अर्जेन्टिनाका गोलरक्षकले किन गरे अनौंठो सेलिब्रेसन? बताए कारण

Spread the love

कतारमा सम्पन्न २२ औं संस्करणको फिफा विश्वकप फुटबलको उपाधि अर्जेन्टिनाले जित्यो ।

गएराति लुसेल स्टेडियममा भएको खेलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै अर्जेन्टिनाले तेस्रोपटक विश्वकप उपाधि जितेको हो । फाइनलमा अर्जेन्टिनाका गोलरक्षक एमिलियानो मार्टिनेजले उत्कृष्ट प्रदर्शन गरे ।

उनले नै विश्वकप २०२२ मा गोल्डेन ग्लोभ्स अवार्ड जिते । तर, एउटा अनौंठो हर्कचका कारण भने मार्टिनेजकोे आलोचाना भएको छ ।

गोल्डेन ग्लोभ्स अवर्डा लिएर तस्बिरका लागि जाँदै गर्दा उनले कम्मरमुनिको क्षेत्रमा टाँसेर एक अजिवको खुसी मनाए । उनको यो हर्कतले थुप्रै तर्कवितर्क जन्माएको छ । धेरैले उनको यो व्यवहारको आलोचना गरेका छन् ।

फेरि एकपल्ट पेनाल्टी सुटआउटले समर्थक र खेलाडीको तनाव बढाइदिएको थियो ।

खेल सकिएपछि अर्जेन्टिनी सन्चारमाध्यम ला रेडसँगको कुराकानीमा उनले आफ्नो त्यो सेलिब्रेसन शैलीबारे बताएका छन् । ‘मैले यसकारण यस्तो गरेँ कि फ्रान्सेलीहरुले मेराविरुद्ध हुटिङ गरिरहेका थिए,’ उनले भने ।

मार्टिनेजले आफ्नो उपाधि परिवारलाई समर्पित गर्न चाहेको बताए । ‘म यो सफलता आफ्नो परिवारप्रति समर्पित गर्न चाहन्छु । म निकै शान्त स्थानबाट आएको हुँ र निकै सानो उमेरमा इंग्ल्याण्ड गएको थिएँ । म यो उनीहरूप्रति समर्पित गर्न चाहन्छु,’ उनले थपे ।

यद्यपि खेलपछि मार्टिनेजको व्यवहारले भने सबैलाई भावुक बनाएको थियो । फाइनलमा पारजित भएपछि फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोनले केलिएन एम्बाप्पेलाई सान्त्वना दिइरहेको दृश्यमा मार्टिनेज पनि सँगै थिए ।