामान्य खेल खेल्न पुग्ने मैदान छ । त्यही मैदानमा सन्दीपसहित अरु कैदी पनि क्रिकेट खेल्छन्,’ जेलर पाण्डेले शिलापत्रसँग भने । लामिछानेसहित केही कैदीहरूले कुनै विशेष दिन परेका बेला छुट्टाछुट्टै टिम बनाएर खसी बाजी राखेर खेल्नेदेखि अन्य प्रकारका शैलीमा पनि क्रिकेट खेल्ने गरेको पाण्डेको भनाइ छ । कतिपय खेल्न नजानेकालाई सन्दीपले सिकाएर पनि खेलाउने गरेको पाण्डेले बताए ।
सन्दीपको पक्षबाट बसह गर्ने अधिवक्ता मुरारी सापकोटा पनि सन्दीपको कैद जीवन सामान्य नै रहेको बताउँछन् । उनी भन्छन्, ‘पहिलाको तुलनामा अहिले सन्दीपमा केही मनोबल बढेको जस्तो देखिन्छ । निरास भएर हिम्मत हारेर हुँदैन भन्ने भाव देखिन्छ । अरु कैदीजस्तै क्रिकेट खेलिरहन्छन् । करियरबारे भने केही चिन्तित देखिन्छन् ।’
सन्दीपमाथि नुवाकोटकी १७ वर्षीया नाबालिकालाई ५ भदौमा भक्तपुरको नगरकोट घुमाएर गौशाला पिङ्गलास्थानस्थित होटल काठमाडौं इनमा राखेर बलात्कार गरेको उजुरी प्रहरीमा परेको थियो । सोही अभियोगमा पक्राउ परेका उनलाई जिल्ला न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।
फ्रान्सका २३ वर्षका सुपरस्टार केलियन एमबाप्पेले फ्रान्स कतार विश्वकपको फाइनल पुगेपछि खेलको दुई दिनअघि एक अन्तर्वार्तामा कुरा गर्ने क्रममा निकै दृढ मुडमा भनेका थिए– ‘म यहाँ गोल्डेन बुट वा गोल्डेन बल जित्नेबारे सोचिरहेको छैन, म केवल दोस्रो उपाधि सोचिरहेको छु ।’
तर, कहानी यस्तो भएन । फ्रान्स उपाधि भिडन्तमा क्लब फुटबलका आफ्नै सहकर्मी लियोनल मेस्सीको देश अर्जेन्टिनासँग पेनाल्टी सुटआउटमा ४–२ ले पराजित भयो ।
र, एमबाप्पे ब्याक टु ब्याक विश्वकप जित्नबाट चुके । निर्धारित समयको खेल ३–३ को बरारबी हुँदा एमबाप्पेले ९० मिनेटदेखि १२० मिनेटसम्म पुग्दा ह्याट्रिक गोल गरेर ठूलो रेकर्ड पनि बनाए । उनले फ्रान्स २–० ले पछि परेका बेला ८०औं र ८१औं मिनेटमा गोल गरेका थिए । मात्रै दुई मिनेटमा २ गोल ।
त्यसपछि ३० मिनेटको थप समयमा पनि फ्रान्स ३–२ ले पछि परेका बेला एमबाप्पेले खेलको ११८औं मिनेटमा तेस्रो गोल गर्दै ह्याट्रिक गोल पूरा गरे । र, टिमलाई हारबाट बचाउँदै पेनाल्टी सुटआउटसम्म लगे । तर, त्यहाँ फ्रान्सलाई भाग्यले साथ दिएन ।
र, टिम पराजित हुन पुग्यो । पेनाल्टीमा उनले पहिलो पेनाल्टी गोल गरे पनि दोस्रो र तेस्रो नम्बरमा सहकर्मीले पेनाल्टी मिस गरेपछि फ्रान्स हारको बाटोमा लागेको थियो ।
व्यक्तिगत रूपमा एमबाप्पेले टिमलाई हारबाट बचाउन पटक–पटक गोल गरेर सबैखाले प्रयास गरे पनि टिम पराजित हुन पुग्यो । तर, एमबाप्पेको खेल र मेहनतको चौतर्फी प्रशंसा भइरहेको छ । यद्यपि, एमबाप्पेका लागि यो चाहेको नतिजा थिएन ।
खेलपछि अर्जेन्टिनाका खेलाडी र समर्थक उत्सव मनाइरहँदा निराश एमबाप्पेले दुई शब्दको छोटो सन्देश लेखेका छन् । सामाजिक सन्जालमार्फत् उनले मात्रै तीन शब्दको सन्देशमा आफूहरू ‘फर्किने’ बताएका छन् ।
फाइनल खेलमा ह्याट्रिक गोल गर्दै ८ गोलका साथ सर्वाधिक गोलकर्ता बनेर गोल्डेन बुट जितेका एमबाप्पेले गोल्डेन बुट अवार्ड ग्रहण गरेको एक निराश तस्बिर ट्वीटरमा पोस्ट गर्दै ‘फ्रेन्च भाषामा दुई शब्द,’ अङ्ग्रेजी भाषामा तीन शब्द’ र ‘नेपाली भाषामा दुई शब्द’को छोटो सन्देशमा लेखेका छन्– ‘हामी फर्किनेछौं ।’